अझै बाँकी छ दूरी

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ असोज ।
सुर्खेतस्थित तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय करिब ५० मिटरको दूरीमा छन् । निर्वाचनताकाको जस्तो बाक्लो भीड नभए पनि यी दुई कार्यालयमा जिल्लास्थित नेता तथा कार्यकर्ताहरूको हरेक दिनजसो सानोतिनो जमघट भने भइरहन्छ । पार्टी कार्यालयमा नेता–कार्यकर्ताको जमघट हुनु कुनै अनौठो कुरा भएन तर तिनै जमघटको दृश्यभित्र लुकेको रोचक कुरा चाहिँ के भने पूर्ववतः पार्टी कार्यालयमा पूर्वपार्टीकै नेता तथा कार्यकर्ताहरू मात्र देखिन्छन् ।
तत्कालीन नेकपा एमालेको पार्टी कार्यालयमा पूर्व एमालेकै नेता तथा कार्यकर्ताहरूको जमघट भइरहँदा माओवादी केन्द्रको पार्टी कार्यालयमा पूर्व माओवादीकै नेता–कार्यकर्ताहरूको जमघट देख्न सकिन्छ । जिल्ला तथा स्थानीय तहसम्मको एकता प्रक्रियामा भएको ढिलाइले यतिबेला दुवै पक्षका नेता तथा कार्यकर्ताहरू अन्यौलपूर्ण अवस्थामा देखिन्छन् । पार्टी एकता प्रक्रियाको औपचारिक सुरुवात भएको एक वर्ष र एकता घोषणाको पाँच महिना बितिसक्दा पनि जिल्ला तथा स्थानीय तहमा भने नेता तथा कार्यकर्ताहरूबीच अझै पनि फाटो देखिन्छ । जसको एउटा उदाहरण मात्रै हो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्लास्थित नेता तथा कार्यकर्ताहरू आ–आफ्नै पूर्व पार्टी कार्यालयमा जमघट हुनु र एकअर्कासँग घुलमिल हुन नसक्नु ।
कमिटीविहीन पाँच महिना
दुई पार्टी एकताको घोषणासँगै पूर्ववतः कमिटी विघटन गरिएको थियो । त्यसयता एकता प्रक्रियामा भएको ढिलाइले संयुक्त कमिटीहरू बन्न सकिरहेका छैनन् । केन्द्रमा दुई पार्टीका अध्यक्षहरू संयुक्त अध्यक्ष हुने गरी स्थायी समिति, केन्द्रीय समिति र सचिवालयको टुङ्गो लगाइएको छ भने केही समयअघि मात्रै प्रदेश कमिटीका पदाधिकारीहरू चयन पनि गरिएको छ । तर त्यसबाहेक जिल्ला र स्थानीय तहमा भने नेकपा कमिटीविहीन अवस्थामा छ ।
कमिटीविहीनताको अवस्थाले जिल्लास्थित नेता तथा कार्यकर्तामा पनि निराशा छाएको छ । विगतमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेकाहरू यतिबेला जिम्मेवारीविहीन छन् । संगठनका कुनै पनि काम हुन सकेको छैन । पार्टी कमिटीविहीन हुँदा सांगठनिक गतिविधिहरू नै सञ्चालन हुन नसकेको बताउँछन् नेकपाका नेता एवम् पूर्व एमालेका जिल्ला सचिवसमेत रहेका मोहन बडुवाल । उनले जतिसक्दो छिटो स्थानीय तहसम्म एकता प्रक्रियालाई टुंग्याउनुपर्ने बताए । ‘जति ढिला हुन्छ त्यसलाई पार्टीको संगठनलाई नै कमजोर बनाउँछ र कार्यकर्तामा झन् निराशा बढ्छ’ बडुवालले भने, ‘त्यसकारण पनि जतिसक्दो छिटो यसलाई टुंग्याउन जरुरी छ ।’
भावनात्मक एकता बाँकी
नेता बडुवालले दुई पार्टी एक घोषणा भएको महिनौ बितिसक्दा पनि तल्लो तहमा अझै भावनात्मक एकता हुन बाँकी नै
रहेको जस्तो महसुस भइरहेको बताए । ‘दुवै पक्षका नेता तथा कार्यकर्ताहरू आ–आफ्नै ढङ्गबाट अघि बढिरहेका छन्’ उनले भने, ‘पार्टीको आन्तरिक जीवन मजबुत बनाउने गरी कुनै काम हुन सकिरहेको छैन ।’
कतिपय स्थानमा दुवैतर्फका नेता तथा कार्यकर्ताहरूबीच समन्वय भइरहेको भए पनि अधिकांश स्थानमा आ–आफ्नै ढङ्गबाट काम गरिरहेको पाइन्छ । स्थानीयस्तरका कतिपय सामुदायिक वन उपभोक्ता समितिदेखि सहकारी र विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्ने विषयमा पनि दुई पक्षका कार्यकर्ताबीच टकराव हुने गरेका छन् । नेकपा नेता एवम् माओवादी केन्द्रका पूर्व जिल्ला अध्यक्ष कृष्ण जिसी (जितेन्द्र) कमिटी एउटै नहुँदा पूर्व मनोविज्ञान मेटिन बाँकी नै रहेको बताउँछन् । उनले समयमै एकता प्रक्रियालाई पूर्णरूपमा टुंग्याएको भए यस्तो समस्या नआउने भन्दै जतिसक्दो छिटो स्थानीय तहसम्मका एकताका प्राविधिक पक्षहरू पनि समाधान गर्नुपर्ने बताए ।
यी दुई पार्टीबीच पार्टी एकता गर्ने लक्ष्यसहित ६ बुँदे सहमति भएको एक वर्ष पूरा भएको छ । गतवर्ष असोज १७ गते बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसहित एमाले र माओवादीबीच पार्टी एकता गर्ने गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको थियो । नयाँशक्ति पार्टी सहमति लगत्तै बाहिरिए पनि एमाले र माओवादीले भने सोही सहमतिलाई कार्यान्वयन गर्दै औपचारिक रूपमा पार्टी एकता घोषणा गरेको पनि पाँच महिना पुगेको छ ।

प्रकाशित मितिः   २० आश्विन २०७५, शनिबार १४:४०