कमजोर हुँदैनन् नारी
क्रान्ति शर्मा
इतिहास साँक्षी छ । एक नारीको शक्तिले पूरा साम्राज्य सपार्न पनि सक्छ र विगार्न पनि सक्छ । चाहे युद्ध होस् या प्रेम, चाहे ममता होस् या कठोरता । सबै पक्षमा एक नारीलाई अलग–अलग रूपमा हामीले ग्रन्थ, पुराणमा पढेका छौं । हामीले राधा कृष्णको प्रेमकहानी पढेकै छौं, राम–सीताको कथा पनि पढेकै छौं । नारीलाई कहिले लक्ष्मी, सरस्वती, कालि, पार्वती, राधा, सीता, मेनुका, रुक्मणी, सकुन्तला आदि ।
यसरी नारीलाई हामीले अनेकौं रूपमा पढिरहेका छौं । युगान्तसम्म हामीले प्रत्येक युगमा नारीको सुन्दरतालाई पढेका छौं । सफलतालाई पढेका छौं । अहमता पनि पढेका छौं । नारीले संसारलाई रचाएको पढेका छौं । संसारलाई जलाएको पढेको छौं ।
तर समाजले मात्र छोरालाई महŒव दिन्छ । यत्तिमात्र कहाँ हो र, छोरीलाई छोरा भनेर चिनाउँछु भन्छु । किन छोरीलाई छोरी भनेर चिनाउन सकिदैन र ? कि यो कलियुग भएको हो जे पनि अनेकार्थी लाग्ने अर्थात् हर कामको अगाडि ‘कु’ अर्थात् नकारातमक लाग्ने । समाज यस्तो दुई जिब्रे भइदियो कि एकातर्फ महिलाको सुन्दरता यति मिठो तरिकाले वर्णन गरिदिन्छ, कि मनौं नारी बाहेक अरु त केही सुन्दर नै छैन, फेरि एकैपलमा नारीलाई यत्ति कमजोर देखाइदिन्छ कि नारी भनेको केही हुँदै होइन जस्तो ।
साँच्चिकै भन्दाखेरी, एउटा पुरुषलाई समाजमा स्थापित हुन जति सहज छ । एउटी नारीलाई यही समाजमा स्थापित हुन हजारौं गुणा असहज छ । अलिक बढी बोल्यो भने पनि समस्या कम बोल्यो भने पनि समस्या, बोल्दै नबोले पनि समस्या अब यत्ति सबैमा समस्या भएपछि एक न एकमा त साधान रोज्नुनै प¥यो । नारीको सुन्दरताले पनि समाजलाई पोल्छ र नारीको कुरूपताले पनि समाजलाई पोल्छ । पुरुषवादी समाजको विशेषता नै यहि हो नारीमा जसरी नि कमजोरी देखाउनै खोज्ने ।
अपवादमा केही नराम्रा चरित्रहरूले बद्नाम भएका पुरुष पनि नारी पनि विभिन्न क्षेत्रमा छन् । यो कुरालाई नकार्न मिल्दैन तर यत्ति धेरै साँघुरो सोच अब बदलिनु त छ नै । एउटी नारीमा पनि त्यो शक्ति छ जसले यो संसारलाई उथलपुथल बनाओस् । एउटा घरमा परिवारले यत्ति भनिदिओस् कि छोरी तिमी यो समाजमा छोरी भएर चिनिन सक ।
र, छोरालाई छोरा तिमी छोरा भएर चिनिन सक वा यत्ति त हो नी सन्तानले आफ्नो परिवार चाहने छोरा र छोरी लाई एक अर्काको अस्तित्वबाट होइन आ–आफ्नो अस्तित्वबाट चिनिन दिऊँ । छोरी भनेर हतासिनु पर्दैन बरु उत्साहित बन्नुमा कुनै अर्थ नै छैन । नारी कमजोर हुँदैनन् उनीहरूले सानाभन्दा साना संवेदनशील पक्षलाई चनाखो हुन्छन् त्यसैले त नारीलाई प्रेम, माया, ममता, स्नेह, सम्बन्धको प्रतिक मानिन्छ । समाजमा यत्ति सोचको आवश्यक छ कि जसले आ–आफ्नो अस्तित्वमा बाँच्ने वातावरण सिर्जना गर्न सकोस् । न कि नारी–पुरुष एकअर्काको अस्तित्व मेटेर बाँच्न सिकाओस् । परिवर्तन आफैबाट गरौं ।
साझा बिसौनी ।