सिकारुलाई दण्ड कि मनोबल ?

भुपेन्द्रप्रसाद अधिकारी
विद्यालय एक शैक्षिक क्षेत्र तथा पाठशाला हो जहाँ सिकारुहरूको भविष्यको रेखा कोरिन्छ र सिकारुहरू ती व्यक्तिहरू हुन् जो आफ्नो लक्ष्य तथा उद्देश्य बोकेर सुखीमय र सुन्दर जीवनको आशमा भविष्यको बाटो निर्धारण गर्न ज्ञानको खोजीमा हिँडिरहेका हुन्छन् । विद्यालय र सिकारुको सम्बन्ध नङ र मासु जस्तै जोडिएको हुन्छ । सिकारुको उज्वल भविष्य निर्धारण गर्नको लागि यस्ता क्षेत्रहरूको स्थापना भएको हो । जसरी आमाले कोखबाट जन्म दिन्छिन् त्यसरी नै व्यक्तिको कार्य गर्ने थलो विद्यालयबाटै सुरु हुन्छ । एउटा शान्ति क्षेत्रमा रहेर तरवारको सट्टा कलम चलाउन र आगोको सट्टा पानी बन्न सिकाउने ती महान् व्यक्तिहरू जसलाई गुरु वा गुरुमा भनेर चिनिन्छ ।
व्यक्ति जन्मदै कोही विद्वान भएर जन्मेको हुँदैन कि सबै एउटा सादा वा केही नकोरिएको कपीको पन्ना जस्तै हुन्छ । जन्मपछिको वातावरणलाई आफूसँग समायोजन गर्दै देखिने सम्पूर्ण चुनौतीको सामना गर्दै अगाडि बढ्न प्रयत्न गर्छ । आफ्नी आमाको साथ, माया, स्नेह र ममतामा हुर्किएको बालक उसको परिवार, समाज र राष्ट्रको आशाको रूपमा रहन्छ । विस्तारै संस्कार, संस्कृति, रहनसहन, चालचलन आदि कुराहरूको मनन् गर्दै ऊ एउटा शान्ति क्षेत्र (विद्यालय) को प्राङ्गणमा प्रवेश गर्छ र उसको प्रत्यक्ष समायोजन उसको भविष्यको रेखा कोर्न बसेका शुभचिन्तक गुरु वा गुरुमासँग हुन्छ । जन्मदेखि २÷४ वर्षसम्म जन्म दिएकी आमाको मायामा रुमलिएको बच्चा कर्म दिने गुरुको साथमा केही समय समायोजन हुन गाह्रो हुनु स्वभाविक नै हो । समायोजन भइसकेपछि बच्चाको भविष्य उज्वल बनाउने कि अन्धकारतिर धकल्ने भन्ने कुराको जिम्मा कर्म दिने गुरु वा गुरुमाकै रहन्छ । शिक्षाको ऐतिहासिक कुराहरू नियाल्दै आउने हो भने धेरै परिवर्तन भइसकेको छ । प्राचीन र मध्ययुगमा सिक्न इच्छुक हुने व्यक्ति गुरुकै आश्रममै गएर शिक्षा दिक्षा प्राप्त गर्ने थियो भने परिवर्तनशील समयसँगै अहिलेको २१ औं शताब्दीको आधुनिक युगमा आएर शिक्षा प्रदान र प्राप्त गर्ने प्रक्रिया फरक भएको पाइन्छ । बालबालिकाले गुणस्तरीय र जीवन उपयोगी शिक्षा दिक्षा प्राप्त गर्नको लागि घरपरिवार र विद्यालयको साथ नितान्तै आवश्यक हुन्छ । आफ्नो उज्वल भविष्यको बाटो खोज्ने काम स्वयम् सिकारुकै रहन्छ तर उक्त बाटो सजिलोसँग कहिल्याइदिने काम अभिभावक र शिक्षकको हुन्छ । विज्ञान र प्रविधिको युगमा आएर सिकारुलाई दण्ड कि मनोबल ? भन्ने प्रश्न खडा हुन्छ । सिकारु कुनै अबुझ जनावर नभएर एक सर्वश्रेष्ठ प्राणी हो जोसँग मानवताको भाव झल्किएको हुन्छ । 
