शिक्षक बन्ने लक्ष्य

पञ्चपुरी नगरपालिका–५ सुर्खेतकी अस्मिता खनाल वि.सं. २०५१ साल मंसिर २३ गते बुबा नारायणप्रसाद खनाल र आमा देवीसरा खनालको कोखबाट जन्मिएकी हुन् । बाल्यकालमै आमाबुबा गुमाएकी अस्मिताका अभिभावक उनका दाई ढलकप्रसाद खनाल हुन् । बुबाआमा गुमाए पनि दाईदिदीको माया र सहयोगले जीवन सार्थक भएको बताउने अस्मिताको भविष्यमा शिक्षक बन्ने ठूलो सपना छ । समाज सेवामा समेत रुची राख्ने अस्मिता राजनीतिमा पनि सक्रिय खनालले आफ्नो कलेज लाइफ साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी साटिन् ः

म वि.सं. २०५१ साल मंसिर २३ गते बुबा नारायणप्रसाद खनाल र आमा देवीसरा खनालको कोखबाट जन्मिएकी हुँ । हामी पाँच बहिनी मध्ये म घरकी काइली छोरी । जेठो दाइ बेपत्ता हुनुभएको धेरै भयो । कान्छो दाइ अस्थायी शिक्षक हुनुहुन्छ ।
म कक्षा ६ मा पढ्थे मेरो आमाको मृत्यु भयो । आमालाई क्यान्सर रोग लागेको थियो रे । म कक्षा ९ मा पढ्दा हृदयघातबाट बुबाको नधिन भयो । त्यसपछि हामी सात भाइबहिनीको पूरै जीवन अन्धकार भयो । तर हामीहरूले हिम्मत हारेनौं । विशेषत मेरो दाइ ढकप्रसाद खनाल उहाँको कारण म आज यो स्थानमा आएकी छु । तीन बहिनी दिदीहरूले त बिहे गरिसक्नुभयो तर म र मेरो दाईले घरजग्गा बेचेर पढेका हौं । दाईले हरेक दुःख सुखमा साथ दिनुहुन्छ । बहिनी पनि छ उसलाई एउटा संस्थाले सहयोग गरेको छ । ऊ अहिले काठमाडौंमा बसेर पढ्छे ।
म आज जे छु मेरो दाइको कारणले भएको हुँ । मेरो आँट, साहास, साहारा मेरो दाइ नै हुनुहुन्छ । मलाई बुबाआमाको अभाव हुन दिनुभएन मेरो दाइले । मलाई भौतिक दुःख त केही पनि भएन तर बुबाआमाको माया कस्तो हुन्छ जीवनमा अुनभव कहिल्यै भएन ।
कमर्श पढ्ने मन थियो नेपाली पढे
मलाई व्यवस्थापन संकायमा असाध्यै रुचि थियो । कमर्श पढेर बैंकमा जागीर खाने रहर आर्थिक अभावले पूरा हुन सकेन । घरमा ठूलो अभिभावक कोही पनि थिएन । मेरा कान्छो दाइ जो सानै भए पनि मेरो अभिभावक बन्नुभयो । मैले भनेको भए त दाइले जसरी पनि पूरा गर्नुहुन्थ्यो तर मैले आर्थिक अभावकै कारण नेपाली विषय लिएर पढे । अब मेरो रुचीको विषय बनेको छ, नेपाली । मलाई पढाइबाहेक अवसर पाएसम्म सामाजिक क्षेत्रमा पनि काम गर्ने मन छ । तर आजभोलि त समाज सेवामा पनि हुने खानेकै बाहुल्यता छ ।
म कलेज लाइफको राजनीतिमा पनी सक्रिय नै छु । नेपाल विद्यार्थी संघ (नेविसंघ) को शिक्षा क्याम्पस इकाई कमिटीको कोषाअध्यक्ष पनि हुँ ।
कलेजको पहिलो दिन
