जागिरे जीवन र आमाको सम्झनामा दशैं

मदनप्रसाद शर्मा
कार्यालयमा कार्यरत मेरा साथीहरू दशैं मनाउन आलोपालो गर्ने विषयमा छलफल गरिरहेका थिए । टाढा घर भएकाहरू केही दिन पहिला जाने र नजिकै घर भएका साथीहरू सप्तमीको दिन जाने विषयमा निधो हुँदै थियो । केही साथीहरूले कार्यालयको काम पनि गर्नुपर्ने । दशंैमा घर नगएका साथीहरू बरु तिहारमा जाने भन्ने विषयमा छलफल गरिरहेका थिए एकातिर भने अर्को तिर आफ्नै पेसाले गर्दा दशंैमा घर जान पाउने कि नपाउने भन्ने पिरालोले आकुलब्याकुल भइरहेको थियो मेरो मन । उसो त बिदा पाउने मेरो अधिकार पनि त होइन । देश र जनताको सेवामा अहोरात्र खटिने छु भनि प्रण पनि त गरेको छु मैले । म उनीहरूका गफ सुनिरहेको थिएँ, मेरो मन भने विल्कुलै खुशी थिएन । करिब नौ वर्ष पहिला मैले मेरा आमा–बाबाको हातबाट दशैंको टिका र आर्शीवाद थापेको थिएँ, तत्पश्चात् मैले दशैंमा छुट्टी पाए पनि दशमीको दिन भन्दा पछाडि अर्थात कोजाग्रत पूर्णिमासम्मको दिन टिका लगाउने परम्परा रहेकोले सोही दिनसम्म टिका थाप्न म घर पुग्थें ।
यस पटकको दशंैमा भएसम्म कोही पनि साथीहरूको दिल नदुखाएर म चाँडै जाने सुरमा थिएँ, अफसोच त्यसो भएन । मैले सोचेजस्तो नभए पनि मलाई कत्ति पनि पिर भएन । लगभग दैनिकी सकेर डेरा फर्कदै गर्दा मनमा अनेकन कुराहरू खलाउँदै एक सुरमा हिँडिरहेको बेला म सोचिरहेको थिएँ, हिन्दुहरूको चाडहरूमध्ये विजया दशमी सबैभन्दा ठूलो चाड हो । यो अवसरमा म पनि अलि पहिल्यै घर जान पाएको भए ? बाल्यकालमा यही चाड मनाउँदाको झ–झल्कोले गिज्याइ रहेको अनुभूत भइरहेको थियो । आफैलाई थाहा छैन म कहाँ छु, नियतिले भुमरीमा पार्यो कि मनभित्रको बाँध फुट्यो । मनले मनभित्र द्वन्द्व चर्कायो । यो मन युद्ध भूमिजस्तो भयो । मन दुखिरहन्छ ऐया पनि भन्न नसकिने । मनमा छट्पटाहट भयो । मनभित्रको हिंसा र बिद्रोहले यो आत्मालाई बधशाला बनाइरहेको छ, पलपलमा मार्छ, अनि बचाउँछ । फेरि मनले सोच्दै मनलाई नै प्रश्न गर्छ, ‘तँ यो राष्ट्रको राष्ट्र सेवक होइन र ? किन मनलाई बसमा नराखी एकोहोरिएर बरालिएको छस् ?’ घचघच्याउँछ मेरै पेसालाई चित्त बुझाउन बाध्य हुनुपर्छ आफै ।
सम्झनामा स्वर्गीय आनन्दको आभास दिलाउने मेरो गाउँको हावापानी अनि असोज महिनको पारिलो घामसँगै पहेलै झुलेको बेसी खेतको धान र पाखो बारीमा कोदो । घैया धानका साथै जुनेल पनि झुलेको होला । केराघारीमा केरा पोका होलान्, घरछेउ रहेको अम्बा पाकेर लटरम्म भएको होला, आँगनीको डिल र करेसा बारीको छेउमा मखमली र सयपत्री फुलेर मनै लोभ्याउने भएका होलान् तिनै चिजले मेरा मनका कुनाहरूमा जीवनका सुन्दर अनुभूतिलाई घचघचाइ रहेको थियो । घरजोहो गर्न परदेशिएका दाजुभाइ गाउँघारमा नहुँदा गाउँघरै सुनसान भएको होला ।
अब त दशंैमा मुग्लान गएका मुग्लानी दाजुभाइ घर फर्कदै होलान् । त्यस्तै लामो समयदेखि घर छोडेका आफन्तहरू चाँडै आफ्नो परिवारसँग भेटेर केही सुख त केही दुःख साट्न आतुर भएका होलान्, म पनि आतुर भएको छु ती बुढा बा अनि जीवन संगिनी र नाबालक छोरीसँग छिट्टै भेटेर सुख दुःख साट्न । तर देश र जनताको सेवा गर्न घर छोडेर हिँडेको म त्यति सजिलै कहाँ घर जान पाउछु र ? करिब–करिब वर्षाको समय समाप्त भएको संकेत गरिरहेको थियो मौसमले पनि । आकाश सफा देखिन लागिसकेको हिले जमिनमा पनि केही धुलो