आर्थिक गतिविधिमा कर्णाली कमजोर

साझा बिसौनी संवाददाता
काठमाडौं, २८ भदौ ।
मुलुकका सात प्रदेशमध्ये कर्णाली सबैभन्दा कम आर्थिक गतिविधि हुने प्रदेश रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययन अनुसार कर्णालीमा अन्य प्रदेशको भन्दा निकै कम मात्रामा आर्थिक गतिविधि हुने गरेको पाइएको छ ।
उक्त अध्ययनले मुलुकभर सबा नौ लाख आर्थिक इकाई (प्रतिष्ठान) रहेको देखाएको छ । विभागले गरेको ‘प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५’ अनुसार मुलुकभर नौ लाख २२ हजार चार सय ४५ प्रतिष्ठानले आर्थिक गतिविधि गरिरहेको तथ्य सार्वजनिक गरेको हो । विभागले दुई महिना लगाएर गरेको आर्थिक गणनाको प्रारम्भिक प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो । विभागले गत १ वैशाखदेखि जेठ मसान्तसम्म यस्तो गणना गरेको थियो ।
विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार सबैभन्दा धेरै आर्थिक गतिविधि प्रदेश ३ मा हुने देखाएको छ । उक्त प्रदेशमा दुई लाख ८२ हजार ५६ आर्थिक इकाई छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम आर्थिक गतिविधि हुने पनि प्रतिवेदनले देखाएको छ । उक्त प्रदेशमा ४२ हजार आठ सय १७ आर्थिक इकाई रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी प्रदेश १ मा एक लाख ६८ हजार चार सय ३४, प्रदेश ५ मा एक लाख ४७ हजार आठ सय ९२, प्रदेश २ मा एक लाख १७ हजार पाँच सय ८८, प्रदेश ४ मा एक लाख ६ सय ८८ र प्रदेश ७ मा ६२ हजार नौ सय ७० आर्थिक इकाई रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । जिल्लागत हिसाबमा सबैभन्दा धेरै आर्थिक इकाई काठमाडौंमा रहेको उल्लेख छ । काठमाडौंमा एक लाख २३ हजार नौ सय ९४ आर्थिक इकाई छन् । जबकि कर्णाली र प्रदेश ७ जोड्दा कूल आर्थिक इकाई एक लाख पाँच हजार आठ सय १७ पुग्छ ।
विभागले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन अनुसार मुलुकभर ३४ लाख आठ हजार सात सय ४६ मानिस सक्रिय रूपमा आर्थिक गतिविधिमा संलग्न छन् । यसको अर्थ उक्त संख्या आर्थिक प्रतिष्ठानमा संलग्न जनशक्ति हो । प्रदेश नम्बर ३ मा सबैभन्दा धेरै ११ लाख ९० हजार र कर्णालीमा सबैभन्दा कम एक लाख ३२ हजार जनसंख्या आर्थिक प्रतिष्ठानमा जोडिएका देखिएको छ । आर्थिक गतिविधिमा महिलाको तुलनामा पुरुष नै बढी सक्रिय रहेको प्रतिवेदनले देखाएको छ ।
विभागले नेपालमा सञ्चालित कृषि, वन तथा माछापालन व्यवसाय (दर्ता भएका मात्र), खानी तथा उत्खनन्, औद्योगिक उत्पादनहरू विद्युत, ग्यास, वाफ तथा वातानुकुलित आपूर्ति, पानी तथा आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप, निर्माण, थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत, यातायात तथा गोदाम, आवास सुविधा तथा खाना व्यवस्थाका क्रियाकलाप, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा सम्बन्धी गतिविधि, घरजग्गा कारोबारका गतविधि लगायतका क्रियाकलाप गर्नेलाई आर्थिक प्रतिष्ठान मानेको छ ।
त्यस्तै, पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप, प्रशासनिक तथा सहयोगी क्रियाकलाप, शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्य, कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलाप र अन्य सेवा क्रियाकलाप सञ्चालन गर्नेलाई पनि प्रतिष्ठान मानेर गणना गरेको छ ।