सुर्खेतमा पुस्तकालय अभियान किन ?

भक्तबहादुर खड्का
विगत केही वर्षदेखि सुर्खेतको वीरेन्द्रनगरमा सहरीकरणका लक्षणहरू देखा पर्न थालेका छन् । कर्णाली प्रदेशको राजधानी घोषणा भएपछि यसमा तीब्रता आएको सहजै महसुस गर्न सकिन्छ । जनसंख्या वृद्धिसँगै मानिसहरूका आवश्यकतामा पनि विविधता आउन थालेको छ र त्यसको परिपूर्तिका लागि विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउने सार्वजनिक स्थलहरूको आवश्यकता र महŒवबारे जागरुकता पनि बढेको छ । यहीं जागरुकताले नै विश्वविद्यालय स्थापनादेखि बहुद्देश्यीय कभर्ड हल र सभाभवन निर्माण जस्ता सामुदायिक महŒवका कार्यमा मानिसहरूको व्यापक र सक्रिय सहभागिता रहेको थियो ।
विभिन्न धार्मिक स्थल र मन्दिरको निर्माणमा पनि जनसहभागिता उल्लेखनीय रहँदै आएको छ । अब सुर्खेतको प्रबुद्ध नागरिक समाजले यस्तै जागरुकता देखाएर एउटा बहुद्देश्यीय पुस्तकालय स्थापनाको अभियानमा लाग्नुपर्ने आवश्यकता महसुस गरिएको छ । यसको सुरुआत ‘वीरेन्द्रनगरमा पुस्तकालय स्थापना अभियान’ को रूपमा भइसकेको पनि छ । वीरेन्द्रनगरलाई एउटा उन्नत सहरको रूपमा चिनाउन र यहाँका बासिन्दाको प्राज्ञिक चेतनाको स्तरलाई माथि उठाउनका लागि पनि यहाँ एउटा सुबिधा सम्पन्न पुस्तकालयको आवश्यकता महसुस गरिएको छ । यस्तो पुस्तकालय परम्परागत रूपको पुस्तकहरूको संग्रह मात्र नभएर विविध स्रोतबाट ज्ञानको संकलन, निर्माण र आदान प्रदानको बहुद्देश्यीय थलो हुनु आवश्यक छ । त्यसैले बौद्धिक र सांस्कृतिक गतिविधिको केन्द्रको रूपमा परिकल्पना गरिएको यस्तो पुस्तकालयको आवश्यकता र सम्भावनाबारे यस क्षेत्रका बौद्धिक समुदायबीच व्यापक छलफल र विचार विमर्स हुनु आवश्यक रहेको छ । त्यही छलफल र अन्तरक्रियालाई अहिले सञ्चार माध्यम र सामाजिक संजालबाट अघी बढाउने उद्देश्यले प्रस्तावित पुस्तकालयको भावी स्वरूप र उद्देश्य बारे केही कुरा बुँदागत रूपमा यहाँ प्रस्तुत गरिएको छ ।
(१) कर्णाली प्रदेशको राजधानी शहरमा यहाँका बासिन्दा र बाहिरबाट आउने आगन्तुकहरूका लागि समेत सेवा पुर्याउनका लागि सूचना प्रविधिको उच्चतम सुविधा सहित ज्ञानको विविध क्षेत्रका पुस्तक र पत्रपत्रिकाहरू उपलब्ध भएको आधुनिक सामुदायिक पुस्तकालयको स्थापना गर्नुपर्ने आवश्यकता रहेको छ ।
(२) यस्तो पुस्तकालयमा बालक, युवा, प्रौढ र बृद्धहरू सबैको सिकाइ आवश्यकता पुरा गर्ने र मनोरञ्जनका लागि पढ्ने सुविधा सम्पन्न र शान्त स्थल उपलब्ध गराउने । बालबालिकाहरूको बौद्धिक र शारीरिक विकासका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्रीहरू सहितको छुट्टै ‘बाल विकास तथा सिकाइ शाखा’ को व्यवस्था गर्ने ।
