पढाइ छोडेर सिलाइ–कटाइ
जगतदल जनाला बिक
सुर्खेत, १० असोज ।
पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का २१ वर्षीया नम्रता नेपाली र २० वर्षीय बेला विक यतिबेला सिलाइ–कटाइ व्यवसाय गरिरहेका छन् । वि.सं २०७४ साल मंसिरमा २५ हजार रूपैयाँ लगानी गरेर दुई जनाले साझेदारीमा उक्त व्यवसाय सुरु गरेका हुन् ।
उनीहरूलाई सुरुमा सिलाइ–कटाइ सेन्टर खोल्न त्यति सहज थिएन । विभिन्न समूहबाट ऋण लिएर व्यवसाय सुरु गरेका थिए । आर्थिक अभाव र अन्य घरायसी समस्याका कारण पढाइलाई निरन्तरता दिन नसकेका यी दुई जना किशोरीले तालिम सेन्टरमा अलि–अलि सिकेकै भरमा सिलाउने काम गरे पनि अहिले पञ्चपुरीमै सिलाइ–कटाइमा अब्बल मानिन्छन । अहिले उनीहरूलाई महिलाहरूका कपडा सिलाउनमा भ्याइ नभ्याइ छ ।
घरभाडा, बिजुलीको बील कटौती गरी दैनिक ६ सयदेखि एक हजार रूपैयाँसम्म बचत गर्ने गरेको नम्रता नेपालीले बताइन् । उनले भनिन्, ‘यसै व्यवसायबाट घरखर्च पनि चलाएकी छु, आमा–बुबा र घरपरिवारले पनि नकमाउने बेला फरक व्यवहार गर्थे अहिले कमाउने भएपछि घरका हरेक कामहरू गर्दा सोध्छन् सल्लाह लिन्छन् माया गर्छन् ।’
पढाइलाई निरन्तरता दिन नसकेपछि सिलाइ–कटाइबाटै आफ्नो दैनिकी जीवन चलाएको उनले बताइन् । अहिले उनीहरू दुई जनाले अन्य तीन जनालाई तालिम पनि सिकाउने गरेका छन् । तालिम सिक्ने प्रत्येक जनाले मासिक १५ सय तिर्छन् । आफूहरूले दैनिक कमाइको ७० प्रतिशत जति रकम विभिन्न समूह र संस्थाहरू जम्मा गर्ने गरेको अर्की उद्यमी बेला विकले बताइन् । उनले भनिन्, ‘पढे लेखेका मानिस पनि बेरोजगार छन हामी नपढेर पनि आफ्नो व्यवसाय गरी रोजगार नै छौं ।’
पढ्न नपाए पनि व्यवसाय गरेर स्वरोजगार बन्दा खुशी लागेको उनले बताइन् । ‘दुःखी छैन यही पेशामा नै खुशी छु । सकेको दिनमा काम ग¥यो नसकेको दिनमा बस्यो किन गरेनौं भन्ने छैन ।’ आफूहरू जस्तै सिक्न चाहेका तर आर्थिक नभएका महिला दिदीबहिनीहरूलाई निःशुल्क रूपमा पनि सिलाइ–कटाइ सिकाउने उनले बताइन् । संयुक्त लगानीमा सञ्चालन गरिएको व्यवसायबाट हुने आम्दानी दुवै जनाले बराबर बाँड्ने गरेका छन् । ‘दुवै जनाले कमाएको पैसा खर्च कटाएर बराबर बाँड्छौं’ निर्मलाले भनिन् ।
साझा बिसौनी संवाददाता ।