यौन हिंसा र विद्यमान कानूनी व्यवस्था

शेरबहादुर खत्री ‘कञ्चन’

समुदायको विकास वा प्रगतिमा बाधा सिर्जना गर्ने खराब क्रियाकलापहरू सामाजिक समस्या हुन् । नेपाली समाजमा पितृसत्तात्मक सामाजिक मूल्य मान्यताको उपजको रूपमा दाइजो प्रथा, घुम्टो प्रथा, छाउपडी प्रथा, बोक्सी प्रथा, देउकी तथा झुमा प्रथाको कारण नेपाली छोरीहरू आज पनि महिलाहिंसा तथा यौन उत्पीडनको सिकार बन्न बाध्य भएका छन् । नेपाली छापाहरूमा प्रेमीबाट प्रेमिकाको हत्या, दाइजो नल्याएकोमा जिउँदै जलाइयो, बालिकाको बलात्कार गरी हत्या जस्ता नकारात्मक समाचारका शीर्षक हरेक दिनजसो पढ्न पाइन्छ । यसरी शीर्षक पढ्दा नै मनमा एक किसिमको अशान्ति पैदा हुन्छ । कुनै पनि आमाबाबुको चाहना हुँदैन कि मेरो छोरा बलात्कारी बनोस्, कसैले चाहँदैन कि मेरो छोरी बलात्कृत होस् । यसरी नचाहँदा नचाहँदै पनि बलात्कार जस्ता जघन्य आपराधिक घटनाहरू दिन प्रतिदिन बढिरहेका छन् । यसतर्फ हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ । महिलाहिंसालाई हरेक समाजमा मनोवैज्ञानिक, सामाजिक, आर्थिक, आपराधिक, सैद्धान्तिक र राजनीतिक कोणबाट विश्लेषण गरिन्छ । छोरीहरू यस कारणले बलात्कारका सिकार हुन्छन् भनेर तर्क सङ्गत निश्कर्षमा पुग्न सकिदैन । कहिले काहीं त आफ्नै बाबुबाट पनि छोरीहरू बलात्कृत भएको कुरा सुन्न र पढ्न पाइन्छ ।
समाजमा महिला हिंसा
हजारौं वर्ष अघिदेखि र आज पर्यन्त पनि नेपाली समाजमा पुरुषलाई महिलामाथि एक किसिमको प्रभुत्व जमाउनु परेको छ । जसलाई हाम्रो पछौटेपनबाट गुज्रिएको समाजले महिलामाथिको हिंसालाई सजिलै स्वीकार्छ वा मौन भएर बस्छ । घरभित्र श्रीमान्ले श्रीमतीलाई पिट्दा त्यो घरायसी मामिला बन्न जान्छ । कानूनी दायरामा सजिलै आउन सक्दैन । यसको अर्थ नजानिदो तरिकाले वा बाहिरी दुनियाँले थाहा नपाउने गरी समाजमा जघन्य अपराधिक घटनाहरू भइरहेका हुन सक्छन् । महिलामाथि हुने यौन उत्पीडन कानूनद्वारा निषेध, नैतिकरूपमा पतित र सामाजिक रूपमा अस्वीकार्य कार्य हो, तैपनि यो वा त्यो नाममा हाम्रो समाजले स्वीकार गरिरहेको छ । महिलामाथि हुने हिंसासँग व्यक्ति, परिवार, छरछिमेक, कार्यस्थल, समाज र समाजले आत्मसात् गरेका सांस्कृतिक मूल्य मान्यताहरू पनि जिम्मेवार छन् ।
पौराणिक मिथक अनुसार महर्षी गौतमको आश्रममा पसेर पत्नी अहिल्यालाई हिन्दुहरूका देवताहरूका पनि राजा इन्द्रदेवले बलात्कार गरेका थिए । हुन त महर्षी गौतमबाट पीडक र पीडित दुवैले श्राप पाए । तर घृणित छल गर्ने इन्द्रदेवले अन्य देवताको सहयोगमा श्रापलाई महŒवहीन बनाए र आफूलाई देवताहरूको राजा बनाईराखे । पीडित अहिल्याले इन्द्रबाट शारीरिक अत्याचार त खपिन नै, ढुङ्गा भएर हजारौ वर्षसम्म बाँच्नुप¥यो । यसरी बलात्कारसँगै कठोर सजाय र अपमानको पीडा भोगेकी अहिल्याको कथा सबैजसो बलात्कार पीडित नेपाली महिलाको कहानी हो (राजेन्द्र महर्जन, कान्तिपुर) । यस्तो वास्तविकतालाई हामी आँखिर किन सहन बाध्य छौं । किन हामी दोषीलाई दोषीको रुपमा करार गर्न हिच्किचाइरहेका छौं ?
