राष्ट्रपतिलाई खुलापत्र

हरिप्रसाद उपाध्याय
सम्माननीय राष्ट्रपतिज्यू,
दुखित तर आशापूर्ण नमस्कार !
नेपालको राष्ट्रप्रमुख पद एक महिलाले दोस्रो कार्यकाल चलाइरहँदाको पल हामी सम्पूर्ण देशवासीहरूको लागि एउटा गर्वको पल हो । अझ त्यसमा पनि यो कुराले यदि कसैको छाती सबैभन्दा धेरै चौडा हुन्छ भने त्यो मै हुँ भन्ने लाग्छ । मलाइ गर्व संघीय गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति महिला हुनुहुन्छ म यो कुरालाई आफूले सक्ने जति छातीलाई चौडा बनाएर भन्ने मध्यको एक हुँ । तर राष्ट्रपतिज्यू विगत केही समयदेखि त्यो मैले गर्ने गर्वमा शंका उत्पन्न भएको छ । जुन कुरामा म गर्व गर्दैछु त्यो कत्तिको अर्थपूर्ण र दिगो छ भन्ने कुराले शंका उत्पन्न गराउन थालेको छ र गर्व गर्न छाडेको छु ।
मैले बुझेको राष्ट्रपति केवल नामसँग मात्र सीमित छैन, मैले गर्व गरेको राष्ट्रपति केवल नाममा मात्रै हैन, मैले गर्व गरेको राष्ट्रपति महिला भएको मात्रैले हैन, मैले गर्व गर्ने राष्ट्रपतिको प्रतिमालाई पनि पक्कै हैन, मैले गर्व गर्ने राष्ट्रपति त एक क्षमतावान महिला जसले पुरुष पितृसतात्मक सोच भएको भनिएको देशको नेतृत्व गर्दछ । अविभावकत्व प्रदान गर्दछ, जसले देशमा विषम परिस्थिति आउँछ, जब देशको अस्तित्व, राष्ट्रियता, सामाजिक सद्भाव सुरक्षा, मानवीयता जस्ता विषयमा गम्भीर संकटता देखा पर्दछ त्योबाट देशलाई बचाउन कुशल अविभावकत्व प्रदान गर्दछ, नेतृत्व गर्दछ, त्यो राष्ट्र प्रमुख प्रतिको गर्व हो ।
सँगै हजुरमाथि आम नेपाली जनताको ठूलो आशा छ । हुनु स्वभाविक पनि हो । मदन भण्डारीलाई गुमाउनुको पीडा जनताले हजुर राष्ट्रपति हुँदा केही हदसम्म भुलेका छन् । मदन भण्डारीले परिकल्पना गरेको समाजवादको कार्यान्वयन गर्ने चरणको राष्ट्रको प्रमुख ठाउँमा देख्न पाउँदा जनतामा आशा पलाउनु स्वभाविकै हो तर तपाईंले कतिपय देश र जनताको हितविपरित घट्ने घटनाहरू र त्यसमा सरकारको निस्क्रियता या गलत कदमलाई रोक्न सक्रिय र सही दिशा प्रदान गर्नमा भूमिका खेल्न नसक्नुलाई जनताले फेरी गलत तरिकाले बुझ्न बाध्य हुनेछन र भन्नेछन्, ‘प्रमुख पो महिला त चलाउने चावी त पुरुषकै हातमा छ ।’ र सुन्नेहरू पनि त्यो कुरा विश्वास गर्न बाध्य हुनेछन् जुन अवस्थामामा पनि छु । यो अवस्थाको संसदीय व्यवस्थामा भएको राष्ट्रपतिलाई सम्पूर्ण नेपाली जनताले कुनै न कुनै रूपमा तपाईंमाथि आशा गरेकै छन् । जस्तैः कसैले तपाईंलाई आस्थाको प्रतिनिधि मानेका छन्, कसैले तपाईंलाई मदन भण्डारीको प्रतिनिधि मानेका छन्, कसैले तपाईंलाई महिलाको प्रतिनिधि मानेका छन् त कसैले एकल र संघर्षशील महिलाको प्रतिनिधि मानेका छन् । यसरी हेर्दा तपाईंमाथि आशा नगर्ने सायदै कोही होला र त्यो आशालाई विश्वासमा बदल्न सक्ने अवसर पनि तपाइँसँग नभएको होइन तर यस अवसरलाई भावनात्मक रूपमा मात्रै लिइयो भने त्यो सम्पूर्ण जनताको विश्वास माथिको अन्याय हुनेछ ।
तर राष्ट्रपति ज्यू, जब मैले केही समय यस्ता खालका घटनाहरूमा हजुरको मौनताले मलाइ आफ्नै विश्वासमाथि शंका गर्न बाध्य बनाएको छ । किनभने देशको स्वास्थ्य–शिक्षा जस्तो गम्भीर क्षेत्रको अनियमता अन्त्यका लागि डा. गोविन्द केसीको अनशन प्रकरणमा होस् या देशमा दिनहुँ महिलामाथि भइरहने हिंसाजन्य अपराधको विरुद्धमा पनि हजुरको भूमिका केही देख्न नसकिनु मेरा लागि र सम्पूर्ण आशावादी अझ भनौं गर्व गर्ने जनताहरूका लागि दुखित र निरासाजनक अवस्था हो ।
एक जना १५ वर्षीया बालिका बलात्कृत भइ मृत अवस्थामा फेला पर्छिन्, यस्तो जघन्य अपराधमा संलग्नहरू महिनौंसम्म पनि फेला पर्दैनन्, न्यायका लागि पीडितसहित आम नागरिकले सडकमा उत्रनुपर्छ, जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीबाटै अपराध ढाकछोप गर्न र प्रमाण नष्ट गर्ने कार्यमा संलग्नता हुन्छ, दोषीलाई कारबाहीको माग गर्दै नागरिकले आवाज उठाउँदा उल्टै बल प्रयोग हुन्छ, गोली चलाइन्छ, देशैभरी चौतर्फी विरोध प्रदर्शन भइरहँदा सरकार मौन रहन्छ र पनि राष्ट्रपतिज्यूको कुनै भूमिका नदेखिने हो भने जो आफै पनि एउटा बालिका थिइन, किशोरी थिइन्, महिला हुन्, आमा हुन् र राष्ट्रपति पनि । अब भन्नुस् आफ्नो अभिभावक मानेर तपाईंलाई कसले र किन आश गर्ने ?
