न्यायाधीश बन्ने सपना
वीरेन्द्रनगर–३ सुर्खेतकी रश्मी शाही सानैदेखि चञ्चल स्वभावकी थिइन् । पढाइमा सधैं ‘टपटेन’मा नै पर्छिन् । बुबा चन्द्रबहादुर शाही र आमा तारादेवी शाहीकी माइली छोरी रश्मीका बुबाआमाको सपना भने फरक थियो । छोरीलाई विज्ञान पढाउने सपना बुबाआमाले देखे पनि रश्मीको ध्यान भने कानुनतिर थियो ।
वि.सं. २०७४ सालमा एसईई उत्तीर्ण गरेपछि उनले बुबाआमालाई कानुन पढ्ने ईच्छा व्यक्त गरिन् । उनका बुबाआमाले भने कानुनमा भविष्य छैन र सुर्खेतभन्दा बाहिर पढ्न जानुपर्ने भन्दै विज्ञान पढ्न आग्रह गरे । कानुन पढेर न्यायाधीश बन्ने र सामाजिक समस्याका विरुद्धमा लड्ने अठोट बोकेकी रश्मीले बुबाआमाको ईच्छा विपरित वीरेन्द्रनगरस्थित एड्भान्स वेटर इङ्गिलिस मिडियम बोर्डिक स्कुल कानुन विषयमा भर्ना भइन् र आफैले रोजेको विषय पढिरहेकी छिन् । महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने समाजको लागि नमुना र साामाजिक अभियन्ताको रुपमा काम गर्ने सपना बुनेकी रश्मीले आफ्नो भर्खरै सुरु भएको कलेज लाइफको अनुभव र अनुभूतिहरु साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी सुनाइन्ः
बुबाआमाको सपना विज्ञान मेरो सपना कानुन
जनउच्च माध्यमिक विद्यालय सुर्खेतबाट एसईई उत्तीर्ण गरेपछि बुबाआमाको सपना अनुरूप म विज्ञान पढ्ने तयारीमा थिएँ । मेरो सानैदेखिको सपना भने सामाजिक विषयसँग जोडिएको कानुन विषय पढ्ने थियो । तर म छोरी भएकै कारण कानुन पढ्नबाट वञ्चित हुँदै थिएँ । किनकी सुर्खेतमा कानुन पढाउने कुनै पनि कलेज थिएन । बुबाआमाले बाहिर जान नदिने निधो गरेपछि मैले जन उच्च माध्यमिक विद्यालय सुर्खेतमा विज्ञान विषयमा नाम लेखाउने तयारीमा गरेकी थिएँ । त्यसैबीचमा सुर्खेतमा एड्भान्स कलेजले कक्षा ११ मा कानुन पढाउन लागेको थाहा पाएँ । त्यसपछि आफैले चाहेको विषय पढ्न थालें ।
मेरो कलेजको पहिलो दिन
मेरो कलेजको पहिलो दिन एकदमै रमाइलो भयो । किनकी मेरो बुबाआमालाई पनी सल्लाह नगरी मैले मेरो सानैदेखिको सपनाको विषय लिएर पढ्दै थिएँ । मलाई मेरो सपना पूरा भएको महसुस भएको थियो । तर म त्यो दिन अलि ढिला क्लासमा गएको थिएँ । अलिक लाज पनि लाग्यो तर पनि मैले लाजलाई किनारा लगाउँदै कक्षा कोठामा प्रवेश गरें ।
कलेजको पहिलो दिन नै दुई जना साथीहरू बनाएँ । कलेजबाट फर्कंदा पनि म खुशी नै भएँ । बुबाआमाको सपनालाई पछाडि राखेर मैले मेरो आफ्नो सपना पूरा गर्दै थिएँ त्यसमा केही दुःख त अवश्य पनि लागेको थियो तर पनि मलाई आफूमाथि पूरा विश्वास छ की मैले भविष्यमा बुबाआमाको नामलाई उच्च राख्छु भन्ने । त्यसैले पनि मैले उहाँहरूलाई थाहै नदिएर आफूले रोजेको विषय पढ्न थालें ।
म कलेज बाहेक घरमा पनि जतिसक्दो धेरै पढ्ने गर्दछु । मलाई फिल्म हेर्न खासै राम्रो लाग्दैन । घरमा त कहिले काहीं हेरिन्छ तर फिल्महलमा भने म आजसम्म पनि गएको छैन ।
मलाई कलेजको पढाइ र विद्यालयको पढाइ फरक लाग्यो । किनभने म कानुनको विद्यार्थी भएकोले मैले मेरो पढाइलाई व्यवहारिकतामा उतार्न पाएकी छु । म बिहान कलेज आउने र दिउँसो ल फर्ममा काम सिक्दै छु । मलाई यो अवसर गीता कोइराला म्याडमले दिनुभएको हो ।
विद्यालयमा विशेष गरी किताबी ज्ञान मात्रै दिइन्छ तर कलेजमा व्यवहारिक ज्ञान पाउँदा खुुुशी लाग्छ । कलेजका राम्रो पक्षहरू थुप्रै छन् । थुप्रै नयाँ साथीहरूसँग परिचय हुन्छ । र, व्यवहारिक ज्ञान पाएकी छु । नराम्रो कुरा के भन्दा चाहिने जति भौतिक पूर्वाधार र सामग्रीहरूको अभाव भयो भने पढेको बुझ्न अप्ठ्यारो हुन्छ । प्रेम जसले जसलाई पनि गर्न मिल्छ । प्रेम भन्ने बित्तिकै हाम्रो समाजमा नराम्रो नजरले हेर्ने गरिन्छ तर प्रेम जसले जसलाई पनि गर्ने गरिन्छ । घरपरिवार बाबामम्मी, दिदिबहिनी, दाजुभाइ र साथीहरू सबैलाई प्रेम गर्नुपर्दछ । केटा र केटीमा हुने प्रेम मेरो लागि नौलो कुरा हो । त्यसको बारेमा मलाई अनुभव छैन ।
म न्यायाधीश बन्नकै लागि कानुन पढेकी हुँ । हाम्रो समाजमा थुप्रै सामाजिक समस्याहरू छन् । जसका विरुद्धमा लड्नका लागि कानुन जान्नु आवश्यक पनि हो । त्यसैले मैले यो विषय पढेकीं हुँ । कतिपय अवस्थामा महिलालाई पशुको जस्तो व्यवहार गरेको मैले देखेकी छु । मेरै घरमा पनि बुबाको जति आमाको लागि स्वतन्त्रता छैन । म समाजका यस्ता कुरितीका विरुद्धमा लड्न चाहान्छु । त्यसैले कानुन विषय पढ्ेकी हुँ । मेरो पढाइ बाहेक नाँच्न र गाउन पनि मन पराउँछु । त्यसैगरी मैले कराँते पनि सिकेकी छु । मलाई राजनीतिमा पनि खुब रुची छ । जसरी भए पनि सामाजिक क्षेत्रमा काम गर्ने ठूलो ईच्छा छ ।
साझा बिसौनी संवाददाता ।