वास्तवमै आफ्नो भविष्य उज्वल बनाउने उद्देश्य तथा लक्ष्य बोकेर विद्यालय प्रवेश गरेका सिकारुहरूलाई दण्ड नभएर मनोबल प्रदान गर्नु नै एउटा असल शिक्षकको महान् गुण हो । शिक्षण सिकाइको क्रममा सिकारुमा भएका असल तथा महान् चारित्रिक गुणहरूको सम्मान र अपूरा तथा अमानवीय क्रियाकलापहरूलाई हौसलापूर्ण सुधारका लागि सर–सल्लाह प्रदान गरेर अगाडि बढाउन प्रेरित गर्नु अर्को ठूलो महानता हो । बालक जन्मदै सम्पूर्ण कुरामा पोख्त भएको हुँदैन र उसको खाली दिमाग भर्ने काम शिक्षक र समाजका बुद्धिजीवीहरूको नै हो । सिक्न प्रयत्न गर्ने व्यक्तिहरू र समाजका सम्पूर्ण सिकारुहरू विभिन्न प्रकृतिका हुन्छन् र त्यही उनीहरूको फरक प्रकृति बुझेर त्यही अनुसार अगाडि पठाउन प्रयास गरियो भने सायद त्यो उज्यालो संसारको ढोका खोल्न धेरै गाह्रो हुँदैन । विद्यालयमा नयाँ कुराहरू सिक्न प्रवेश गरेको सिकारुलाई उनीहरूको वास्तविकता पहिचान गरी त्यही अनुसार व्यवहार गर्नु उपयुक्त हुन्छ । सिकारु केन्द्रित विधिलाई अँगाल्दै उनीहरूको समस्या तथा चुनौतीहरूमा सामना गर्नको लागि उच्च मनोबल प्रदान गर्नुपर्दछ । हालका दिनहरूमा सिकारुहरूलाई अनावश्यक शारीरिक तथा मानसिक यातना तथा दण्ड दिएका कुराहरू विभिन्न सञ्चार मिडियाहरूबाट सुनिन्छन् । यस्ता घटना घट्नुका पछाडि विभिन्न कारणहरू हुन्छन् नै तर यस्ता सानातिना घटनाहरूलाई आन्तरिक रूपमा समाधान गर्न नसकेर व्यवहारमा परिणत गर्नु अमानवीय व्यवहारको सङ्केत मान्न सकिन्छ । सर–सल्लाह, परामर्श र उच्च मनोबल प्रदान गर्नसक्ने क्षमता शिक्षकमा भयो भने शैक्षिक क्रियाकलापहरूमा कुनै चुनौतीहरू तथा बाधा व्यवधानहरू देखा पर्दैनन् दण्डको अर्थ त्यो हो कि दुष्परिणामको शारीरिक तथा मानसिक यातना वा डर दिन । यदि सिक्ने क्रममा कुनै त्यस्ता गल्ती तथा त्रुटीहरू देखापरेका खण्डमा सिकारु स्वयम्ले समाधान अपनाइ केहीबाट उम्कन र बाँकी समस्याको समाधान दण्डले नभएर उच्च मनोबलका साथ हौसला प्रदान गरिएको खण्डमा सजिलैसँग समस्याहरू पार लगाउन सकिने कुरा सबैलाई थाहा नै छ तर पनि सानातिना त्रुटीहरूले गर्दा सिकारुहरूलाई तनावपूर्ण वातावरण सिर्जना गरिएको खण्डमा उसको नकारात्मक व्यवहारको दिशा नमोडिएला भन्न सकिदैन । दण्ड त एउटा डर र त्रास देखाइ अल्पकालीन रूपमा कुनै पनि कुराको समाधान गर्न खोज्नु हो । जसको परिणाम सकारात्मक पनि हुनसक्छ र नकारात्मक पनि । कुनै पनि कुराको डर देखाएर सिकाएको वा घोकाएको ज्ञान दीर्घकालीन समयसम्म निरन्तर अगाडि बढ्न र रहिरहन सक्दैन । यहीदण्डको ठाउँमा मनोबलको प्रयोग गरेर सिकारुको समस्या समाधान गर्न खोजियो भने दीर्घकालीन सोच र विचारको विकास र विस्तार हुन्छ । सिकारुले गरेका सकारात्मक क्रियाकलापहरूको सम्मान, आदर र पुरस्कृत तथा नकारात्मक क्रियाकलापहरूलाई उच्च मनोबल प्रदान