‘बालुवामा लेखेरै अक्षर चिनें’

विद्याभूषण मान्धर कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता हुन् । वि.सं. २०२४ पुस २० गते बुबा कर्णबहादुर श्रेष्ठ र आमा ताराकुमारी श्रेष्ठको कोखबाट जन्मिएका उनी लामो समयदेखि कानुन व्यवसायमा संलग्न छन् । वि.सं. २०५२ सालबाट अधिवक्ता भइ वकालन गर्दै आएका उनी अहिले भने कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्ताका रूपमा कार्यरत छन् । उनै मानन्धरले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी गरेः


बाल्यकाल रमाइलोसँग बित्यो । मेरो जन्म वीरेन्द्रनगर–९ पातालगंगामा भएको हो । म घरको साइलो छोरा । मेरो घरपरिवार शिक्षित थियो । मेरो बाजे सुब्बा भएर पहिलो पटक सुर्खेतमा जागिर खान आउनुभएको थियो । बुबा पनि जागिरे हुनुहुनुहुन्थ्यो । दाइहरू पनि पढ्नुहुन्थ्यो । पातालगंगामा केही समय बसेपछि हाम्रो परिवार बसाइँ सरेर लाटीकोइलीमा आयो । हामी यही हुर्कियौं । यही बसेर पढ्यौं ।
विद्यालय नजिक थियो । शिव माध्यमिक विद्यालयमा पढेको हुँ । मैले त्यहाँ कक्षा १ देखि ७ सम्म त्यहाँ पढें । घर नजिकै विद्यालय भएकोले दुःख भएन । बुबा जागिरे भए पनि घरपरिवारले खेती किसानी नै हो गर्ने । प्रायः आमा खेती किसानीमा हुनुहुन्थ्यो । बुबा–आमाले नै हामीलाई पढ्नुपर्छ भनेर सम्झाउनुहुन्थ्यो । परिवारमा सबैले पढेको हुनाले पढाइलाई त्यत्ति बोझको रूपमा लिएनौं ।
मैले वि.सं. २०४२ सालमा एसएलसी पास गरेको हुँ । हामीले सुरुमा कापी कलम देख्न पाएनौं । कक्षा ३ पछि मात्र हामीले कापीमा पेनले लेख्न थालेका हौं । पहिला धुलोमा र सिलौटमा लेख्थ्यौं । बालुवा र माटोमा नै लेखेर हामीले अक्षर चिनेका हौं । तीन कक्षापछि भने कापीमा कलमले लेख्न थालिलो । सुरुमा रमाइलो लाग्थ्यो । कापीकलममा लेख्दाखेरी धेरै खुशी लाग्थ्यो ।
म सानैदेखि साथीहरूसँग घुलमिल हुन्थें । उनीहरूको नेतृत्व गर्ने स्वभावको थिएँ । खेल्दा होस अथवा केही काम गर्दा मैले नै नेतृत्व लिन्थें । हामीले सानोमा नाटकहरू पनि खेल्थ्यौं । सानो–सानो समूह बनाएर आफै पनि लेखेर नाटकहरू खेल्थ्यौं । पहिला जात्रा लाग्थ्यो । जात्रामा रमाउने पनि हुन्थ्यौ । सानो छँदा कहिल काहीं बदमासी पनि गरेका क्षणहरू छन् । हामी फलफूल चोर्न दिउँसै स्कुलबाट भागेर कहिले काहीं चौधरी बस्तीमा पुग्थ्यौं । बर्खाको समय भएकाले मकैबारी हुन्थ्योे । प्रायः कसैले थाहा पाउँदैनथे । कहिल काहीं त कुखुरा चोरेर काँक्रेबिहारको जंगलमा वनभोज खान गएको रमाइलो पल पनि छ । काँक्रा चोर्दा, फलफूल चोर्दा र कुखुरा चोर्दा थाहा पाएर पिटाइ खाएका घटना पनि छन् । कसैले त वास्ता पनि गर्दैन थिएँ । पहिले जति भने पनि बारीका काँक्रा फलेका हुन्थे । फलफूल हुन्थे । बारीमा कुखुरा चरिरहेका हुन्थे । कसैले समान्य रूपमा पनि लिने गर्थे ।
