जुत्ता सिलाएर आत्मनिर्भर
वि.सं. २०१९ साल जेठ १५ गते बुबा बिर्खबहादुर बस्याल र आमा बुद्धिसरा बस्यालको कोखबाट जन्मिएका प्रेमबहादुर बस्याल घरका जेठा छोरा हुन् । वीरेन्द्रनगर–८ स्थित क्याम्पसरोडमा जुत्ता सिलाएर गुजारा गर्ने उनी आफ्नो पुख्र्यौली पेसा अपनाउन पाउँदा खुशी छन् । वि.सं. २०३५ सालमा कक्षा ४ पास गरेका प्रेमबहादुरले वि.सं. २०४६ सालमा शिक्षक भएर पढाए ।
आफ्नै पहलमा साटाखानीको रूपसे भन्ने ठाउँमा कक्षा ३ सम्मको विद्यालय स्थापना गरेका उनले तीन वर्ष सोही विद्यालयमा अध्यापन गराए । सानैदेखि भविष्यमा शिक्षक बन्ने सपना भए पनि घरको कमजोर आर्थिक अवस्थाका कारण उनले पढाइ पूरा गर्न पाएनन् । पढाइ अधुरो भएपछि पुख्र्यौली पेसा अपनाएका प्रेमले आफ्नो पेसागत कथा–व्यथा साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी सुनाएः
सानोमा एकदमै चकचके स्वभावको थिएँ । घरको जेठो छोरो भएकोले पनि बुबा–आमाले मलाई असाध्यै माया गर्नुहुन्थो । मैले १६ वर्षको उमेरमा कक्षा ४ पास गरेको हुँ । वि.सं. २०३५ सालमा चार कक्षा पास भए पनि मैलै घरमै बुबालाई काममा सघारएरै दिन बिताउँथें । आमा–बुबा पनि हाम्रो पुख्र्यौली पेसा जुत्ता सिलाउने काम गर्नुहुन्थ्यो । मैले पनि बुबा–आमाबाटै यो काम सिकेको हुँ ।
तीन वर्षसम्म विद्यालय पनि पढाएँ । साटाखानीको रूपसे भन्ने ठाउँमा कक्षा तीनसम्म पढाउने विद्यालय स्थापना गरिएको थियो । भवन थिएन । पालमुनी विद्यार्थी राखेर पढाउनुपथ्र्यो । त्यो बेलामा कक्षा चार पास भनेको पनि धेरै नै मानिन्थ्यो । अहिले जस्तो पढेलेखेका मान्छे पाउन पनि मुस्किल थियो । कक्षा ४ उत्तीर्ण भएकाले मैले कक्षा तीनसम्म पढाएँ । हामीले नै त्यो विद्यालय स्थापना गरेका थियौं । विद्यालय दर्ता र नाम भने राखेकै थिएनौं । अहिले के भएको छ मलाई त्यो विषयमा थाहा छैन । त्यतिबेला तलब भनेर पैसा हुँदैनथ्यो । अभिभावकले धान–चामल दिएर पढाउन लगाउँथे । हाम्रो तलब भनेको धान चामल हुथ्यो । तीन वर्षसम्म मैले अध्यापन गराएपछि म वीरेन्द्रनगर नै
फर्किएँ ।
मेरो घर वीरेन्द्रनगर–१२ साविकको जर्बुटा–११ मा थियो । हाल वीरेन्द्रनगर–२ जयपुरमा पर्छ । मैले यो पेसा गर्न लागेको १० वर्ष भयो । त्यहाँ भन्दा पहिला मैले २०५३ सालदेखि अस्पतालमा कार्यालय सहयोगीको रूपमा काम गरें । १० वर्ष त्यहाँ काम गरेको भए पनि लोकसेवाको बहाना बनाएर मलाई निकालियो । त्यो सम्झदा मलाई दुःख लाग्छ । मैले केही वर्ष आईएनएफमा पनि सेक्युरिटी गार्डको रूपमा काम गर्थें । मैले दिउँसोको समयमा बजारमा जुत्ता चप्पल सिलाउँथे र रातीमा अस्पतालमा काम गर्थें । त्यो बेलामा कमाइ पनि राम्रै हुन्थ्यो । अहिले पनि जुत्ता चप्पल मात्रै सिलाएरै गुजारा त गरेको छु । दिनमा पाँच सय जति कमाउने गरेको छु । पाँच जनाको परिवारलाई राम्रैसँग पालेको छु ।
म मेरो पेसाप्रति एकदमै सन्तुष्ट छु । पुख्र्यौली पेसा हो । मलाई यो पेसाप्रति कुनै अपसोच छैन । तर कहिले काहीं आफूसँगै पढेका साथीहरू डाक्टर, स्थायी शिक्षक भएका छन् त्यो देख्दा मेरो ईच्छा पूरा नभएको सम्झना आउँछ । तर पनि म मेरो पुख्र्यौली पेसाप्रति सन्तुष्ट छु । पेसा जुनसुकै गरे पनि ईमान्दारिता हुनैपर्छ । हुन त समाजमा डाक्टर, पाइलट, इन्जिनियर पेसा गर्नेको मात्रै मान्यता छ । तर पनि जस्तोसुकै पेसा अपनाए पनि सबैको आ –आफ्नो ठाउ“मा मान्यता छ । सबै पेसा एकअर्काप्रति सम्बन्धित छन् । सबैलाई सबैको आवश्यकता पर्दछ । मलाई मेरो पेसाप्रति हिनताबोध कहिल्यै भएन । म बाँचुञ्जेल यो पेसालाई अपनाउन चाहान्छु । पुख्र्यौली पेसालाई सबैले सम्मान गर्नुपर्दछ । यसलाई समयको माग अनुसार व्यवस्थित गर्न पाएको भए मेरो मनको ईच्छा पूरा हुने थियो ।
साझा बिसौनी ।