विद्यमान कानून
महिलाको मन्जुरी नलिई वा इच्छाविपरित गरिने करणीलाई जबरजस्ती करणीको रूपमा परिभाषित गरिएको छ । जबरजस्ती करणीलाई विश्वका सबै देशको कानूनले आफ्नो देशको सामाजिक संरचनाको आधारमा भिन्न भिन्न परिभाषा गरिएको छ । महिलामाथि हुने यौन हिंसालाई संसारका सबै देशका कानूनले निषेध गरेका छन् । वि.सं. २०२० साल भाद्र १ गतेभन्दा अघि प्रचलित मुलुकी ऐनमा जबरजस्ती करणीमा विविध सजायको व्यवस्था गरिएको थियो भने २०२० साल भाद्र १ गतेदेखि लागू भएको मुलुकी ऐनमा भने आशय करणी, जबरजस्ती करणी, हाडनातामा करणी सम्बन्धी सजायको व्यवस्था गरिएको थियो । भारतको अपराध संहिताको धारा ३७५ बमोजिम स्वास्नी मानिसको इच्छा विपरित, मञ्जुरी नलिइ, मार्ने वा चोट पु¥याएमा वा लोग्ने नभएको व्यक्तिले, लोग्ने हुँ भन्ने विश्वास दिलाई, धोका दिई, स्वीकृती लिएर वा १६ वर्षमुनीकोलाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा जबरजस्ती करणीको अपराध मानेको छ ।
हाम्रो मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ७० (घ) मा पुरुष र महिलाको विवाह गर्ने उमेर २० वर्ष पूरा हुनु पर्ने व्यवस्था गरिएको छ भने मुलुकी अपराध (संहिता)को विवाह सम्बन्धी कसूर अन्तर्गत दफा १७३(१) मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी विवाह गर्न वा गराउन निषेध गरिएको छ । यसै ऐनको दफा २१९ ले निम्न करणीलाई जबरजस्ती करणी गरेको मानिने व्यवस्था गरेको छ । कुनै महिलाको निजको मञ्जुरी नलिई करणी गरेमा वा कुनै महिलाको मञ्जुरी लिएको भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई मञ्जुरी लिई वा नलिई करणी गरेमा जबरजस्ती करणी गरेको मानिएको छ ।
सजाय सम्बन्धी व्यवस्था
यस ऐनको दफा २१९ को उपदफा (३) अनुसार जबरजस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति, महिलाको उमेर हेरी निम्नतमदेखि अधिकतम हदसम्म कैद तथा जरिवानाको व्यवस्था गरिएको छ । सामूहिक जबरजस्ती करणी गर्नेलाई थप तीन वर्षसम्म कैद सजायको व्यवस्था छ ।
नैतिक तथा यौन शिक्षा
किशोरावस्थामा व्यक्तित्व विकासका लागि साथीसङ्गी, छरछिमेक, विद्यालय शिक्षाको अहम भूमिका हुन्छ । मानवीय मूल्य मान्यतामा आधारित नैतिक शिक्षा पाएका युवा युवतीहरू स्वस्थ र सभ्य व्यक्तित्व निर्माण गर्न सक्षम हुन्छन् । जब युवायुवतीहरूले एकआपसमा असल साथी, भाइबहिनीको रूपमा एकले अर्कालाई स्वीकार गर्छन्, तब किशोर किशोरीबीच अंकुरित प्रेम स्वच्छ प्रेमको रुपमा स्थापित
