पढाइ त्यागेर सामाजिक कार्यमा सक्रिय

सत्यदेवी खड्का (अधिकारी) वि.सं. २०२५ साल साउन १० गते भगवतीमाई गाउँपालिका–६ कट्टी दैलेखमा जन्मिएकी हुन् । बुबा सर्वजित खड्का र आमा कृष्णाकुमारी खड्काको कोखबाट घरकी काइली छोरीको रूपमा जन्मिएकी सत्यदेवी बाल्यकालदेखि नै समाजसेवामा रुची राख्थिन् ।
वि.सं. २०६३ सालबाट राउटेहरूसँग सहकार्य गर्दै आएकी सत्यदेवी पछिल्लो समय ‘राउटेकी भान्जी’ को नामले नेपालभरी नै परिचित छन् । राउटेहरूको जीवनशैलीमा परिवर्तन ल्याउन र स्थायी बसोबासका लागि काम गर्दै आएकी उनले राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको केन्द्रीय अध्यक्षको रूपमासमेत काम गर्दै आएकी छन् ।
सरकारले पूर्णरूपमा राउटे जातिको गास, बास र कपासको व्यवस्था गर्नसक्छ भने राउटेलाई स्थायी रूपमा नै बसोबासको व्यवस्था मिलाउन सक्छु भन्ने राउटेकी भान्जी सत्यदेवीले आफ्नो सामाजिक सेवा यात्राको कथा साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी साटिन्ः