मैले विद्याज्योति माध्यमिक विद्यालय बावियाचौरबाट वि.सं. २०६९ सालमा एसएलसी उत्तीर्ण गरें । त्यसपछि कलेज लाइफ सुरु भयो । कलेजको पहिलो दिन सामान्य नै रह्यो । किनभने मैले विद्यालय तरमा पढेकै ठाउँमा कलेजलाइफको अुनभूति गर्न पाएको थिएँ । साथीहरू सबै चिनेजानेका थिए । सामान्य नै भयो त्यति रमाइलोको अनुभूति त मलाई कहिल्यै पनि हुँदैन । तर ब्याचूलर पढ्नको लागि सुर्खेत क्याम्पस शिक्षामा आउँदा भने अलिकति नर्भस भएकी थिएँ । नयाँ ठाउँ यो क्षेत्रका सबै विद्यार्थीहरूको जमघट हुने ठाउँ भएकोले नरमाइलो लागेको थियो । कस्तो होला भन्ने जिज्ञासा लागेको थियो तर पछि त्यो परिस्थिति सामान्य नै भयो । म अहिले सुर्खेत क्याम्पस शिक्षामा स्नातक तह (ब्याचूलर) चौथो वर्षमा अध्ययन गर्दैछु ।
विद्यालय र कलेजमा भिन्नता
कलेजको पढाइ र विद्यालयको पढाइमा मैले धेरै फरक पाएँ । विद्यालयस्तरमा अरुका लागि पढे जस्तो अनुभूति हुने । एकछिन भागेर वा शिक्षकको आँखा छलेर खेल्न जान पाए भन्ने लाग्थ्यो । तर कलेज लाइफमा त्यस्तो हुँदैन रै’छ । जे काम ग¥यो त्यसको परिणामका लागि मात्रै गरिन्छ । शिक्षकहरूको निगरानी विद्यालय जस्तो हुँदैन त्यो सम्भव पनि छैन । आफै अनुशासित हुनुपर्दछ । कलेजका नराम्रो पक्ष खासै त्यस्तो छैन । राम्रो पक्षहरू धेरै छनर नयाँ–नयाँ साथीहरूसँग भेट हुन्छ । भविष्य कोर्ने थलोको रूपमा मैले कलेज लाइफलाई लिएको छु । म कहिल्यै फिल्म हेर्न गएको छैन । घरमा पनि फिल्ममा त्यति रुची छैन । क्लास बंक त जीवनमा कहिल्यै गरिएन । कलेज बाहेक म घरमा तीन–चार घण्टा पढ्ने गर्दछु ।
प्रेमलाई मैले अभिभावक ठान्छु
प्रेम धेरै किसिमको हुन्छ । कसलाई कसरी गर्ने भन्ने तरिका माात्रै फरक हो । मैले जानेको प्रेम मेरो अभिभावकको लागि मात्रै हो । अन्यथा मैले प्रेम गरेको पनि छैन अनुभव पनि छैन । मेरो घरपरिवारलाई मैले सधैं माया गर्छु । विशेष गरी मेरो दाई ढलकप्रसाद खनाल जसले मेरो जीवनका लागि दुःख गर्नुभएको छ । बुबाआमाको मायामा कमी हुन नदिने मेरो दाइ, मेरा दिदीहरू र मेरो बहिनीलाई मैले प्रेम गर्न जानेकी छु ।
जीवनमा सुखको अनुभूति छैन

मलाई भौतिक दुःख त केही भएको छैन । तर बुबाआमाको काखमा रमाएर खानेबेलामा दुवैलाई गुमाउँदाको पीडा त मलाई जति कसलाई थाहा होला र । जीवनमा जति धेरै खुशीका क्षणहरू आए पनि कमै हुन्छन् यी पीडा । मलाई कहिल्यै खुशीको क्षण आए जस्तो लाग्दैन । आर्थिक अभाव, बुबा–आमाको अभावमा पनि जीवनमा बाँच्नैपर्ने रै’छ । अब मेरो जीवनको लक्ष्य शिक्षक बन्नु हो ।

प्रकाशित मितिः   १६ भाद्र २०७५, शनिबार १५:२७