राजनीतिमा भविष्य खोज्दै चक्र

ठाँटीकाँध गाउँपालिका–५ दैलेखमा बुबा वीरबहादुर शाही र आमा पद्मा शाहीको कोखबाट वि.सं. २०४६ साल असार २० गते जन्मिएका चक्रबहादुर शाही घरका जेठा छोरा हुन् । पढाइमा सानैदेखि मध्यम खालका चक्रको ठूलो भएपछि शिक्षक बन्ने सपना थियो । उनका बुबाआमाको पनि छोरा भविष्यमा शिक्षक बनोस् भन्ने ईच्छा थियो । शिक्षक बन्ने सपना बोकेरै वि.सं. २०६३ सालमा एसएलसी उत्तीर्ण गरेपछि सुर्खेत झरेका चक्रको कलेज पढ्दै गर्दा सपना बदलियो । कलेज लाइफमा आएपछि राजनीतिमा लागेका चक्रले भविष्यमा राजनीतिबाटै समाज सेवा गर्ने नयाँ सपना बुनेका छन् । सुर्खेत क्याम्पस शिक्षाका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिसमेत रहेका शाहीले आफ्नो कलेज लाइफको कथा साझा बिसौनी सहकमर्मी सीता वलीसँग यसरी सुनाएः

लजालु स्वभाव
म सानैदेखि एकदमै लजालु स्वभावको थिएँ । घरमा कोही नयाँ पाहुना आउने बित्तिकै म भागिहाल्थें । तर अहिले मेरो स्वभाव विल्कुलै फरक भएको छ । पढाइ र उमेरको वृद्धिसँगै मेरो उक्त स्वभाव पनि बदलिएको छ । मैले विद्यालयस्तरको शिक्षा कालिका उच्च माध्यमिक विद्यालय तीलापाटा दैलेबाट लिएको हुँ । विद्यालयस्तरमा पढ्दा समेत म अति नै लजाउँथे । गाउँमा जन्मिएको मान्छे, धेरै मान्छेहरूसँग घुुलमिल पनि हुँदैन थिएँ । तर जब म वि.स. २०६३ सालमा एसएलसी पास गरेर सुर्खेतमा उच्च शिक्षा अध्ययनको लागि आएँ तबदेखि नै पहिले जसरी लजाउने स्वभाव हराएको हो । त्यसैले मेरो अभिभावकहरूले पनि कहिले काहीं भन्ने गर्नुहुन्छ, ‘यसको लाज त कलेजले लग्यो ।’ अहिले सम्झदा आफैलाई हाँसो लाग्छ ।
मेरो बुबा व्यापार गर्नुहुन्छ । आमाको मृत्यु भएको १२ वर्ष भयो । हामी घरमा सात भाइबहिनी हौं । म भन्दा अगाडि मेरो दिदी हुनुहुन्छ । म अरु पाँच भाइबहिनीको अभिभावक हुँ । गाउँमा पढेको धेरैसँग घुलमिल हुन पनि नपाएर होला म लजालु स्वभावको भइरहें । जबदेखि मेरो कलेज लाइफ सुरु भयो नबोली सुख्खै भएन । हरेक कुरा आफैले गर्नुपर्ने । म भन्दा अगाडि कोही पनि नभएकोले गर्दा मैले नै सबै काम गर्नुनपर्ने भयो, कामले नै मलाई परिपक्क बनाउँदै ल्यायो । आजभोलि कसैसँग घुलमिल हुन मलाई समय नै लाग्दैन । सबैसँग उत्तिकै बोल्ने गर्दछु र छिटै घुलमिल हुनसक्छु ।
कलेजको पहिलो दिन
विद्यालय पढ्दा कलेज लाइफको बारेमा मनमा निकै कौतुहलता हुन्थ्यो । के होला ? कस्तो होला ? भन्ने भइरहन्थ्यो । तर कलेजको पहिलो दिन मैले हैरानी खेपें । मैले अलिक ढिलो नाम लेखाएको थिएँ त्यसैले मेरो सेक्सन सी परेको थियो । म कलेज गएँ तर पहिलो दिन बि सेक्सनमा गएर बसेछु । कक्षा कोठामा चिनेको कोही देखिनँ । अचम्म लाग्यो । तर पनि म त्यही बसिराखें । पढिसकेर बाहिर आउँदा चिनेका साथीहरू अर्को कोठाबाट निस्किंदा आफैलाई लाज लाग्यो ।
पहिलो दिन खासै चिनेका र मन मिल्ने साथीहरू कोही भेटाइन् । त्यसैले पनि होला खासै रमाइलो महसुस भएन । गाउँबाट झरेको म, कलेजमा हजारौं विद्यार्थी देख्दा अचम्म पनि लाग्यो । कलेजबाट फर्कदा खासै रमाईलो भएन ।