(३) नेपालमा हाल खुला विश्वविद्यालयको स्थापना भइ सञ्चालन भइसकेको र विद्यालय तहको शिक्षा पनि खुला सिकाइ पद्धतिबाटसमेत सञ्चालन भइरहेको परिप्रेक्षमा त्यस्तो शिक्षा लिन चाहने विद्यार्थीहरूका लागि आवश्यक पर्ने पाठ्यपुस्तक र अध्ययन कक्षको समेत व्यवस्था भएको उपयुक्त स्थलको व्यवस्था गर्ने । पुस्तकालयलाई अनौपचारिक पद्दतिबाट शिक्षा हासिल गर्न चाहने सबैका लागि महŒवपूर्ण स्रोतकेन्द्रका रूपमा विकसित गर्ने ।
(४) हाल विभिन्न प्रकारका प्रतियोगितात्मक परीक्षा र कलेज तथा विश्वविद्यालयका अन्तिम परीक्षाको तयारी गर्ने विद्यार्थीहरूका लागि एक्लै वा साथीहरूसँग बसेर अध्ययन गर्ने सार्वजनिक स्थलको अभाव रहेको छ । घरमा विविध कारणले त्यसरी अध्ययन गर्न व्यवधान महसुस गर्नेहरूका लागि एकान्त र शान्त तथा स्रोत सामग्रीको सुविधासहितको अध्ययन कक्षको आवश्यकता रहेको देखिन्छ । प्रस्तावित पुस्तकालयले त्यस प्रकारको अध्ययन कक्षको सुविधा उपलब्ध गराउनु पर्दछ ।
(५) बालबालिका र युवाहरूलाई समेत अहिले पनि ‘पढ्नु’ भनेको अनिवार्य गर्नुपर्ने बोझिलो र झन्झटिलो काम हुन गएको छ । यदी परीक्षा दिनुपर्ने र प्रतिस्पर्धामा उच्च अंक ल्याउनुपर्ने बाध्यता नहुने हो भने विभिन्न कक्षाका पाठ्यपुस्तकहरू पनि रमाइलो मानेर पढ्ने बानीको विकास हुन सक्दछ । त्यसैले पुस्तकालयले पढाइ र सिकाइलाई रमाइलो क्रियाकलापको रूपमा विकास गर्न सक्दछ । विषयवस्तुलाई सरल र रमाइलो तरिकाले प्रस्तुत गरिएका विविध सामग्रीको उपलब्धताले स्कुल कलेजमा गाह्रो भनिएका विषयहरूमा पनि विद्यार्थीको जिज्ञासा र रुचि बढाउन मद्दत गर्दछ । प्रस्तावित पुस्तकालयलाई यस्तै प्रकारको रमाइलो सिकाइ केन्द्रको रूपमा विकास गर्नु जरुरी छ ।
(६) देशमा संघीय शासन व्यवस्था लागू भएपछि प्रत्येक प्रदेशले इतिहास, कला, संस्कृति, स्थानीय ज्ञान, सीप आदिको क्षेत्रमा भएको आफ्नो विशिष्ट पहिचानलाई प्रचार–प्रसार गर्ने स्वस्थ प्रतिस्पर्धा हुनु स्वभाविक हुन्छ । कर्णाली प्रदेश मध्ययुगमा गौरवशाली खस साम्राज्य कायम भएको र नेपाली भाषाको उत्पत्ति स्थल मानिएको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक दृष्टिले महŒवपूर्ण क्षेत्र हो । प्रस्तावित पुस्तकालयले यहाँको इतिहास र संस्कृतिका विविध पाटाहरूको खोज, अध्ययन अनुसन्धान, प्रकाशन र संरक्षणमा महŒवपूर्ण भूमिका खेल्नुपर्दछ ।
(७) पुस्तकालयले सहरका विविध क्षेत्रका बौद्धिक व्यक्तिŒवहरूबीच समसामयिक विषयहरूमा विचार विमर्स गर्ने र समाजलाई उचित मार्गनिर्देशन गर्ने विचारहरू सम्प्रेषण गर्ने थलोको रूपमा काम गर्नुपर्दछ । यसका लागि अन्य जिल्ला वा प्रदेशबाट र विदेशबाट समेत विद्वानहरूलाई आमन्त्रण गरी ज्ञानको आदान प्रदान गर्ने अवसरको निर्माण गर्नुपर्दछ ।
