स्वयम्सेवी खैरुन

वीरेन्द्रनगर बसपार्कबाट करिब तीन किलोमिटर पूर्वमा पर्छ, पिपिराचौक । चौकमा पुग्नु अगाडिको खोला किनारमा छ, मुस्लिम बस्ती । खोला किनारदेखि दायाँ मुस्लिम समुदायका बालबालिका पढ्ने मदरसा मदिना विद्यालय छ । साँघुरो बाटोबाट, विद्यालयको गेटदेखि बायाँ काटेपछि भित्र छिरेपछि भेटिन्छ एउटा छाप्रो । आँगनमा कुखुरापालन व्यवसाय छ । टीन र टाइलले छाएको छानामुनी भेटिन्छिन्, खैरुन निशा ।
अपरिचित व्यक्तिका लागि वीरेन्द्रनगर पस्नासाथ स्वयम्सेविका खैरुन निशालाई सोध्यो भने उल्लेखित नक्सा अधिकांशले सहजै बताउँछन् । मन खोलेरै घरसम्म बाटो देखाउने थुप्रै भेटिन्छन् । वीरेन्द्रनगरमा अटोरिक्सा चलाउनेदेखि पीपीराका बालकदेखि बृद्धसम्मले चिन्छन्, उनलाई ।


संघर्ष र प्रेरणा
वीरेन्द्रनगर–१० की महिला स्वास्थ्य स्वयम्सेविका हुन् उनी । वि.सं. २०५२ साल चैत १५ गतेदेखि उनले स्वयम्सेवा रोजिन् । ‘गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयम्सेविका राख्ने लहर चलेको थियो’ उनले ती दिन सम्झिदै भनिन्,‘मस्लिम समुदायमा पढेलेखेका कोही नभएकाले पनि मलाई स्वयम्सेविका चुनियो ।’
उनले कक्षा पाँचसम्म पढेकी हुन् । मुस्लिम समुदायको संस्कार अनुसार नै १४ वर्षमै विवाह गरिन् । बालविवाह र आर्थिक अवस्था कमजोर भएका कारण उद्देश्य अनुसार निमावि तह अध्ययन गर्न पाइनन् । उच्च शिक्षा हासिल गरेका प्रमाण–पत्र नभएपछि सरकारी जागिर खाने बाटो रोकियो तर, रोकिएन उनको समाज सेवा गर्ने इच्छा । मुस्लिम समुदायमा साक्षर उनले सरकारी सेवा प्रवेश गर्न नपाए पनि समाज सेवा गर्ने अवसर पाइन् । जसले उनलाई जीवनभरको खुशी मिलेको छ ।
अल्पसंख्यक मुस्लिम समुदायकी हुन्, खैरुन । वि.सं. २०२८ सालमा असोज २३ गते जन्मिएकी उनको बाल्यकाल सुखद् रहेन । उनी १३ वर्षको हुँदा आमाको मृत्यु भयो । परिवारमा तीन बहिनी र दुई भाइ थिए । बुबाले दोस्रो विवाह गरे । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाइदिने कोही भएन । जसले गर्दा उनले विद्यालय छोड्नुप¥यो । भन्छिन्, ‘कक्षा पाँचदेखि माथि अध्ययन गर्न पैसा तिर्नुपथ्र्याे । दोस्रो विवाह गरेपछि बुबाले सहयोग गर्न पनि छोड्नुभयो । अभिभावकविहीन भएपछि पढाइ छुट्यो ।’
समाजमा काम गर्दै जाँदा आएका अवरोधले नै उनलाई पाठ सिकायो । मुस्लिम समुदायमा महिलालाई अन्य समुदायसँगै घुलमिल हुँन पाइदैन थियो । घर छोडेर बाहिर निस्कन समेत निकै कठिन थियो । उनीपनि समुदायमा ‘बन्दी’ जस्तै बनेकी थिइन् । आफ्ना इच्छा र चाहानलाई बाध्यताले दबाउँदै आएकी थिइन् । स्वास्थ्य संस्थाले स्वयम्सेविकाको जिम्मेवारी दिएपछि उनका लागि समुदायबाट सामाज रूपान्तरणमा लाग्ने बाटो खुल्यो । स्वास्थ्य स्वयम्सेविका भएपछि उनी विचलित नभएरै काममा लागिन् ।