कलेज बाहेक घरमा त्यही पनि म पढाइमै ध्यान दिन्थें । अहिले त खासै पढ्ने समयनै हुँदैन । मलाई कलेज लाइफको सबैभन्दा मन पर्ने पक्ष भनेको धेरै क्षेत्रका साथीहरूसँग भेटघाट हुन्छ । कलेजको नराम्रो पक्ष भनेको विद्यालय जस्तो अभिभावक र शिक्षकबाट निगरानी हुँदैन । जसले गर्दा विद्यार्थी गलत बाटोमा लाग्न सक्ने डर पनि हुन्छ ।
फेल भइनँ, राम्रो अंक पनि आएन
मेरो बुबा–आमाले मलाई एसएलसी पास भएपछि प्राविधिक शिक्षा पढाउने सोच्नुभएको थियो । मैले पनि एकपटक विचार त गरेको हुँ । तर प्राविधिक विषय दुई÷तीन वर्ष पढेपछि सकिन्छ भन्ने डरले मैले त्यता नपढी क्याम्पस भर्ना भएँ । मैले नेपाली विषय लिएर पढें । बुबा–आमाले पनि मेरो ईच्छालाई कदर गर्नुभयो । म पढाइमा मध्यम खालको हुँ । फेल भएका अनुभव त छैन तर राम्रो अंक पनि खासै कहिल्यै आएन ।
अनि सपना बदलियो
विद्यालय पढ्दाको मेरो सपना शिक्षक बन्ने थियो । बुबा–आमाले पनि मलाई छोरोले जागिर खाओस् भन्ने चाहानुहुन्थ्यो । मैले पनि शिक्षक बन्ने उद्देश्य बोकेरै उच्च शिक्षाको लागि जिल्ला छोडेको थिएँ । तर मेरो सपना कलेज लाइफमा आउँदा बदलियो ।
कलेज लाइफमा मेरो संगत राजनीति गर्नेहरूसँग बढी हुन थाल्यो । जसले गर्दा पनि म राजनीतिमा होमिएँ । २०७३ साल फागुन १८ गते भएको सुर्खेत क्याम्पस शिक्षाको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमार्फत् सभापतिमा निर्वाचित भएँ । त्यसपछि मेरो राजनीतिक करियर सुरु भयो । अब मेरो जागिर खाने लक्ष्य नै छैन । राजनीतिबाटै नै समाज र देशका लागि योगदान गर्ने इच्छा छ । अबको मेरो सपना भनेकै यही हो । ठूलो पदको लागि भनेर म राजनीतिमा लागेको पनि होइन । राजनीतिबाट समाज सेवा गर्नको लागि राजनीतिमा छिरेको हुँ । मेरो अन्तिम ईच्छा नै अब राजनीति हो ।
जीवनको अविष्मरणीय दिन
जतिबेला म कक्षा ११ मा सुर्खेत क्याम्पस शिक्षामा भर्खर भर्ना भएको थिएँ । २०६३ साल भदौ १२ गते दैलेखमा आमा बिरामी भएको खबर आयो । म घर गएँ, आमाको मृत्यु भयो । त्यो दिन मेरो जीवनको अविष्मरणीय क्षण हो । मेरो जन्मदिने आमालाई कसरी भुल्न सक्छु र, हरेक पल आमाको याद आउँछ । त्यो दुःखको क्षणलाई म चाहेर पनि भुल्न सक्दिन ।
जीवनमा दुःख मात्रै होइन सुखको क्षण पनि आउँदो रहेछ । विस्तारै जीवनका दुःखलाई बिर्सेर सुखलाई अंगाल्न पर्ने मानवको बाध्यता । मैले आमा गुमाएको दश वर्ष पछि २०७३ सालमा आएर मेरो जीवनमा खुसे छायो । सायद मेरो आमा भएको भए त्यो खुशीमा कति खुशी हुनहुन्थ्यो होला । म सुर्खेत क्याम्पस शिक्षाको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएँ । त्यो दिन मेरो जीवनकै खुशीको दिन थियो । अहिले पनि मेरो कार्यकाल सकिएको छैन । सुर्खेत क्याम्पस शिक्षामा स्नातकोत्तर प्रथम सेमेष्टारमा पढ्दैछु ।

प्रकाशित मितिः   २३ भाद्र २०७५, शनिबार १४:५४