घरमा आठ जनाको परिवार थियो । बुबाआमा र हामी ६ भाइबहिनी हौं । जसमध्ये म घरकी काइली छोरी । म सानैदेखि समाजसेवामा लाग्नुपर्दछ र सामाजिक कुरितीहरूलाई चिर्नुपर्छ भन्ने स्वभावको थिएँ । जानेर वा नजानेर मैले सामाजिक कुरितीहरूलाई चिर्ने प्रयास गर्दथें । म विद्यार्थी जीवनमा पनि त्यस्ताखालका कैयौं सामाजिक अभियानमा लागेको मान्छे हुँ र विद्यार्थी जीवनमा राजनीतिमा पनि आवद्ध थिएँ ।
मेरो बुबा–आमा कृषक हुनुहुन्छ । बुबा–आमा ८८ वर्षको हुनुभयो र मेरो बुबालाई दैलेखमा ‘अलैचीबाजे’ भनेर चिन्ने गर्दछन् । छोरीले पढ्नुहुन्न भन्ने मानसिकता त्यो बेलामा पनि थियो । धन्न बुबा–आमाले मलाई पनि पढ्न छुटाउनुभएको थियो । मेरो जिद्दीले मात्रै मैले पढ्न पाएको हुँ । समाजसेवा गर्दागर्दै मैले पढाइलाई अगाडि बढाउन त सकिनँ तर एसएलसी पाससम्म गरेकी छु । त्यतिबेलामा त्यतिसम्म अवसर पाउनु पनि भाग्यमानी नै मानिन्थ्यो । म सरकारी जागिर छोडेर राउटेको उत्थानको लागी लागेकी हुँ ।
मैले वि.सं. २०५० सालमा मातृशिशु कार्यकर्ताको रूपमा स्थायी जागिर खाएको मान्छे तर मैले समाजसेवा गर्ने उद्देश्यले सरकारी जागिर छोडेर समाजसेवामा लागेको हुँ । लगभग १२ वर्षजति मैले मातृशिशु कार्यकर्ताको रूपमा काम गरें । वि.सं. २०६२ सालमा जागिर छोडेर राउटे उत्थानका लागि लागेकी हुँ ।
सुरुमा राउटे समुदायमा काम गर्न एकदमै अप्ठ्यारो भयो । उनीहरूले नै मलाई झण्डै मारेका थिए । तर राउटे जातिको दर्दनाक अवस्था देखेर मलाई रातमा समेत निद्रा लाग्दैन्थ्यो । वि.सं. २०६४÷०६५ सालमा दैलेखमा हैजा फैलिएको थियो । त्योबेलामा राउटे समुदायमा पनि समस्या देखियो । मैले औषधि लगेर दिँदा समेत मलाई कुट्न आउँथे राउटे समुदायका मान्छेहरू । उनीहरूले जति जे गरे पनि मलाई राउटे समुदायका बालबालिकाहरू तथा किशोर–किशोरीहरूको पीडा देखेर पीडाबोध हुन्थ्यो र उनीहरूकै लागि केही गर्नुपर्छ भन्ने लाग्थ्यो । त्यसकारण पनी उनीहरूको व्यवहारले मलाई कुनै असर गरेन ।
बरु विस्तारै उनीहरू पनि मलाई विश्वास गर्न थाले । मैले राउटे समुदायमा काम गर्न थालेको करिब १२ वर्ष भयो । अहिलेसम्ममा आउँदा राउटेहरूमा धेरै परिवर्तन मैले पाएको छु । राउटेहरू परिवर्तन हुन चाहान्छन् तर त्यसमा सरकारको कुनै पनि चासो नभएको मेरो बुझाइ छ । खाली विभिन्न संघ–संस्थाहरू आएर राउटेहरूलाई भजाएर डलरको खेती मात्रै गर्दछन् तर उनीहरूका वास्तविक पीडा कसैले पनि नबुझेको मैले पाएको छु ।
उनीहरू आम मानिस जसरी छिटो परिवर्तन हुँदैन । तर सरकार तथा गैरसरकारी संघ–संस्थाहरूले त्यो रूपमा बुझेकोले राउटेहरूको विकास भएको छैन । पछिल्लो समयमा विभिन्न संघ–संस्थाहरूले राउटेहरूलाई रक्सी र खैनी खुवाएर कार्यक्रम गरेको मैले पाएको छु । उनीहरूलाई कुलतमा फसाएर डलरको खेती गर्नेका विरुद्धमा मेरो लडाईं हो । सरकारलेसमेत उनीहरूलाई संरक्षण गर्नुको साटो खिल्ली उडाएको छ । राउटेहरूको साँच्चिकै उत्थान गर्ने हो र लोपोन्मुख जातिको संरक्षण गर्ने हो भने सरकार यसमा गम्भीर हुनु जरुरी छ । त्यसको लागि सरकारले बजेट व्यवस्थापनमा लाग्नुपर्दछ ।
अब मलाई कुनै कुराको चासो छैन बस समाज सेवामा निरन्तरता दिँदै राउटेहरूको गास, बास र कपासको व्यवस्था सरकारले गरोस् भन्ने नै छ । समाजसेवामा लागेर त मैले खासै केही पाएको छैन । बरु मैले श्रीमान् समेत गुमाएको छु । जबदेखि राउटेको उत्थानमा हिँडे तबदेखि मेरो श्रीमान् संगको सम्बन्ध बिग्रियो । महिलाहरूलाई समाजसेवामा लाग्नसमेत एकदमै अप्ठ्यारो छ । कति समाजसेवी महिलाहरू भित्रभित्रै हिंसा सहेर काम गरेको मैले पाएको छु । अधिनमा राख्न नपाएपछि सम्बन्ध नै बिगार्न खोज्ने पुरुषहरूको हाबी हाम्रो समाज छ । मेरा चार भाइबहिनी छोराछोरी छन् । एउटा छोरा जापान छन् । एकजना छोरा शिक्षक छन् र छोरी पढ्दैछिन् । श्रीमान्को सहयोग नपाए पनि छोराछोरीको सहयोग थुप्रै पाएकी छु । छोराहरूले आफ्नो पारिश्रमिकको केही अंश मेरो समाज सेवाको लागि छुटाउने गर्दछन् ।
केही काम विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरेर पनि गरेकी छु । उनीहरूलाई आवश्यक पर्ने साबुन, सलाई, लत्ताकपडा तथा स्वास्थ्य तथा खाद्यन्नसमेत मैले राउटे समुदायलाई दिने गरेकी छु । सँगसँगै उनीहरूको चेतनास्तरलाई समेत मैले वृद्धि गरेकी छु । सरसफाइ, औषधिको प्रयोग र खानपानमा र पछिल्लो समय प्रविधिमा समेत राउटे युवाहरू जोडिन चाहान्छन् । तर सरकारको यसमा ध्यान छैन । राउटेले जसलाई विश्वास गर्दछन् उसैमार्फत् परिवर्तन गर्न सकिन्छ । मेरो अब अन्तिम ईच्छा अरु केही छैन । राउटेको चेतनास्तर वृद्धि गर्नुका साथै गास, बास र कपासको ग्यारेण्टी सरकारले गरोस् र उनीहरूको संरक्षण गरोस् मलाई अरु केही चाहिएको छैन ।

प्रकाशित मितिः   १० आश्विन २०७५, बुधबार १४:४५