अनुभवले निखा¥यो, समाजले स्वीका¥यो
महिला स्वास्थ्य स्वयम्सेविका भएर सेवा गर्न लागेको करिव २४ वर्ष भयो । अनुभवले उनलाई अब्बल बनाएको छ । स्वास्थ्य संस्थाबाट वितरण गर्न दिएको सामान्य रोगको औषधिसमेत वितरण गर्छिन् । अध्ययनले अब्बल नभए पनि अनुभवले निखारिएकी छन् । ‘पढ्न नपाएकाले पछुतो त लाग्छ’ उनले भनिन्,‘तर, अध्ययन नभए पनि अनुभवका आधारमा काम निरन्तर गर्दै आएकी छु ।’
उनले चुनौतीपूर्ण कामहरू गर्दै आएकी छिन् । मुस्लिम समुदायमा परिवार नियोजनका अस्थायी साधनको प्रयोग हुँदैन थियो । समुदायले जुन काम गर्दैन, त्यही काम गर्नुपर्ने बाध्यता स्वयम्सेविका भएर आइलाग्यो । समाजमा अस्थायी साधनका साथसाथै यसबारे ज्ञान बाढ्न थालिन् । धर्मविरोधी काम गरेको भन्दै उनको काममाथि प्रश्न उठ्न थाल्यो । ‘जिम्मेवारी अनुसार समाजमा अस्थायी साधनहरू वितरण गर्थे, हाम्रोमा (मुस्लिम समुदाय) प्रजनन रोक्न पाइदैन थियो’ उनले भनिन्, ‘आफूले दिन नसक्ने सेवा स्वास्थ्य संस्था पठाउँथे ।’ उनले अस्थायी साधन बाड्न थालेपछि थुपै्र चुनौती खेपिन् । तर, पनि कामबाट विचलित भइनन् । समाजमा सुधारको काम गरेकाले उनको अभियानलाई सबैले स्वीकार गरे । अहिले मुस्लिम समुदाय खुलेरै अस्थायी साधनको प्रयोग गर्छन् ।
पुरस्कृत हुनु दुखद्पल
मुस्लिम समुदायमा परिवार नियोजन र अस्थायी साधन प्रयोग गर्न लगाउनु निकै चुनौतीपूर्ण बन्यो, उनलाई । निःस्वार्थ भावले समाज सेवा गरेवापत उनले नेपाल अल्वा रत्न पुरस्कारबाट २०६६ सालमा पुरस्कृत भइन् । ५० हजार नगद प्राप्त गरिन् । जुन पुरस्कार पाउनु उनका लागि जीवनकै दुःखद् पल बन्यो । समाजमा सेवा गर्न हिँडेकी उनका गतिविधि धर्म विरोधी भएको भन्दै गाउँमा कुरा काट्न थालियो । ‘पर्दाभित्रै बस्ने मुस्लिम महिलालाई समाजबाट बाहिर निकालियो, परिवार नियोजनका साधन प्रयोगलाई खुल्ला रूपमा वितरण गर्न थालि भनेर कुरा काट्न थालियो’ जीवनको पीडादायक घटना सम्झिदै उनी भन्छिन्, ‘मुस्लिम समुदायको धार्मिक क्षेत्रमा एउटा महिलाले सम्पूर्ण पुरुषहरूको बीचमा बसेर स्पष्टीकरण दिनुप¥यो । सही काम गरेकै कारण पराजित हुनुपरेन ।’
मुस्लिम समुदायमा तलाक दिने चलन हुन्छ । जसको विरुद्धमा आवाज उठाउने उनी पहिलो मुस्लिम महिला हुन् । समुदायमा चलेको रितिविरुद्धको अभियानमा होमिएकी उनले पराजय ब्यहोर्नु परेन । बरु घुडा टेकेरै जवाफ दिइन् तर, काम र सेवादेखि विचलित भइनन् । जसले उनलाई मुस्लिम समुदायकी ‘हिरो’ नै बनायो । विगतमा समाजले गरेको व्यवहार सम्झिदाको पीडाले मलिन अनुहार बनाउने उनी वर्तमान सम्झिँदा निकै खुशी हुन्छिन् । ‘समाजमा खुट्टा तान्ने र कुरा काट्नेसँग हारिनँ’ उनी भनिन्,‘योग्यता नभएपनि अनुभवका आधारले काम गर्दा असहयोग गर्नेबाटै सहयोग मिल्यो । स्वास रहेसम्म सामाजिक काममा लाग्नेछु ।’