राष्ट्रपति ज्यू,
हजुरले एक पटक अरु सबै बिर्सेर कञ्चनपुरकी निर्मला बहिनी भएर सोच्नुहोस् त । एक पटक निर्मलको आमा बनेर सोच्दिनुप¥यो अनि एक पटक ती हजारौं निर्मलाहरू जो दिनहँु बलात्कार, बेचबिखन, बालविवाह जस्ता अन्य हिंसामा पर्छन् कतिपय आवाज निकाल्न नसकेरै मरेतुल्य भएर ज्यूँछन् कतिपय आवाज निकाली हाले पनि जसकोमा सहयोगको हात थाप्न गइन्छ तिनै निकायबाट कस्तो सहयोग मिल्दछ त्यो मलाइ भन्दा हजुरलाई अझ धेरै थाहा होला, तिनीहरू भएर सोच्दिनु प¥यो । आज नेपालभरी जति पनि जनता सडकमा छन् ती सबैले त्यही सोचेर निस्केका हुन् ।
अख्तियार प्रमुख प्रकरण, प्रधानन्यायाधीश प्रकरण, डा. केसी प्रकरण, सुन प्रकरण, यातायात सिन्डिकेट, निर्मला पन्त घटना लगायतले आम नागरिकलाई सरकारदेखि भरोसा हैन डर लाग्न थालेको छ, विश्वास होइन, शंका लाग्न थालेको छ । जायज र न्यायिक कुराका लागि जनता आन्दोलित हुनुपर्ने, गोली खानुपर्ने हो भने भन्नुस् आम जनताले कसरी गर्व गर्ने कि म संघीय गणतान्त्रिक राज्यको नागरिक हुँ ?
एउटा आमाले बलात्कारपछि हत्या गरिएकी आफ्नो छोरीको न्यायका लागि सरकारसँग लड्नुपर्ने भए अब उसले कसरी गर्व गर्ने कि उसको देशको राष्ट्रपति एक महिला हुन् ? अनि भन्नुस् कसरी गर्व गर्ने हामीले तपाईं माथि ? हामीले गर्व गर्ने त महिलको आवरण मात्रै पो रहेछ त, काल्पनिक र भावनात्मक विम्ब पो रहेछ भन्ने लाग्न थालेको छ । हामीलाई मानिसको आवरणमा भूमिकाविहीन नेतृत्व चाहिएको होइन, विषम परिस्थितिमा देश र जनतालाई कुशल नेतृत्व प्रदान गर्ने, सरकारलाई अविभावकत्व प्रदान गर्ने र सवैले गर्व गर्नसक्ने राष्ट्रपति चाहिएको हो ।
त्यसैले अरु सबै कुरा बिर्सेर एउटा बालिका, महिला, आमा, जिम्मेवार नागरिक र कुशल नेतृत्वको रूपमा भूमिका निर्वाह गरिदिन अनुरोध गर्दछु र मलाइ विश्वास छ तपाईंको यो प्रयासले यो कुरा सधैंका लागि अन्त्य हुनसक्छ र मैले मात्र होइन विश्वभरिकै मानिसहरूले गर्व गर्नेछन् कि त्यस्तो होस् महिला नेतृत्व । आवरण त अदृश्य शक्ति या भगवानकै राम्रो हुन्छ मानव त भूमिकामै राम्रो हुन्छ त्यसैले राष्ट्रपतिज्यू कृपया तपाईंको अधिकार क्षेत्रभित्र रहेर मुलुकलाई समृद्ध र नागरिकलाई सुरक्षित बनाउने भूमिका निर्वाह गरिदिनुहोला ।

प्रकाशित मितिः   २ आश्विन २०७५, मंगलवार १५:२३