दर
खोपिराम लम्साल
ड्याउ डकारेर फुस्स मुखबाट हावा निकाल्न सिपालु, गेस्टिक समेतले पेट भरिएकी चुच्चेकी चाम्रीले घर आएर अर्काको घरको दरको बयान गर्ने र आफ्नो र आफ्नै घरको दर घटाउन सिपालु हुन थालेको दरखाने दिन भन्दा एक महिना पहिले देखिनै हो ।
गहना प्रतियोगितामा भाग लिएर हारेको प्रतियोगी झै महसुस गरेर के गर्नु आफू भन्दा कमजोर आर्थिक भएकाले पनि आफूलाई गहना लगाउनमा जिताएर मेरो अघि–पछिको शानको दर घटाएँ भनेर चिन्तामा थिइ ।
सुनको दर पनि कति बढेको हौ ? एक सेट पनि जोड्न नसकेर नाक–कान, औंला बुच्चै राख्नु पर्दा उनीहरुको समेत दर घटेको वर्णन एकान्तस्थलमा गर्दै थिइ । दर खाएर पनि मन शान्त पार्न नसकेकीलाई चुच्चेले पनि दरै तरिकाले सोधेछ, ‘के भो दर पुगेको छैन भने घरमा बचेको त्यही दर्रे (च्याँख्ला) पकाऊँ ?’ चाम्री पनि के कम थिइ र दरै तरिकाले टाउको हल्लाउँदै दर खाएर आएको थाहा पाएर ‘दर्रे पकाऊँ भन्ने, अरु दिन मैंले पकाउँछु भनेर सोध्या छौ ? सधैं हेपेको हेपै । हामी स्वास्नी मानिसको दर घटाउने त यिनै लोग्नेमान्छे ग¥या छन्’ भनी दर्जनौं दरोकार र सरोकारवाला मिसिलको चाङ थुपारी ।
विचरो चुच्चे चुप्प लागेर आफ्नै दर घटेको सम्झेर पनि अरुको दरको महात्म्य सुन्न थाल्यो । सुनदेखि नुनसम्म, पिउनदेखि तिहुनसम्म, बोक्सीदेखि रक्सीसम्म, जातदेखि भातसम्म, पण्डादेखि गुण्डासम्म, जोगीदेखि भोगीसम्म, नेतादेखि ज्येथासम्म, तन्त्राणीदेखि मण्त्राणीसम्म, मासुदेखि सासुसम्मको दर बढेको र सार्वभौमको सफारी लगाइ न खुट्टामा मोजा न त टाउकामा पगरी गुथेकाको मात्र दर घटेको महात्म्य सुन्दा सुन्दै भोको पेट भुसुक्क निदाएछ,तर मध्यरातमा सपनामा उसले दर खाएको कुरो भोलि बिहान सुनाउँछ कि नाइ !
साझा बिसौनी ।