चर्चामा बजेट तथा कार्यक्रम
अहिले जताततै नेकपा एमाले नेतृत्वमा बनेको सरकारले सार्वजनिक गरेको नीति, कार्यक्रम र बजेटको चर्चा चलिरहेको छ । विगतका सरकारको तुलनामा बढी व्यवहारिक र जनमुखी कार्यक्रम तथा बजेट सार्वजनिक गरेकै कारण यो सरकारको बढी चर्चा परिचर्चा भएको हो । सरकारमा सहभागी राजनीतिक दलहरूले यो सरकारको नीति, कार्यक्रम र बजेटको बारेमा चर्चा चलाउनु त स्वभाविकै हो । तर अहिले सरकारमा रहेका र नरहेका सबैजसो राजनीतिक दलहरूले यो सरकारको बारेमा चर्चा गर्न थालेका छन् ।
नेपाल सरकारले यही जेठ १५ गते १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट सार्वजनिक ग¥यो । उक्त कार्यक्रम र बजेटलाई आधार मान्ने हो भने कतिपय पुरानै राम्रा कार्यक्रमलाई यो सरकारले पनि निरन्तरता दिएको छ भने केही नयाँ कार्यक्रमहरू पनि सार्वजनिक भएका छन् । वर्तमान सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरूका बारेमा अहिले चिया पसलदेखि कार्यालयहरूमा समेत बहसको विषय बनेका छन् । यो सरकारले द्वन्द्वकालका घाइतेलाई सरकारी अस्पतालमा निःशुल्क उपचारदेखि भूकम्प पीडितलाई सामूहिक जमानीमा ऋण उपलब्ध गराइनेसम्मको कार्यक्रम ल्याएको छ । यसैगरी हुलाकी राजमार्गदेखि पत्रकारहरूलाई सरकारी अस्पतालमा ५० प्रतिशत निःशुल्कको व्यवस्था मिलाएको छ । सुरुङ्ग बनाउनेदेखि पानी जहाज सञ्चालन गर्नेसम्मको कार्यक्रम सरकारले ल्याएको छ । यसैगरी जलविद्युतदेखि औद्योगिक क्षेत्र बनाउने, सुख्खा बन्दरगाहदेखि पेट्रोलियम पदार्थको भण्डारण गर्नेसम्मका कार्यक्रम वर्तमान सरकारका रहेका छन् । यसैगरी शैक्षिक गुणस्तरलाई सुधारको कार्यक्रमदेखि सबै नेपालीको स्वास्थ्य बीमा गर्ने खालका कार्यक्रमसमेत रहेका छन् । यस्तै कृषिमा आधुनिकीकरण गर्नुका साथै कृषि उद्यमीहरूका लागि प्राविधिक शिक्षालयको स्थापना गर्ने जस्ता माटो सुहाउँदा कार्यक्रमहरू वर्तमान सरकारले ल्याएको छ । एक प्रदेश एक औद्यौगिक क्षेत्र स्थापना गरिने र एक प्रदेश एक मेडिकल कलेजका साथै शैक्षिक प्रमाणपत्रको आधारमा ऋणको व्यवस्था मिलाइने जस्ता लोकप्रिय कार्यक्रमहरू वर्तमान सरकारले ल्याएको छ । यो सरकारको यस्तै लोकप्रिय कार्यक्रमहरूमा आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रमको अनुदान दोब्बर बनाइनुका साथै अपाङ्गता, एकल महिला र लोपोन्मुख जातिलाई दिँइदै आएको भत्ता दोब्बर बनाइएको छ । जसका कारण यस्ता क्षेत्रका व्यक्तिलाई जीविकोपार्जन गर्न सहजता हुने देखिन्छ । विकास निर्माणको प्रभाव प्रत्यक्ष पार्नका लागि निर्वाचन क्षेत्र कार्यक्रमलाई तीन करोड रूपैयाँ बनाइनुका साथै सांसद विकास कोष ५० लाख पुगेको छ । यसैगरी गरीबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तरता