(८) अहिलेको व्यस्त दिनचर्याबाट फुर्सद निकालेको समयमा मानिसलाई मनोरन्जनका लागि पढ्ने र जीवन पर्यन्त सिकाइका अवसरहरू उपलब्ध गराउने केन्द्रको रूपमा प्रस्तावित पुस्तकालयलाई विकास गर्नु उचित हुन्छ । वीरेन्द्रनगरमा विभिन्न कामले बाहिरबाट आउने मानिसहरूको लागि पनि केही समय बिताउने उपयुक्त स्थान यस्तो पुस्तकालय हुन सक्दछ ।
(९) पुस्तकालयमा संगीतको अभ्यास गर्ने, मानिसको व्यक्तित्व विकासका विविध पक्षमा तालिम, गोष्ठी र छलफलको आयोजना गर्ने, देश विदेशका बिभिन्न सामुदायिक प्राज्ञिक संस्थाहरूसँग विचार र अनुभव आदान प्रदान गर्ने, विचारोत्तेजक चलचित्र हेर्ने, कुलत र दुव्र्यसनका लागेकाहरूका लागि पुस्तक पढाइमा रुचि जगाएर समय बिताउने बैकल्पिक उपायहरू सिकाउने जस्ता विविध गतिविधिहरू सञ्चालन गरी ज्ञान, विज्ञान र कला संस्कृतिको चौतारीको रूपमा विकास गर्न सकेमा यसले समाजलाई राम्रो मार्गदर्शन गर्न सक्दछ ।
माथिका बुँदाहरूमा उल्लेखित विचारहरू वीरेन्द्रनगरमा सामुदायिक पुस्तकालय स्थापनाको अभियानको सुरुवात गरी गत केही महिनादेखि प्रत्येक महिनाको अन्तिम शनिवार वीरेन्द्रनगरस्थित अमेरिकन कर्नरमा भेला भइ पुस्तक विमर्स गर्ने युवाहरूको समूहमा भएका छलफलमा आधारित छन् । यसमा सुर्खेतका सबै क्षेत्रका व्यक्तित्वहरूबीच व्यापक छलफल गरी सबैका विचारहरूको संयोजनबाट उपयुक्त ढाँचा तयार गर्नु आवश्यक छ । त्यसका लागि प्रत्यक्ष छलफल र अन्तरक्रियाको पनि आवश्यकता पर्दछ । त्यस्तो छलफल र अन्तरक्रिया कार्यक्रमको आयोजना पनि पुस्तकालय स्थापना अभियान संयोजन समितिले निकट भविश्यमा गर्ने छ ।
यी र यस्तै विचारहरूको संयोजनबाट कार्ययोजना बनाइ परिकल्पना गरिए जस्तो एउटा जीवन्त र गतिवान बौद्धिक सामुदायिक केन्द्र बनाउन सके वीरेन्द्रनगरको विशिष्ट पहिचानमा एउटा इटा थप हुनसक्छ । यसका लागि सबै पेसा व्यवसाय र क्षेत्रका मानिसहरूलाई कसरी समाहित गर्ने, आवश्यक पर्ने आर्थिक र भौतिक पूर्वाधारको व्यवस्था कसरी गर्ने र यस्तो संस्थालाई दिगो रूपमा सञ्चालन गर्न कस्तो किसिमको सांगठनिक संरचना तयार गर्ने भन्ने विषयमा सुर्खेत र सुर्खेत बाहिरका विज्ञहरूसँग पनि परामर्स र सहयोग लिन आवश्यक हुन्छ । यसका साथै देश भित्र र बाहिर पनि यस प्रकारका संस्थाहरू कसरी संचालन भएका छन् भन्ने कुराको अध्ययन गर्नु पनि जरुरी हुन सक्दछ । यिनै कुराहरूलाई दृष्टिगत गरी यस बहसको सुरुआत गरिएको छ ।
(खड्का वीरेन्द्रनगरमा सामुदायिक पुस्तकालय स्थापना अभियानका संयोजक हुन् ।)

प्रकाशित मितिः   २९ भाद्र २०७५, शुक्रबार १५:०८