सहयात्रीको सहयोग
पृतसतात्मक सोच, पुरुष नै अगुवा र नेतृत्व गर्ने समाज । त्यसमाथि पनि मुस्लिम समुदायकी महिलालाई घर छोड्न सहज थिएन । झन् अस्थायी साधन बाँड्दा र तलाकको विरोध गर्दा उनलाई समाजले सहयोग गर्ने अवस्था नै थिएन । समाजले असहयोग ग¥यो तर, परिवारबाट उनले सधैं साथ पाइन् । सहयात्री इशाक दीनले खैरुनका घरायसी काम गर्न थाले । घरबाट हात हलुका भएपछि उनलाई समाजमा खुलेरै काम गर्न सहज भयो । श्रीमान्बाट कुनै पनि कुरामा असहयोग पाइनन् । छोरीहरू सानै थिए । खैरुनले काममा निस्केपछि उनले घरको जिम्मेवारी सम्हाल्थे । छोरीहरूको हेरचाह गर्थे, विद्यालय पठाउँथे । सबै काम गर्थे ।
घरको काम आफूले गर्ने र श्रीमतीलाई बाहिर जान लगाएको भन्दै समाजबाट हेपिए इशाक । तर, श्रीमतीलाई असहयोग गरेनन् । भन्छन्, ‘क्षमता भएकाले समाजमा केही गर्ने हो । समाजले राम्रो गरेको हेर्नै सक्दैन् त मेरो परिवारका विरुद्धमा किन नबोल्दो हो ?’ समुदायको जे भने पनि सत्कर्म गरेरै खैरुन अगाडि बढिन् । समाजको सेवामा तल्लिन भइन् । ‘श्रीमतीलाई भाले बनायो, आफु पोथी बन्यो भनेर श्रीमान्का विरुद्धमा गाउँलेले कुरा काटे’ उनी भन्छिन्, ‘श्रीमान्ले कसैका कुरा सुन्नुभएन । मैले पनि सत्यको बाटो अंगालेको थिएँ ।’
श्रीमान्कै सहयोग पाएकाले उनी अहिलेसम्म सफल भएको बताउँछिन् । श्रीमान्को सहयोगमा सामाजिक काममा खुलेर लाग्न पाएकाले हिजो कुरा काट्नेहरू आज सहयोग र सल्लाह लिन आउँछन् । सुत्केरी र गर्भवती महिला, नवजात शिशु र बालबालिका, बृद्धबृद्धा र विपत्मा परेका व्यक्तिलाई उनले स्वयम् सेवा गर्दै आइन् । निःस्वार्थ उनले कर्म गरिन् । अहिले दैलेख, सुर्खेत र बाँकेबाट समेत उनीसँग आवश्यक सहयोग र सल्लाह लिन आउँछन् । निमुखा, असहाय, अशक्त र गरीबका लागि उनले सम्बन्धित निकायसँग सहयोग माग्न अगाडि पुग्छिन् । वर्षमा गोष्ठी र तालिमहरूमा सहभागी भएवापत राज्यबाट तीन सय रूपैयाँ पाउँथिन् ।
घरबाटै तलाकको विरोधी
मुस्लिम समुदायको विवाह सम्बन्धलाई विच्छेद गर्ने कानुन नै तलाक हो । तलाक दिएपछि पर–पुरुषसँग महिलाले सम्बन्ध जोड्नु पर्छ । त्यसपछि मात्रै दोस्रो विवाह गर्न पाइन्छ । जुन मुस्लिम महिलाका लागि सम्बन्ध विच्छेद गर्न अनिवार्य लागू गर्नुपर्छ । तलाक विरुद्धको अभियान खैरुनले आफ्नै घरबाट सुरु गरिन् । ‘समाजले बुझ्छ वा बुझ्दैन् तर, आफ्नै घरभित्रबाट देखाउनुपर्छ भनेर काम गरें’ उनले भनिन्, ‘माइली छोरीमाथि घटना घट्यो । तलाकमा महिलालाई जुन जनावारका हिसाबले हेरिएको छ ।’ जसका विरुद्धमा छोरीको तलाक अस्वीकार गरिन् । उनको यही अडानका कारण समाजमा पछिल्लो समयमा तलाक दिने प्रचलनमा कमी आएको छ ।

प्रकाशित मितिः   २८ आश्विन २०७५, आईतवार १५:५८