यी हुन्, कर्णालीका विज्ञ

‘प्रदेश सरकारको मस्तिष्क बनेर काम गर्छौं’

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ भदौ ।
कर्णाली प्रदेश सरकारले कर्णालीको एकीकृत विकासका लागि सहयोग लिन विज्ञ समूह गठन ग¥यो । यो सरकारलाई आवश्यक सहयोग गर्ने सल्लाहकार समूह हो । जसले कर्णालीको विकासका लागि आवश्यक योजना बनाउने र सरकारलाई सुझाव दिने काम गर्ने जनाइएको छ ।
उक्त समूहले आफ्नो कामको सुरुवात समेत गरिसकेको छ । विज्ञ समूहको बैठक काठमाडौंमा बसेको र काठमाडौंमा नै सम्पर्क कार्यालय स्थापना गरेर काम गर्न थालेको भन्दै नागरिकस्तरबाट आलोचना समेत भइरहेको छ भने कतिपयले विज्ञ समूहका सदस्य छनौटका विषयमा पनि आलोचना गरेका छन् । यसै सन्दर्भमा रहेर हामीले विज्ञ समूहका सदस्यहरूको बारेमा जानकारीमूलक यो सामग्री तयार पारेका छौं । समूहका सदस्यहरू काठमाडौंमा रहेकाले हामीले टेलिफोन सम्पर्कमा उपलब्ध आठ जनासँग कुराकानी गरेर यो सामग्री तयार पारेका हौंः
डा. सुरेन्द्र उप्रेती
उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–४ ठिमीका स्थायी बासिन्दा हुन् । वि.सं. २०३० सालमा जन्मिएका उनी हाल त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा कार्यरत छन् । विद्यावारिधी गरेर लामो समयदेखि विश्वविद्यालयमा शिक्षण गरिरहेका उनले विगतका १० वर्ष पूर्वाधार र विकास अर्थशास्त्रका क्षेत्रमा काम गरेका छन् । पूर्वाधार र अर्थतन्त्रका विज्ञ उप्रेतीले कर्णालीको पूर्वाधार विकास र सामाजिक विकासमा योजनासमेत बनाएका छन् । कर्णालीको समृद्धिका लागि जलस्रोत नै पहिलो आधार भएको उनी बताउँछन् ।
बालानन्द पौडेल
विज्ञ समूहका सदस्य पौडेल पर्वत जिल्लाको कुस्मा नगरपालिका–१४ का हुन् । वि.सं. २०२० सालमा जन्मिएका उनले व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । नेपाल राष्ट्र बैंकको अधिकृत, नेपाल सरकारको सचिवका साथै स्थानीय तह पुनर्संरचना आयोगको अध्यक्ष भएर काम गरेको अनुभव पौडेलसँग छ । उनले कर्णाली प्रदेशमा सरकारको बनावट, संरचना कस्तो रहने भन्नेबारेमा सुझाव दिने योजना बनाएका छन् ।
‘नयाँ संरचनामा कर्णाली प्रदेशलाई सघाउन मेरो भूमिका रहन्छ’ उनले भने, ‘प्रदेश सरकार स्थानीय तहमा कसरी जाने, सेवा वितरण प्रणाली, जनतालाई पहुँचमा कसरी ल्याउने भन्ने बारेमा सहयोग रहनेछ ।’
सुरेन्द्रबहादुर शाह
रुकुमको मुसिकोट नगरपालिकाका सुरेन्द्रबहादुर शाह पनि विज्ञ समूहका अर्का सदस्य हुन् । २०१९ सालमा जन्मिएका उनी नेपाल प्रहरीबाट सेवा निवृत्त भएका छन् ।
विगत ३० वर्ष नेपाल प्रहरीमा कार्यरत उनी अतिरिक्त महानिरीक्षक (एआईजी) पदबाट २०७३ फागुनमा सेवा निवृत्त भएका हुन् । उनले शान्ति सुरक्षा र प्रशासनिक सुधारका क्षेत्रमा आवश्यक नीति, ऐन, कानून निर्माणमा सुझाव दिने बताए । भौगोलिक विकटताका कारण असुरक्षित महसुस गरिरहेका कर्णालीबासीका लागि सुरक्षित बनाउन समूहमार्फत् योगदान पु¥याउने उनको भनाइ छ ।
