शिक्षा दिवस, नारा र अबको बाटो
डा.दिपक गौतम
राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल शिक्षक महासंघ सुर्खेतको सक्रियतामा शिक्षकहरूबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । ‘समाजवाद उन्मूख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारा या शीर्षक या सार या भाव या केन्द्रीय कथ्यमा बीस जना विभिन्न स्तरका शिक्षकहरूले वक्तृत्वकलामा भाग लिएका थिए । शिक्षकहरू दर्शक बन्ने र विद्यार्थीहरूलाई बोल्न लगाउने यसअघिको चलनलाई शिक्षकहरूले बोल्ने गरी विस्थापित गरेर नयाँ परिपाटी र सिर्जनशीलताको थप नयाँ उदाहरण दिए । प्रतियोगितामा सहभागि शिक्षकहरूले उत्साहपूर्वक नाराको भावलाई आफू अनुकूल तर मौलिक र भिन्न स्वरूपमा अभिव्यक्ति दिए ।
महासंघ सुर्खेतका कृष्णबहादुर थापाले बदलिदो परिस्थितिमा सबै तहका सरकारले शिक्षाको यथार्थ सरोकारवाला शिक्षकहरूको भावनाको प्रतिनिधित्व गर्नुपर्ने नत्र नाराको औचित्य नहुने जिकिर गरे । तीर्थजंग शाहीले सरकार यथार्थ धरातलमा टेकेर जानुपर्ने विचार राखे र शान्ती ढकालले वक्ताबाट धेरै शिक्षा ग्रहण गरेको कुरा राखिन् । पीताम्बर ढकालले समाजवाद नेपाली हावापानीमा नचले वास्तविक समाजवाद नआउने कुरा राखे । राजेन्द्र गौतमका अनुसार हात्तीको जस्तो समाजवादको परिभाषा रहेको धारणा राखे । वक्ताका उपलब्धि र सीमाको मूल्यांकन परख गर्दा त्यसपछि कार्यान्वयनका सन्दर्भमा यो प्रस्तुत आलेख केन्द्रित गर्नु अनिवार्य र अपरिहार्य यसरी देखिएको छः
नेपालको संविधानको प्रस्तावनामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न संविधान जारी गरिएको उल्लेख गरिएको छ । संविधानकै भाग ४ को धारा (५०) को तीनमा नेपाली राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्न राज्यलाई उद्देश्य दिइएको छ । यहाँ शासन व्यवस्था, लोकतान्त्रिक विधि प्रक्रिया, समाजवादप्रतिको कटिबद्धता समृद्ध अर्थतन्त्रको कारक हो । समाजवादविना समृद्ध राष्ट्र निर्माण नहुने निश्कर्ष छ । समाजवादका आधार लोकतन्त्र हो । समाजवाद समृद्ध राष्ट्र निर्माणको जग हो । त्यसो भए के हो त समाजवाद ?
नेपाली बृहत शबदकोशमा देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिइ सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ता साधनमा समाजको साझा अधिकारको राजनीतिक सिद्धान्तलाई समाजवाद हो भनिएको छ । यसले श्रमयुक्त उत्पादन र उपभोक्ताका साधनमा भनेको श्रम, जमिन, जल, कृषि, शिक्षाका क्षेत्रमा साझा अधिकार प्रत्याभूत राजनैतिक दर्शन नै समाजवाद भन्ने अर्थ खुल्दैछ । अक्सफोर्ड शब्दकोशमा राज्यको प्रत्येक नागरिकसँगको सम्पत्ति र त्यसको सरकारी उद्योगहरूको समान अधिकारसहितको राजनैतिक र आर्थिक सिद्धान्तलाई समाजवादले प्रत्येक, नागरिकको अधिकारमा समाजनताको अंगाल्ने राज्य व्यवस्थालाई बुझाएको छ । यसैगरी क्याम्ब्रिज शब्दकोशले सबै जनता बराबर हुन्छन् र देशको सम्पत्ति बराबरी अवस्थामा ग्रहण गर्ने मूल्य–मान्यताको व्यवस्थालाई वा प्रबन्धको प्रणालीलाई समाजवाद हो भनेको छ । यहाँ उल्लेख गरिएका कोशका सन्दर्भबाट समाजवाद भनेको देशको सम्पत्तिमा सबै नागरिकको समान हक हुने र त्यसको पहुँचमा समान रहने राजनैतिक आर्थिक व्यवस्थालाई समाजवाद हो भन्ने निश्कर्ष लाग्नसक्छ ।
सिद्धान्तः समाजवादको व्याख्या सही भए पनि त्यसका प्राप्तीका बाटाहरू एकदमै भिन्न छन् र समकालीन विश्व व्यवस्थामा अमेरिकी समाजवाद, चिनियाँ समाजवाद, भारतीय समाजवाद, नर्वेको समाजवाद, कोरियाली समाजवादका प्राप्ती विधि फरक छन् । नेपाली कांग्रेसको समाजवाद कोही नेपाली भोको नांगो नराख्ने शान्ति स्थितिको राज्यव्यवस्था समाजवाद हो । माक्र्सको समाजवाद योग्यता अनुसारको ज्याला व्यवस्थाको समाजवाद हो । वर्ग रहँदासम्म समाजवाद वर्गीय संघर्षबाट प्राप्त हुन्छ । पूँजीवादी समाजवादमा उद्योगको विकास गरे त्यसको आय देशमा लगाए समाजवाद आउँछ । नेपालको संविधानले प्रगतिशील अर्थतन्त्र, प्रजातान्त्रिक मूल्य मान्यता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन, समृद्ध राष्ट्र निर्माणपछि समाजको दिशातिर जाने कुरा मार्गदर्शन गरेको छ ।
यसपछि प्रस्तुत नारातर्फ लाग्ने आवश्यक छ । समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणको आधार पाँच वटा पदावलीले समृद्ध राष्ट्र निर्माणपछि राष्ट्रको राज्यव्यवस्था अर्थात् राजनीति र अर्थतन्त्र समाजवादको दिशातिर मुखतिर लाग्ने आशय लिएको छ । समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणका आधार वा जग वा कोशेढुंगाका रूपमा दक्ष जनशक्ति विकास र दिगो शैक्षिक पूर्वाधार हो भन्ने किटान गरिएको छ । त्यसो भए के हो त दक्ष जनशक्ति ? के हो त दिगो शैक्षिक पूर्वाधार ? राष्ट्र निर्माण के दक्ष जनशक्ति र दिगो शैक्षिक पूर्वाधारबाट मात्र हुन्छ ? अवश्य हुन्छ तर सम्पूर्णतामा हैन । त्यसो भए के हो त राष्ट्र निर्माण ?