खेलहरूको नेतृत्व मैले नै लिने गर्थें । एक दिन हाडीमा जिम्न्यास्टिक कसले हान्न सक्ने भनेर प्रतियोगिता नै गर्ने भनेर कसियौं । कसरी हान्ने भनेर मैले नै सिकाउने गर्थें । बारीबाट हाँडीमा जिम्न्यास्टिक हानेर पारी जानुपर्ने थियो । पहिला नै मैले कोही हाँडीमा परिहाल्यो भने हेरेर नबस्नु बचाइहाल्नु भनेको थिएँ । पहिला सबै साथीहरूले सजिलैसँग पारी गए । अन्तिममा म थिएँ । म नै हाडीमा परें । साथीहरूले छिट्टै उद्धार गरे । गुच्छा र पौडी खुब खेल्थ्यौं । माछा मार्न पनि गयौं । खाली समयमा गाइ चराउन जाँदा खेल्ने र माछा मार्ने गथ्र्यौं । साथीहरू धेरै हुन्थे, रमाइलो हुन्थ्यो । एक पटक २०३५ साल तिरको कुरा हो । तत्कालीन राजा वीरेन्द्रको सुर्खेतमा सवारी भएको थियो । त्यस बेलामा जन माध्यमिक विद्यालयमा पढ्थें । राजाको स्वागत सम्मानका लागि जन माविमा नै कार्यक्रमको आयोजना गरिएको थियो । राजा भनेर पहिलादेखि नै सुनिएको थियो तर पहिलो पटक राजालाई प्रत्यक्ष देख्न पाउँदा हामी निक्कै खुशी थियौं । राजाको स्वागत सम्मान कार्यक्रममा कसले राजालाई चिया पकाएर छिटो खुवान सक्छ भनेर प्रतिष्प्रधा गर्ने प्रतियोगिताको आयोजना गरिएको थियो । त्यसमा सबैभन्दा छिटो चिया पकाएर राजालाई खुवाएर हामी नै प्रथम भयौं । एक जना अर्को साथी र म गरेर दुई जना थियौं । त्यसबेलामा सबैभन्दा धेरै खुशी हुनु स्वभाविक थियो । हामीले पुरस्कार स्वरूप चक्लेट र कापीकलम पाएका थियौं ।
म सानैदेखि स्वास्थ्य क्षेत्रमा जागिर गर्छु भन्ने थियो । पछि पढ्न पाइएन । मेरो दाई (भुषणकुमार मानन्धर) कानुन विषय पढेको हुनुहुन्थ्यो । उहाँले वकालत पेशा पनि अंगालिसक्नु भएको थियो । मैले पनि पछि कानुन विषय पढें । नेपालगन्जमा गएर आएल पढें । त्यसपछि काठमाडौं गएर बीएल पढें । अनि सुर्खेत आएर ल फर्म खोलेर वकालत पेशामा लागें । बुबा–आमा दिउँसोमा जति काममा व्यस्त भए पनि साँझको समय हामीलाई दिनुहुन्थ्यो । त्यो समयमा उहाँले सम्झाउने, बुझाउने गर्नुहुन्थ्यो । त्यसकारण पनि नराम्रो बाटोमा कहिल्यै पनि लागिएन । मेरो आमा धेरै मेहेनति हुुनुहुन्थ्यो । उहाँको प्ररेणाले पनि मलाई काम गर्ने हौसला आउँथ्यो ।
पहिला यो बस्ती गोठीकाँडामा हुँदा गाइजात्रा, रोपाइ जात्रा हुँदो रहेछ । वीरेन्द्रनगर आइसकेपछि जात्रा लाग्न छाडेका रहेछन् । लाखे जात्रा लागिरहदो रहेछ । बालकृष्ण मान्धर काका हुनुहुन्थ्यो । उहाँले अब गाइजात्रा र रोपाइँ जात्रा पनि लगाउने भनेपछि जात्रा अहिलेसम्म निरन्तर लागिरहेको छ । जात्रामा रमाइलो हुन्थ्यो । बाल्यकालमा त्यति दुःख भोग्नु परेन, रमाएर नै बित्यो ।

प्रकाशित मितिः   १५ आश्विन २०७५, सोमबार १७:०५