डा. कृष्णप्रसाद पौडेल
ललितपुर महानगरपालिका–२५ का डा. कृष्णप्रसाद पौडेलले विगत १० वर्ष कर्णालीको कृषि क्षेत्रमा काम गरे । विगत २५ वर्ष सामुदायिक वन, कृषि र नेपालको खाद्य प्रणाली सम्बन्धी कार्य गरेको अनुभव उनीसँग छ । वि.सं. २०१९ सालमा जन्मिएका उनले कृषिमा स्नातकोत्तर गरेका छन् । बेलायतबाट समाजशास्त्र संकायमा विद्यावारिधी (पीएचडी) गरेका उनलाई प्रदेश सरकारले कृषि क्षेत्रको विज्ञका रूपमा समूहमा समावेश गरेको हो । कृषि क्षेत्रमा कर्णालीलाई अब्बल बनाउने गरी काम गर्ने उनले बताए ।
मुक्ति प्रधान
मुक्ति प्रधान नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता हुन् । दोलखा जिल्लाका उनी कानूनविज्ञको रूपमा कर्णाली प्रदेश सरकारको विज्ञ समूहमा छनौट भएका हुन् । उत्पीडित व्यक्ति र जनताका अधिकार स्थापित सम्बन्धी कानूनमा विद्यावारिधी गरेका उनीसँग तीन दशकभन्दा लामो समयदेखि कानूनी क्षेत्रमा काम गरेको अनुभव छ । उनले कर्णाली प्रदेश सरकारको अपेक्षा अनुसार काम गर्न प्रतिबद्ध रहेको बताए ।
जनार्दन शर्मा
शर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हुन् । नेपाल सरकारका पूर्वगृहमन्त्रीसमेत रहेका उनी पटक–पटक मन्त्री भइसकेका व्यक्ति हुन् । कर्णाली प्रदेशको पश्चिम रुकुमका शर्मासँग सशस्त्र युद्धदेखि संसदीय राजनीतिको लामो अनुभव छ ।
शर्माले कर्णालीको एकीकृत विकासका लागि सबैभन्दा पहिला योजना बनाउने र त्यसलाई कार्यान्वयन गरिने बताए । उनले सबै क्षेत्रका विज्ञहरूको सहभागितामा बनेको विज्ञ समूहले कर्णाली विकासको मोडेल बनाउने बताए । शर्माले कर्णाली प्रदेश सरकारको मस्तिष्कको रूपमा समूहले काम गर्ने जनाए ।
डा. पदमबहादुर शाही
सडक पूर्वाधार र यातायात क्षेत्रमा अनुभव संगालेका सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका रामघाटका डा. पदमबहादुर शाही पनि विज्ञ समूहका सदस्य हुन् । हाइवे र ट्राफिक विषयमा रसियाबाट विद्यावारिधी गरेका उनी वि.सं. २०२२ सालमा जन्मिएका हुन् । कर्णालीको विकासका लागि सडक पूर्वाधार अति आवश्यक रहेको उनी बताउँछन् ।
गोविन्दप्रसाद शर्मा
उनी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का स्थायी बासिन्दा हुन् । वि.सं. २०३० सालमा जन्मिएका उनले थाइल्याण्डबाट जनस्वास्थ्य विषयमा विद्यावारिधी गरेका छन् । उनीसँग थाइल्याण्ड र क्यानडाका विश्वविद्यालयमा अध्यापन गरेको अनुभव पनि छ । कर्णालीको स्वास्थ्य र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा आफूले भूमिका निर्वाह गर्ने उनी बताउँछन् । राज्यले लगानी गर्नसक्ने नीति निर्माण गर्न नसक्नुले कर्णाली पछिपरेको उनले बताए ।

प्रकाशित मितिः   २५ भाद्र २०७५, सोमबार १८:१३