तथा परामर्श गरी समाधानको बाटो देखाइदिने बाधा व्यवधानहरूबाट टाढा रहन सिकाएको अवस्थामा सिकाइ क्षेत्रमा नयाँ सोच विचार र विस्तार ल्याउन व्यक्ति सफल र सभ्य बन्न पुग्दछ । यसरी विस्तार गरेका सोच तथा विचारहरू अल्पकालीन नभएर दीर्घकालीन रूपमा विकसित बन्न पुगी व्यक्तिहरूलाई यस्तो प्रतिस्पर्धाको समयमा उभ्याउन सक्दछ । समय साँच्चिकै बलमान र परिवर्तनशील भएकै कारण शैक्षिक सोच विचारहरू परिवर्तन हुँदै आइरहेका छन् । समय र सिकारुको इच्छा अनुसार जनशक्ति तयार गरिएमा समाज र राष्ट्रको विकासमा सहयोग पुग्छ । समय र परिस्थिति अनुसार मानिस अगाडि बढ्न सिक्नु सबैभन्दा ठूलो प्रगति मानिन्छ । 
हाल देशभर खोलिएका सरकारी तथा निजी विद्यालयहरको नीति तथा शैक्षिक कार्यक्रमहरू समान रूपले अगाडि बढाएर सिकारुहरूको मनोविज्ञान पत्ता ल्याए उनीहरूको व्यवहारमा परिवर्तन गर्न आवश्यक देखिन्छ । शैक्षिक क्षेत्रको विकास, विस्तार र सिकारुहरूको भविष्य निर्माण गर्नको लागि दण्ड नभएर मनोबलको प्रयोग गरिएमा समाज, समुदाय र राष्ट्रको विकासमा तिनै सिकारुको उत्तरदायित्व र जिम्मेवारी महŒवपूर्ण रहन्छ । आजको यो युगमा आएर शिक्षक केन्द्रित विधि र दण्डको प्रयोग समाज र परिस्थिति अनुसार पचाउन नसकिने र सहजै बहिस्कार गर्न पनि पछि नपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले त्यस्ता अमानवीय व्यवहारहरूलाई सुधार गरी सिकारुहरूको व्यवहार बुझेर शैक्षिक तथा अन्य क्षेत्रमा लगनशील बनाउनको लागि दण्डलाई त्यागेर मनोबलको प्रयोग गरिनुपर्दछ । सिकारुले सिकेका ज्ञान, सीप तथा नयाँ सोचहरूलाई विकास र विस्तार गरी जुनसुकै क्षेत्रमा पनि उभ्याउन सकिने एउटा मात्रै उपाय मनोबल हो । सिकाइमा नयाँ सोच र विचारका कुराहरूमा नयाँ चिन्तन मनन् गर्न खोज्नु शिक्षक तथा अभिभावकहरूको जिम्मेवारी हो । त्यसकारण दण्डको अन्त्य र पुनर्वलको सिर्जना गर्नु विद्यालय र विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकाहरूको जिम्मेवारी महŒवपूर्ण रहन्छ र दण्डरहित वातावरण सिर्जना गर्नु महानता मानिन्छ । यदि सिकारुलाई यातना दिइ कुनै पनि कुराको सुरु गरिन्छ भने सरकार, जिशिका, प्याब्सन, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको संयुक्त सहयोगमा यातना दिने शिक्षक तथा शिक्षिका र विद्यालयलाई नै कानुन बमोजिम कारबाही गरिनु पर्दछ । बालमैत्री वातावरण सिर्जनामा सम्पूर्ण पक्षको महŒवपूर्ण भूमिका रहन्छ त्यसैले दण्डरहित वातावरणको सिर्जना गर्न हामी हाम्रो साथ सबैको लागि स्रहानीय बन्नेछ । दण्डरहित शिक्षा हाम्रो सान, पुनर्वल जगाउने हाम्रो अभियान । 
(लेखक सुप्रिम माविका शिक्षक हुन् ।)
प्रकाशित मितिः   २३ चैत्र २०७२, मंगलवार ०५:०८