देखा पर्न लागेको थियो । गाउँघरमा सबैको जमघटले रमाइलो भइसकेको होला । सम्झनामा आउथ्यो त्यो गाउँको ढुङ्गेघर अनि बालापनका संगीहरू । गाउँभन्दा करिब एक घन्टा टाढाको दूरीमा रहेको कमेरो र रातोमाटोको खानी, हामी धेरैजना मिलेर कमेरो र रातो माटोको खानी भित्र छिरेर माटो खनेर लिएर घर आउँदा कसको घर लिपेर राम्रो हुन्छ भन्दै गफिदै हिँडेको । धुवाँले भरिएको मझेरी अनि धुलोले भरिएको आँगन, घरको सिँडी लिपिएर रंगीचंगी अनि दुलही सिङ्गारिए जस्तै भएका होलान् । दशैं गाउँघरमा खुशीको बहार बनेर आएको छ, आजभोलि त रेडियो र टिभीबाट पनि दशैंका गीत घन्किरहेका होलान् । पारीघरे साइलादाई र अरु संगीहरू बाबियोको लिङ्गे पिङको सर्कासँगै रमाइरहेका होलान् ।
संसारमा सबैभन्दा बलवान त धन नै रहेछ, जसले जन्मभूमि, ममतामयी आमाको काख र न्यानो माया अनि प्यारी जीवन संगीनी र छोरी म बाट टाढा बनाएको खल्लो अनुभूतिले गर्दा मनमा पीडाको आगो दन्किरहेको अनि आँखबाट आँसु छचल्किरहेको अनुभूत भइरहेको थियो मलाई । कस्तो कहाली लाग्दो छ मेरो जीवन सधैं दुःख र कष्ट, न भोक लाग्दा भोजन न प्यास लाग्दा पानी न त समयको निन्द्रा । आखिर जे भए पनि भोग्नै पर्ने बाध्यता छ । कसैको पाउ ढोकेर नहुने जे कर्ममा छ सोही आँसु झारेर भए पनि भोग्नुपर्ने । कहाँबाट सुरु भएर कहाँ अन्त्य हुने हो जीवन कसले पो देखेको छ र ? जीवन ज्युनलाई हजारौं ठक्करको सामना गरिरहेको छु । जुन पेसामा आबद्व रहेर पैसा आर्जन गरको छु सोही पैसाले सुख शान्ति किनिरहेको छु । सन्तानको भविष्य देखिरहेको छु आज म । सुख भोग गर्न कसले चाहेको हुँदैन र ? गरिबीले पिरोल्दै गर्दा बाध्यताले म घर छोडेर हिडेको थिएँ, आखिर सारङ्गी रेटिदा रेटिदै तार छिने झै गरी मानविय अस्तित्व पनि मेटिदै जाने रहेछ । यस्तै अनेकौं कुराहरू मनमा खेलाउँदै म हिँडिरहेको थिएँ । म हिँडेको बाटो छेउमा रहेको चिया पसलमा सुमधुर स्वरका धनी लोक गायक नारायण रायमाझीको आवाजमा रहेको ‘नमुछे आमा दहिमा टिका नछरे जमरा दैवले पर्दा उठायो आमा आउदिन फर्केर…’ गीत रेडियोमा बजिरहेको थियो । सोही गीत एक्कासी मेरो कानमा ठोकिन पुग्यो । यसै एकोहोरिएको मन त्यसमाथी आमाको सम्झना बल्झाउने मौका पायो सोही गीतले र म सपनाबाट बिउझेझै भएँ ।
मेरी आमा तिर मन मोडियो । साँच्चै भन्ने हो भने संसारमा आमाको माया जति अपार माया अरु कसैको पनि हुँदैन होला । आफ्ना सन्तान जति नै विद्वान किन नहुन् आमाको अगाडि म आफूलाई अज्ञानी नै सम्झन्थें । म नजिक हुँदा खराब संगत अनि कुलतबाट टाढा रहनु यी कुराले कसैको पनि भलो गर्दैन भनि चिउडोमा र गालामा हातले सुमसुम्याएको झ–झल्कोले गहभरी टिलपिल आँसु भएको अनुभूति भएको थियो मलाई । म कति अभागी छु आज यो संसारमा मेरी आमा भैदिएको भए दशैंको पूर्वसन्ध्यामा नै बाबु तिमी दशैंमा गर आउ है भनि मोबाइलमा फोन, चिठ्ठी वा मौखिक खबर भए जे भए पनि म सम्म आउँथ्यो होला, अनि मन पनि खुशीले गदगद् हुने थियो तर आज त्यो खुशी म सँग छैन ।
अन्त्यमा विजया दशमी तथा शुभ दीपावली २०७५ को यस सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली मनहरूमा सु–स्वास्थ्य, दीर्घायू एवम् उत्तरोउतर प्रगतिको हार्दिक मंगलमय शुकामना व्यक्त गर्दछु ।
चिङ्गाड गाउँपालिका–३ सुर्खेत

प्रकाशित मितिः   २९ आश्विन २०७५, सोमबार १२:११