नाकामा प्रहरीको मौसमी निगरानी

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ कार्तिक ।
नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेका दैलेखका भीमबहादुर सोनी सवार गाडी तीन ठाउँ ‘चेकिङ्ग’ मा पर्‍यो । आफन्तसँग भेटघाट र व्यक्तिगत कामले प्रायः जसो नेपालगन्ज जाने उनी आश्चर्यचकित परे । नेपालगन्ज–सुर्खेत सीमानामा पर्ने हर्रेमा नियमित सवारी चेकजाँच हुन्छ । पछिल्लो समयमा प्रहरीले छिन्चु र सुब्बाकुनास्थित प्रहरी पोष्टमार्फत् पनि सवारी साधनमाथि निगरानी बढाएको छ ।


प्रहरीले चाडपर्वलक्षित गरी नाकाहरूमा कडाइ गरेको छ । तर यस्तो मौसमी निगरानीले यात्रुलाई नै सास्ती हुने गरेको गुनासो यात्रुहरूको छ । चाडपर्वको समयमा हुनसक्ने अमर्यादित गतिविधि रोक्न प्रहरीले पूर्वसजगता अपनाउने उद्देश्यले नाकाहरूमा जाँच गर्न थालेको छ । दशैं सकिए लगत्तै तिहार लक्षित गरी नाकाबाट भित्रिने सामान तथा सवारी साधनमाथि विशेष निगरानी बढाइएको छ । ‘हर्रेदेखि वीरेन्द्रनगर आउँदै गर्दा गाडीको ‘इन्ट्री’ बाहेक चेकजाँच कहिल्यै हुँदैन थियो’ उनले भने, ‘चाडपर्वमा भन्दा अन्य समयमा धेरै आपराधिक गतिविधि हुने गरेका छन् तर, प्रहरी चेकजाँच भने सीमित रूपमा हुन्छ ।’ यसरी सीमित रूपमा हुने चेकजाँचले आपराधिक गतिविधि रोकिने सम्भावना कमै रहेको उनी बताउँछन् । प्रहरीको छड्के निगरानीले कहिले काहीं लागूऔषध ओसार–पसारमा संलग्न व्यक्तिहरू मात्रै पक्राउ पर्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा भित्रिने तथा बाहिरी जिल्लामा जाने सवारी साधन माथिको चेकजाँच कडा पारिएको जनाएको छ । अन्य समयमा भन्दा चाडपर्व आसपासमा मात्रै प्रहरीले चेकजाँचसँगै निगरानी बढाएपछि यात्रुहरूले सास्ती खेप्नु परेको उनले बताए । चाडपर्व मात्रै लक्षित गरी हुने सुरक्षा जाँच प्रभावकारी नहुँदा आपराधिक गतिविधि न्यूनीकरण हुन सकेका छैनन् । चाडपर्व र बेलामौकामा चेकजाँच हुँदा सर्वसाधारणले समेत अनावश्यक रूपमा सास्ती खेप्नुपरेको गुनासो गर्दै आएका छन् । ‘कहिलेकाहीं कुनै वास्ता हुँदैन, कहिले निकै सास्ती दिन्छन्’ सोनीले भने, ‘अनियमित रूपमा हुने चेकजाँचले सर्वसाधारणमा त्रास पैदा गर्छ तर, अपराधीलाई संरक्षण । प्रहरीको मौसमी चेकजाँच छलेर अपराध झनै भएका छन् ।’ सरकारले नियमित रूपमा नाकामा चेकजाँच गर्नुपर्ने उनी बताउँछन् ।
तिहार लक्षित सुरक्षा रणनीति योजना अनुसार नाकामा प्रहरीले निगरानी बढाएको उनले बताए । ‘आम नागरिकको सुरक्षा र चाडपर्वमा हुने आपराधिक गतिविधि न्यूनीकरण गर्ने योजना प्रहरीको छ’ उनले भने, ‘योजना अनुसार नाकामा प्रहरी परिचालन बढाइएको छ । सुर्खेत उपत्यकामा भित्रिने र बाहिरीने सवारी साधनमा विशेष निगरानी गरिएको छ ।
दशैं सुरु हुनु अगावै सुरक्षा व्यवस्था कडा पारे पनि विष्फोटक पदार्थको कारोबार हुने गरेको छ । चाडपर्व लक्षित गरी पटका बिक्री–वितरण हुने गरेको पाइएको छ । प्रहरीले बुधवार मात्रै विभिन्न ठाउँबाट पटका तथा आतिसबाजीका सामग्रीसहित तीन जनालाई पक्राउ ग¥यो । चाडपर्व लक्षित गरी वीरेन्द्रनगर–६ हुलाक लाइनका दानिस अन्सारीले सञ्चालन गरेको आयरा जनरल स्टोर्स, नसिम अन्सारीले खेलौना गिफ्ट पसलबाट र निहाल अहमदले गोदामको रूपमा स्टोर गरी राखेको अवस्थामा पटाकासहित तीन जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरूमाथि म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । तिहार लक्षित गरी विष्फोटक वस्तु आयात हुन थालेपछि नाकामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदिपबहादुर क्षेत्रीले बताए ।
तिहार लक्षित गरी पटका भित्रिने भएकाले सुर्खेत उद्योग वाणिज्य संघको सहयोगमा प्रहरीले अनुगमन गरेको उनको भनाइ छ । कुनै पनि प्रकारको पटाका तथा आतिसबाजीहरूको बिक्री वितरण, ओसार–पसार, सञ्चय तथा प्रयोग नगर्न–नगराउन जिल्ला प्रहरी कार्यालय सुर्खेतले आग्रह गरेको छ । प्रहरीले सूचना प्रकाशन गरी कुनै पनि व्यक्ति तथा व्यापारी व्यवसायीसँग यस्ता प्रकारका पटाका तथा आतिसबाजीहरू राखिएको भए बुझाउन सूचना जारी गरेको हो । सूचनाको अवज्ञा गरी कुनै पनि प्रकारका पटाका तथा आतिसबाजीको बिक्री वितरण, ओसार–पसार, सञ्चय तथा प्रयोग गरिएको पाइएमा कानुन बमोजिम कारबाही हुने जानकारी गराएको छ ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद ७ विष्फोटक पदार्थ सम्बन्धी कसूरको दफा १३८ उपदफा ३ मा आतिसबाजी, पटाकालाई समेत विष्फोटक पदार्थको रूपमा परिभाषित गरिएको छ । उपदफा २ (ग) बमोजिम आतिसबाजी, पटाकालाई समेत विष्फोटक पदार्थको बिक्रीवितरण गरेमा तीन (३) वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिवानाको कानुन बनाइएको छ ।

प्रकाशित मितिः   ९ कार्तिक २०७५, शुक्रबार १५:१३