ज्वालालाई रोक्दा बोगटी अध्यक्ष
साझा बिसौनी संवाददाता
सुर्खेत, ७ असोज ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको अध्यक्ष हुने लाइनको अग्रपंक्तिमा थिए, यामलाल कँडेल । प्रदेश इञ्चार्जमा नेता जनार्दन शर्मा हुने निश्चित प्रायः भइसकेकाले पनि पूर्व नेकपा एमालेको भागमा पर्ने अध्यक्षमा कँडेल हुने चर्चा सुरुदेखि नै चलेको थियो । कर्णाली प्रदेशबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने सबैभन्दा ‘सिनियर’ पात्र भएकाले पनि उनलाई पार्टीभित्र मात्र होइन बाहिरबाट पनि प्रदेश अध्यक्षका रूपमा हेरिएको थियो । तर अन्तिममा कँडेल सह–इञ्चार्ज बन्दा पूर्व एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य गोरख बोगटी अध्यक्ष बनेका छन् । बोगटीले अध्यक्षमा बाजी मार्नुको कथा भने रोचक छ ।
ज्वाला रोक्न बोगटीलाई अघि सारियो
बोगटी आफै पनि प्रदेश कमिटी अध्यक्ष हुनेमा विश्वस्त थिएनन् । अध्यक्ष पद पूर्व एमालेको भागमा परे पनि कर्णाली प्रदेशकै उनीभन्दा सिनियर नेताहरू यामलाल कँडेल र प्रकाश ज्वालाका अगाडि उनलाई उक्त पद पाउन सजिलो पनि थिएन ।
अर्कोतर्फ प्रदेश मन्त्रीसमेत रहेका ज्वालाले अध्यक्षमा आफ्नो सम्भावना न्यून देखेपछि प्रदेशको सह–इञ्चार्जको लागि ‘लबिङ’ गरिरहेका थिए । केपी ओली पक्षीय कँडेल अध्यक्ष हुँदा माधव नेपाल पक्षबाट अर्को पद सह–इञ्चार्ज पाउनेमा उनी ढुक्क थिए तर अन्तिम समयमा कँडेलले आफूभन्दा ‘जुनियर’ सह–इञ्चार्ज हुँदा आफू अध्यक्ष नहुने नेतृत्वलाई जानकारी गराएपछि प्रदेश अध्यक्ष बोगटीको पोल्टामा परेको थियो ।
यसरी खुल्यो बोगटीलाई बाटो
कर्णाली प्रदेशसभाका सदस्यसमेत रहेका यामलाल कँडेल पार्टीको प्रदेश कमिटी अध्यक्ष बन्न चाहन्थे । उनी सोही आकांक्षासहित लविङमा पनि लागेका थिए । तर उनका सामु दुई पार्टीबीच गरिएको दुई÷दुई जनाको भागबण्डा नै बाधा बनिदियो । प्रदेश इञ्चार्ज पूर्व माओवादीको भागमा परेपछि सह–इञ्चार्ज पूर्व एमालेको भागमा प¥यो भने अध्यक्ष पूर्व एमालेको भागमा पर्दा सचिव पूर्व माओवादीको भागमा ।
पूर्व एमालेबाट कँडेल अध्यक्ष बन्दा ज्वाला सह–इञ्चार्ज बन्न सक्ने सम्भावना थियो । स्रोतका अनुसार अध्यक्ष ओली त्यति सकारात्मक नभए पनि माधव नेपाललाई थामथुम पार्न ज्वालालाई सह–इञ्चार्ज बनाउनुपर्ने ओलीमाथि दबाब थियो । नेता कँडेलका लागि यो कुरा स्वीकार्य थिएन । उनी ज्वालाभन्दा तल्लो पदमा बस्न राजी थिएनन् । कँडेलको अडानपछि अन्ततः ज्वालालाई रोक्नकै लागि पनि उनी आफै सह–इञ्चार्ज बन्नुपर्ने भयो । जसले गर्दा बोगटीलाई प्रदेश कमिटी अध्यक्ष बन्ने बाटो खुल्यो ।
अर्कोतर्फ नेता ज्वाला भने प्रदेश सह–इञ्चार्ज बन्ने आकांक्षासहित प्रयासरत थिए । उनी अर्का नेता कँडेलभन्दा माथिल्लो पदमा रहेर आगामी दिनमा कर्णाली प्रदेशको मुख्यमन्त्री हुने बाटो सहज बनाउन चाहन्थे । यही चाल बुझेका कँडेल पनि बरु ज्वालालाई रोकेर आफू सह–इञ्चार्ज बने र बोगटीको बाटो खोलिदिए । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका ज्वालालाई रोकेर कँडेल सह–इञ्चार्ज भए । जसका लागि उनले सहजै प्राप्त गर्ने अध्यक्ष पदसमेत छोड्न तयार भए ।
कँडेलको यही अडानकै कारण पार्टीको तर्फबाट प्रदेशको समानुपातिक कोटामा उम्मेदवार बनेर सांसद बन्न नपाएका गोरख बोगटी दुई पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको कर्णाली प्रदेशको पहिलो अध्यक्ष बन्न पुगे । कँडेल र ज्वाला दुवै कर्णाली प्रदेशको आगामी मुख्यमन्त्री बन्ने बाटो सहज बनाउन अहिलेदेखि नै आन्तरिक प्रतिस्पर्धामा छन् । नेकपाका एक जना प्रदेश सांसदले कँडेल र ज्वालाको आन्तरिक प्रतिस्पर्धाको फाइदा वर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिइरहेको बताए । उनी भन्छन्, ‘कार्यक्षमता माथि प्रश्न उठिरहँदा पनि दुई नेताको आन्तरिक लडाईंले मुख्यमन्त्रीले आफूमाथि संकट देखेका छैनन् ।’ केन्द्रीय राजनीतिमासमेत स्थापित भइसकेका उनीहरू दुवै जना मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए । कँडेल पार्टीभित्र अध्यक्ष ओली निकट मानिन्छन् भने ज्वाला अर्का वरिष्ठ नेता माधव नेपाल निकट हुन् ।
साझा बिसौनी ।