सरकारी जागिर नै मेरो लक्ष्य

वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का किरण बिसी २०५४ सालमा बुबा नगेन्द्र बिसी र आमा मीना बिसीको कोखबाट जन्मिएका हुन् । ईगरब्रिज माध्यमिक विद्यालय सुर्खेतबाट वि.सं. २०६९ सालमा एसएलसी उत्तीर्ण गरेका किरणको सानैदेखि सरकारी जागीर खाने धोको थियो ।
शान्त र लजालु स्वभावका किरण समाजसेवामा पनि उत्तिकै रुचि राख्छन् । किरणको जस्तै उनका बुबा–आमाको पनि छोरो सरकारी जागीर खाओस् भन्ने सपना छ । किरण ईन्जिनियर पढ्ने र सरकारी जागीर खाने सपना बोकेर मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातक तह दोस्रो सेमेष्टरमा सिभिल ईन्जिनियर पढ्दै छन् । पढाइ सँगसँगै क्रिकेटमा पनि रुचि राख्ने किरण बिसीले आफ्नो कलेज लाइफको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी सुनाए ः

म घरको एक्लो छोरा हुँ । म भन्दा अगाडि दिदी हुनुहुन्छ । बुबा अवकाश प्राप्त नेपाली सेना हुनुहुन्छ भने आमा गृहणी । मलाई सानैदेखि ईन्जिनियरिङ्ग पढ्ने ईच्छा थियो । मैले २०६९ सालमा ईगरब्रिज माध्यमिक विद्यालय सुर्खेतबाट एसएलसी पास गरें । प्लस टूमा साइन्स विषय लगेर ईगरब्रिज माध्यमिक विद्यालयमा नै पढें । बुबाआमाको पनि मलाई ईन्जिनियर पढाउने धोको थियो । उहाँहरूकै सल्लाह बमोजिम मैले मध्यपश्चिमाञ्चल विश्वविद्यालमा सिभिल ईन्जिनियर पढ्दैछु ।
मेरो कलेजको पहिलो दिन
मेरो कलेजको पहिलो दिन एकदमै रमाइलो भयो । किनकी मैल जुन विद्यालयबाट एसएलसी पास गरें त्यही विद्यालयमा कलेज पढ्न पाएकोमा खुशी थिएँ । साथीहरू पनि सबै चिनेजानेका नै थिए । कलेजको पहिलो दिन समग्रमा रमाइलो भयो ।
कलेजबाट फर्कंदा पनि रमाइलो नै लागिरहेको थियो । मलाई विद्यालय र प्लस टूसम्मको पढाइ उस्तै–उस्तै लाग्यो । किनकी म आफ्नै विद्यालयमा पढ्न पाएको थिएँ । तर ब्याचुलर लेबलसम्म आइपुग्दा भने केही भिन्नता भने पक्कै पाइयो ।
विद्यालयमा शिक्षक र विद्यार्थी बीचको सम्बन्ध नजीकको हुन्छ भने कलेजमा अली फरक हुन्छ । शिक्षकले पढाउने मात्रै र विद्यार्थीले पढ्ने मात्रै गरेको पाइन्छ, निकट सम्बन्ध स्थापित हुँदैन । दैनिक रूपमा विद्यार्थीको आनीबानी र आचरणलाई शिक्षकले त्यति ख्याल गर्दैनन् । कलेजबाहेक घरमा म ६/७ घण्टा जति पढ्ने गर्दछु ।
प्रेमको अनुभव छ, परिभाषा छैन
मलाई प्रेमको अुनभव छ तर परिभाषा दिन सक्दिनँ । प्रेमको खास परिभाषा पनि छैन । यो अनुभूति हो, प्रेम आफै हुन्छ । मैले पनि कलेज पढ्दा कसैलाई प्रेम गरेको थिएँ । उनीसँग बिताएका पल आज पनि ताजै छन् । कलेज लाईफमा सबै कुराको अनुभव हुन्छ । साथीहरूसँग पनि अरुबेलामा भन्दा अली बढी नजिक भइन्छ । भविष्य बनाउने र बिगार्ने थलोको रूपमा पनि मैले कलेज लाइफलाई लिएको छु ।
क्लास बंक पनि खुब गरियो
अहिले त मैले खासै क्लास बंक गरेको छैन । तर फस्ट सेमेष्टारमा खुब क्लास बंक गरिन्थ्यो । क्लासमा पढ्दा–पढ्दै साथीहरू मिलेर बाहिर निस्कने र रमाइलो गर्ने खुब गरियो । अहिले भने क्लास बंक गर्दिनँ । कलेज लाइफ भनेको रमाइलो गर्नकै लागि हो भन्ने लाग्छ । त्यसैले पनि सबै कुराको अनुभव लिन मन लाग्ने रैछ ।
कलेजको नराम्रो पक्ष मैले भेटेको छैन । राम्रा पक्षहरू थुप्रै छन् । साथीहरूसँग भेटघाटदेखि चिनजान हुन्छ । नयाँ कुराहरू सिक्न पाइन्छ । क्लास बंक गरेरै फिल्म हेर्न त म गएको छैन । तर बिदाको समयमा अझै पनि फिल्म हलमा जान रमाइलो लाग्छ । मलाइ पढाइबाहेक खेल खेल्न पनि मन लाग्छ । खेलमा पनि क्रिकेट अझ बढी खेल्न मन लाग्छ । राजनीतिमा प्रत्यक्ष संलग्न त छैन तर चुनावको बेलामा ¥यालीमा हिँडेर पार्टीलाई सहयोग गरिन्छ ।
सरकारी जागीरकै लागि दुःख गरेको छु
मलाई अरु ईच्छा केही छैन । तर सरकारी जागिरमा छिर्न पाए भन्ने लाग्छ । त्यसैले मैले ईन्जिनियर पढेको छु । मेरो बुबाआमाको नि सपना मलाई सरकारी जागीर खाओस् भन्ने छ । त्यसैले म सरकारी जागीरकै लागि दुःख गरेको छु । जीवनमा कहिल्यै नभुल्ने क्षण पनि छ । मेरो साइला बुबाको छोराले आत्माहत्या गरेको दिन म भुल्न सक्दिन । खुशीको क्षण भन्नुपर्दा सधैं खुशी नै हुन्छु । त्यती धेरै दुःखको अनुभूति गर्न पाएको छैन । घरको आर्थिक अवस्था पनि राम्रै छ ।

प्रकाशित मितिः   ९ भाद्र २०७५, शनिबार १४:२७