महाबुको महिमा

प्रेमबहादुर शाही
मानिसका वर्षभरीका दुःख पीडालाई एक दिनले बिर्साइदिन्छ । प्रत्येक वर्ष उही दिन आउँछ, त्यो दिन सबैभन्दा धेरै खुशी बोकेर आउने गर्छ । कर्णाली प्रदेशको दैलेख र कालिकोट जिल्लाको सीमाना पर्ने महाबु आफैमा एक बहुचर्चित धार्मिक तीर्थस्थल हो ।

समुन्द्री सतहदेखि चार हजार एक सय ६८ मिटर उचाइमा रहेको छ । हिमालका गगनचुम्बी हिमश्रृंखलादेखि तराईका सुन्दर मनमोहक फाँटहरूको यो ठाउँबाट दृश्यावलोकन गर्न सकिन्छ । जहाँ ढुंगाबाट उत्पत्ति भएको शिवलिङ्ग छ । जुन स्थान जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन ठूलो मेला लाग्ने गर्दछ । जसको दर्शन गर्न लाखौं तीर्थयात्रीहरूको घुइँचो लाग्ने गर्दछ । महाबुमा ठाउँमा पुग्ने जो कोही मानिसहरू ममाहित हुने गर्दछन् । चारै तिरको दृश्यले सबैको मनै लोभ्याउने गर्दछ ।
किम्बदन्ती अनुसार महाबुमा महादेव शिव र पार्वतीको उत्पत्ति भएको कैलाशको रूपमा विख्यात छ । यहाँ देशभित्रबाट मात्र हैन छिमेकी देशहरूबाट तीर्थयात्रीहरू पूजाआजा गर्न आउँछन । शिवलिङ्गको दर्शन गरेपछि मनका सबै कुरा पूरा हुने जनविश्वास छ । महाबुमा रहेको यो ठाउँको दर्शन र पूजाआजा गर्न एकपटक दर्शनार्थी गएपछि पुनः अर्को पटक दर्शन र पूजाआजा गर्नु जानुपर्ने धार्मिक विश्वास छ ।
किम्बदन्ती अनुसार वि.सं. ११३७ मा दैलेख जिल्लाको भूर्तिका बोल्न नसक्ने जलु आचार्य ब्रामणका छोरा पाटनमा गाई भैंसी चराउन गएको समयमा निन्द्रा लागेपछि ढुंगामा गएर सुते । निद्रामा उनले शिवको दर्शन पाएपछि त्यस ढुंगामा दिनहुँ दुध चढाउनुपर्ने उक्त कुरा कसैलाई नभन्नु भन्ने आज्ञा पाएपछि उनलाई बोल्नसक्ने र वेद पढ्नसक्ने भएका थिए । पछि त्यो सवै कुरा आम मासिनले थाहा भएपछि त्यही ढुंगाबाट शिवको लिङ्ग जस्तो आकृति भएको ढुंगाको दर्शन र पूजाआजा गर्ने गर्दछन् । अहिले पनि शिवको लिङ्ग जस्तो भएको ढुंगा जस्ताको तस्तै छ । कालिकोट र दैलेख जिल्लाका दुई पूजारी रहेका छन् । कालिकोटका काफ्ले ब्राम्हणले होम गर्ने गर्छन् भने दैलेखका आर्चाय ब्राम्हणले दुधको धार चढाउने गर्दछन् । दुवै पूजारी सामेल भएपछि पूजा–आजाको कार्य अघि बढाइन्छ ।
एउटा जिल्लाको पूजारीले मात्र पूजा गर्न पाउँदैन । महाबु पूजा गर्नको लागि नजिकका तीर्थयात्रीहरू घरदेखि बिहान जाने गर्दछन् भने बाहिरबाट आउने तीर्थयात्रीहरू एक हप्ताको योजना बनाएर दर्शनसहित पूजाआजा गर्न आउने गर्छन् । महाबु धार्मिक दृष्टिकोणले दैलेख र कालिकोट जिल्लाको सबैभन्दा महŒवपूर्ण ठाउँ मानिन्छ । महावु शिवलिङ्गको दर्शन र पूजा–आजाको लागि मात्र नभएर दैलेख र कालिकोट जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा पनि परिचित छ । सफा मौसम भएको समयमा यो स्थानमा पुगेपछि नेपालका अधिकांश भू–भागहरूको दृश्य अवलोकन गर्न सकिन्छ । यसरी महाबुको महिमा असीमित महिमा रहँदै आएको छ ।
(लेखक, नेपाल पत्रकार महासंघ शाखा दैलेखका कोषाध्यक्ष हुन् ।)

प्रकाशित मितिः   ९ भाद्र २०७५, शनिबार १४:३६