हुन्छ । यस्तो सकारात्मक सोचले जहिले पनि हिंसा, बलात्कार र झैझगडालाई अस्वीकार गर्छ र समाजलाई सभ्य सुसंस्कृत बनाउन सहयोग गर्छ । समयमै विद्यालय तहमा नै खुला यौन शिक्षा दिइएको भए र सुरक्षित यौन सम्पर्कको ज्ञान र कानूनी शिक्षा पाएको भए कम उमेरमा युवायुवतीहरू यौन गतिविधिमा लाग्ने थिएनन् । यस्ता जघन्य अपराधबाट छोरीहरूलाई बचाउन सकिन्थ्यो । यौन प्राकृतिक अभ्यास तथा जैविक आवश्यकता हो, इज्जत र सभ्यताको नाममा यौनको बारेमा खुलेर बोल्ने, छलफलको विषय बनाउन समाजमा बन्देज लगाइएको छ । नयाँ पुस्तालाई यौनको बारेमा खुलेर बोल्ने, छलफल गर्ने वातावरण बनाएमा यौनचाहनामा संयमित बनाउन सहयोग गर्छ भने अर्कोतिर शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक र भावनात्मक रूपले सन्तुलित जीवनयापन गर्न नयाँपुस्तालाई जिम्मेवारी बोध गर्न र गराउन नैतिक तथा यौन शिक्षाको महŒवपूर्ण भूमिका हुन्छ ।
निश्कर्ष
झण्डै १६५ वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गरी नयाँ कानून लागू भएको छ । यसले नेपाली समाजलाई सभ्य तथा सुसंस्कृत बनाउन मद्दत गर्नेछ । कानून जतिसुकै कडा बनाएता पनि निर्माण गरिएका कानूनको प्रभावकारी रूपमा कार्यान्वय गर्न सकिएन भने त्यसले समाजमा खासै सकारात्मक सन्देश दिन सक्दैन । बलात्कार र हत्या जस्तो गम्भीर प्रकृतिको अपराधबाट पीडितको पक्षबाट प्रभावकारी अनुसन्धान एवम् अभियोजन हुन सकेन भने अपराधका घटनाको कानूनी पक्ष कमजोर हुने, प्रमाण संकलनमा ढिलाइ भए प्रमाण लोप हुन सक्ने, सामाजिक बहिस्कारमा पर्न सक्ने सम्भावनालाई ख्याल गरेर हिंसापीडित महिला तथा बालबालिकालाई बचाउनु तथा उचित संरक्षण गर्ने दायित्व तपाईं हामी सबैको हो । यदि त्यसो गर्न सकिएन भने समाजमा किशोरीहरू असुरक्षित हुनेछन् र जनआक्रोसको व्यवस्थापन गर्न राज्यले महङ्गो मूल्य चुकाउनु पर्नेछ । तसर्थ अपराधीलाई कानूनको कठघरामा उभ्याउन विलम्ब गर्नु हुँदैन । त्यसैले सुरक्षित समाज निर्माण गर्न र छोरीहरूलाई बचाउनु हामी सबैको कर्तव्य हो । त्यसको लागि प्रत्येक अभिभावकले आ–आफ्ना छोराहरूको गतिविधिलाई ख्याल गरौं, कतै कोही चेलीबेटीमाथि यौन हिंसा त गरिरहेको छैन ? यसको लागि प्रत्येक छोरी पढाऔं, प्रत्येक छोरी बचाऔं ।
(लेखक अधिवक्ता हुन् ।)

प्रकाशित मितिः   ११ भाद्र २०७५, सोमबार १२:१२