राष्ट्रिय एकता तथा सुरक्षा, सद्भाव, सहिष्णुता, ऐक्यवद्धता, मानवीय सुरक्षा, राष्ट्रिय आवश्यकता, नागरिक, राजनीति, शासनव्यवस्था, समाज–संस्कृति, अर्थव्यवस्था, विकास, प्राकृतिक स्रोत साधन, श्रम, रोजगार, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्यबाट एउटा राष्ट्र बनेको हुन्छ । राष्ट्र निर्माणको मूलभूत साधनहरू यिनै हुन् । राष्ट्र साध्य हो । राष्ट्रको समस्या एउटै हुनाले अन्तर्राष्ट्रिय नीति र कुटनीति एउटै हुन्छ । राजनीति फरक हुनसक्छ, पार्टीहरू अलग हुनसक्छन् । हिजोको राणाकाल, राजाकाल र बहुदल नेपाली राष्ट्रका शैली फरक थिए तर राष्ट्र एउटै थियो, आवश्यकता एउटै र साझा थियो । त्यसकारण अन्तर्राष्ट्रिय नीति सरकार, व्यवस्था फेरिदैमा फेरिएको हुन्न । संक्रमणककालीन समयमा मात्र फेरिएको देखिनसक्छ । यसकारण यहाँ दक्ष जनशक्ति विकास र दिगो शैक्षिक पूर्वाधारका बारेमा मात्र विमर्श हुनु उचित लाग्दैछ ।
दक्ष भनेको योग्य, सक्षम, विशेषज्ञ, सिपालु, कुशल हो । दक्ष जनशक्ति भनेको कुनै खास विषय वा क्षेत्रमा कुशल जनताको शक्ति हो । अहिले नेपालबाट दक्ष जनशक्ति विदेश पलाएन भइरहेको खास समस्या छ । प्रस्तुत शीर्षकका सन्दर्भमा सबै क्षेत्रका जनशक्तिको विकास भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने निश्कर्ष सही हो । दक्ष जनशक्ति विकास वा निर्माण वा स्तरणका लागि शिक्षा पहिलो साधन हो । शिक्षाको विकासका लागि पनि पूर्वाधार विकास र वातावरण सापेक्ष निर्माण चाहिन्छ । शिक्षा पूर्वाधार भन्नाले शिक्षक, शिक्षा निती, पाठ्यक्रम, पाठ्यपुस्तक, कर्मचारी, भौतिक सेवा सुविधा, सामाजिक सम्मान, मान, पुरस्कार, सरुवा, बढुवा स्थायित्व जस्ता पक्षहरू अनिवार्य हुन्छन् ।
सरकारले पूर्वाधार विकासका लागि सबैभन्दा बढी बजेट विनियोजन गर्नुपर्छ । सरकारले जीवनोपयोगी शिक्षा, समयसापेक्ष शिक्षा, समस्यामा आधारित शिक्षा दिनुपर्छ । शिक्षा गुणस्तरीय, सर्वसुलभ, समान हुनुपर्छ । शिक्षा वातावरणमैत्री नभए त्यो दिगो बन्न सक्दैन । आजका शिक्षकहरू अपमानित छन् । पैसा कमाउने ठूलो र ज्ञान छैन अपहेलित छन् । तिरस्कृत छन् । बोर्डिङका प्रिन्सिपलका घर विशाल छन् सरकारी शिक्षकका छाप्रो छन् । स्वास्थ्यको अधिकार सुनिश्चित छैन । यसकारण गुणस्तरीय शिक्षा वातावरण–समाजमैत्री शिक्षासहितको पूर्वाधार विकासद्वारा दक्ष शैक्षिक जनशक्ति निर्माण गरी राष्ट्र निर्माण गरेपछि अर्थात् राजनैतिक आर्थिक, सामाजिक शैक्षिक अंगलाई दक्ष, सक्षम, योग्य, भरपर्दो सिर्जनशील हुनु नै राष्ट्र निर्माण हो । यस्तो राष्ट्र निर्माण उता राष्ट्र समाजवादमा गइ नेपाली कोही पनि नागरिक अभाव, गरिबी, छुवाछुत विभेदको नाटकीय जीवन जिउने छैन । अन्तत्वगत्वा नेपाल विश्वकै उच्च, उन्नत र सम्मानित राष्ट्र बन्नसक्छ ।
साझा बिसौनी ।