‘जमरा राख्ने ठाउँसमेत छैन’

जगतदल जनाला बिक
सुर्खेत, २७ असोज ।
हिन्दु धर्मावलम्बीहरूका घर–घरमा घटस्थापनादेखि दशैंको चहल–पहल सुरु भएको छ । टीका लगाउने दिन नजिकिँदै छ । बजारमा किनमेल बढेको छ । टीकाको साइत भेट्न र पहेंलो जमरा लगाउन घर बाहिर भएका आफन्त भित्रिन थालेका छन् । तर, वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रमा रहेको अस्थायी शिविरमा बस्दै आएकी मनरूपा थापाले जमरा राख्ने ठाउँसमेत पाएकी छैनन् ।


वि.सं. २०७१ साल साउन २९ गते इत्राम खोलामा आएको बाढीले उनको घर बगायो । त्यसयता वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रको बाढीपीडित शिविरमा बस्दै आएकी छन्, उनी । विगत चार वर्षदेखि शिविरमा त्रिपालमुनीको बास छ । ज्याला मजदुरीबाट पेट पालिएको मनरूपाको परिवारसँग जमरा राख्ने उपयुक्त ठाउँ छैन । गैर–सरकारी संस्थाले दिएका त्रिपाल थोत्रा भए । छियाँछियाँ भइसकेका त्रिपालले न घाम छेक्छन् न पानी । ‘जमरा राख्न अँध्यारो ठाउँ चाहिन्थ्यो, त्रिपालले घामै छेकेन’ उनी भन्छिन्, ‘ठाउँ नहुँदा पहेंलो हुनुपर्ने जमरा हरिया हुने गरेका छन् ।’
खोला किनारको ऐलानी जग्गा किनेर दैलेखबाट बस्ती सरेको पाँच वर्षमै घरबारविहीन हुनुप¥यो । खेती गर्ने जग्गा जमिन छैन । जमरा राख्ने जौंसमेत अरुसँगै मागेर टारिन् । अघिल्ला वर्षहरूमा हरिया जमरा लगाएर दशैं मनाएको अनुभव उनीसँग छ । यस वर्ष पनि हरिया जमरा उम्रिएको उनले बताइन् । घरमा राखेको जमरा बिग्रिएपछि खाली टिका लगाएर कसरी दशैं मनाउने दोधारमा छिन् । ‘जमरा राख्ने राम्रो ठाउँ नहुँदा केही उम्रिएकै छैन, उम्रेको पनि हरियै भयो’ उनले भनिन्, ‘घर बाढीले बगाएपछि दशैंमा सधैं अभावै–अभाव हुन्छ । कहिल्यै टीका लगाउने चामल हुँदैन, कहिल्यै शिरमा लगाउने जमरा राम्रो उम्रिदैन ।’ मिठो मसिनो खाएरै दशैं मनाउने योजना उनले बनाएकी थिइन् । ज्याला मजदुरीबाट आएको पैसाले ऋण बुझाउँदै सकिएको छ । ‘यो वर्ष बालुवा पनि खुलेन’ उनले भनिन्, ‘काम खोज्दा श्रमअनुसारको ज्याला नै पाइएन । कामदार खोजे पो रोजेको ज्याला पाइने हो, काम खोज्दै जाँदा जति दियो त्यसैमा चित्त बुझाउनुप¥यो ।’ सरकारले
पुनस्र्थापनामा ढिलाइ गर्दा त्रिपालमा दशैं मनाउनुपर्ने बाध्यता हट्ने आशा हराएको पञ्चपुरी नगरपालिका–५ की ५५ वर्षीय धनसरा शाहीले बताइन् । भेरीनदीमा आएको बाढीले घर बगाएपछि धनसराले पनि ढुक्कले चाडवाड मनाउन पाएकी छैनन् । ‘भएको खेतबारी बगर बनेको छ, खेती गर्न जमिन छैन’ उनले भनिन्, ‘दशैंका लागि राखेका जमरा उम्रिएका छैनन् ।’ उनले पनि मागेको जौंबाट जमरा राखेकी हुन् । खेतबारी हुँदा अन्न बेच्ने उनको परिवारमा कसरी छाँक टार्ने चिन्ता छ । ‘दशैं सुरु भयो कि घरमा खसी, बोकाको बली चढाइन्थ्यो’ उनले विगत सम्झिँदै भनिन्, ‘त्रिपालमा के बली काट्नु, एक छाक मासु खाउँ भने पैसा छैन ।’
पञ्चपुरी नगरपालिका–१० कि शान्ति राजीलाई पनि दशैंमा हरिया जमरा लगाउनुपर्ने चिन्ताले पिरोलेको छ । घामपानी नछेक्ने त्रिपालमुनी राखिएको जमरा हरियै उम्रिने गरेको उनले बताइन् । आफ्नै घर भएको भए यसरी हरिया जमरा लगाउनु नपर्ने उनी बताउँछिन् ।
उनको माइती घर बर्दिया हो । यस पटकको दशंैमा उनले माइत नजाने निर्णय गरेकी छन् । भन्छिन्, ‘कमाइ छैन, तीजमा किनेका कपडाले दशैं मनाउनुपर्ने भएको छ । माइती जाँदा दिदीबहिनीले शिरदेखि पाउँसम्म गहना लगाएका हुन्छन् । आफूसँग जे जति छ त्यति लाउने, परिवारमा निको मिठो बनाएर घरमा दशंै मनाउने हो ।’
अहिले सुर्खेतमा नौ सय ७१ परिवार बाढीपीडितहरू विभिन्न अस्थायी शिविरमा बस्दै आएका छन् । २०७१ साल साउनको अन्तिम साता सुर्खेतका विभिन्न स्थानमा आएको बाढीपहिरो पीडितहरू घाटगाउँ, लेखपराजुल, गिरीघाट, झुप्राखोला, मसिना, भुतेलिताल लगायतका क्षेत्रमा बस्दै आएका छन् ।

प्रकाशित मितिः   २८ आश्विन २०७५, आईतवार १६:०३