दिनुका साथै वृद्धभत्तालाई समेत दोब्बर बनाइएको छ । यस्ता लोकप्रिय कार्यक्रम गरी देशको विकास गर्ने सन्दर्भमा बन्द, हड्ताल गर्ने, आयोजनाको काममा अवरोध गर्नेलाई क्षतिपूर्ति भराइने कार्यक्रमसमेत वर्तमान सरकारले ल्याएको छ । यी सबै काम कुशलतापूर्वक सम्पन्न भएपछि आगामी वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य सरकारले लिएको छ ।
वर्तमान सरकारका यस्ता तमाम खाले लोकप्रिय कार्यक्रम सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीको पनि चर्चा चुलिएको छ । प्रधानमन्त्रीले साँच्चिनै व्यवहारिक र सान्दर्भिक कार्यक्रमहरू जनता माझ ल्याएर आफ्नो जनताप्रतिको उत्तरदायी र जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गरेको धेरैको बुझाइरहेको छ । अहिले जताजतै केपी ओलीप्रति आशाका रेखाहरू पलाएको प्रतिक्रियाहरू आइरहेका छन् । सरकार टिकाउने र गिराउने खेलमा लाग्नेहरू अहिले सरकारप्रति उदार देखिएका छन् । अब नेपालमा केही परिवर्तन हुन्छ भने त्यो परिवर्तन यही सरकारले गर्छ भन्ने मानसिकतामा नेपालीहरू रहेका छन् ।
फरक आस्था र विचारका फाट्टफुट्ट अर्थहीन प्रतिक्रिया बाहेक वर्तमान सरकारको वकालत गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । विचारले मात्र मानिसलाई उत्तेजित बनाउँछ र त्यो दीर्घकालीन पनि हुँदैन तर विचारसहितको व्यवहारिक कार्ययोजना भयो भने त्यो विचारले दीर्घकालसम्म आफ्नो राज जमाउँछ । वर्तमान सरकारको विचार सहितको व्यवहारिक कार्यक्रमले अहिले यही सावित गरिदिएको छ । जनता अब विचारका पछि मात्र लाग्ने छैनन् उनीहरू अब विचारसहितको व्यवहारिक कार्ययोजनाको पछि लाग्ने छन् । अहिलेको सरकारको नेतृत्वको आसय पनि यही भएको बुझ्न सकिन्छ ।
अब जनता सरकार परिवर्तन भएको अस्वस्थ र फोहोरी खेल हेर्न चाहँदैन् बरु यही नेतृत्वमा सबै राजनीतिक दल सहभागी भएको राम्रो र हाम्रो सरकार हेर्न चान्छन् । जसले आफ्नो स्वाभिमानमा अडिक रहन सकोस् अनि राष्ट्र र राष्ट्रियता प्रति सधैं प्रतिवद्ध रहन सकोस् । ग्रामीणस्तरका सोझा साझा जनताको माग यही छ । अब उनीहरू वर्तमान सरकारको नेतृत्वमा विश्वस्त भएको पाउन सकिन्छ । उनीहरूको प्रतिक्रिया वर्तमान सरकारप्रति सकारात्मक भएको पाउन सकिन्छ । सरकारको नेतृत्वले जहिले पनि आफूले जनताको लागि कस्तो निर्णय गरे भन्ने महत्वपूर्ण हुन्छ । सरकारको नेतृत्व जसले गरोस् यसमा ग्रामीणस्तरका जनताको कुनै सरोकार हुँदैन । उनीहरूको सरोकार भनेको परिवर्तन र विकासमा हुन्छ । जुन परिवर्तन र विकास वर्तमान सरकारले एकपछि अर्को गर्दै अघि बढेको छ । त्यसैले पनि वर्तमान सरकारको नेतृत्वले देश विकास गर्नेमा आम जनता आशावादी देखिएका छन् ।
साझा बिसौनी संवाददाता ।