‘खेलकुदमा मेरो विशेष रुचि छ’
नलगाड नगरपालिका–५ कालिमाटी जाजरकोटका शिव गौतम बुबा दलु गौतम र आमा जयकला गौतमको कोखबाट वि.सं. २०४४ साल माघ १० गते जन्मिएका हुन् । सानैदेखि एकदमै चञ्चल स्वभावका शिव घरका कान्छा छोरा हुन् । पढाइमा मध्यम खालको शिवको खेलमा भने सानैदेखि असाध्यै रुचि थियो । कलेज लाइफमा समेत शिवले खेलकुद प्रतियोगिताहरुमा सहभागिता जनाए । विशेष गरी भलिबलमा दख्खल राख्ने शिव गौतमले आफ्नो कलेज लाइफबाट साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खुलेः
ईन्जिनियर बन्ने सपना थियो
मलाई भविष्यमा ईन्जिनियर बन्ने ईच्छा थियो । मेरो बुबा–आमाको सपना पनि मेरो जस्तै हो । मैले श्री त्रिभुवन माध्यमिक विद्यालय दल्ली जाजरकोटबाट २०६४ सालमा एसएलसी पास गरेको हुँ । तर आर्थिक समस्याका कारणले मेरो ईन्जिनियर बन्ने सपना पूरा भएन । जाजरकोटमै ईन्जिनियर पढाइ हुने भए त्यो सपना पूरा गर्नमा मेरो बुबाआमाले पनी सक्नुहुन्थ्यो होला तर जिल्ला छोड्नलाई आर्थिक अवस्थाले पनि भ्याएन र जिल्ला छोड्न पनि सकिएन ।
मेरो सपना अधुरो भयो । ईन्जिनियर बन्ने सपना अधुरो भएपछि मैले श्री त्रिभुवन उच्च माध्यमिक विद्यालय खलङ्गामा अंग्रेजी बिषय लगेर पढ्न थालें । मेरा ब्याचुलर पनि भेरी ज्ञानोदय क्याम्पस जाजरकोटबाट उत्तीण गरें । वि.सं. २०६५ सालमा ब्याचुलर पास गरेर बल्ल मास्टर गर्नको लागि सुर्खेत झेरेको हुँ । मैले २०७० सालमा अंग्रेजी बिषयबाट मास्टर गरेर पनि हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा समाजशास्त्रबाट मास्टर चौथो सेमेस्टारमा पढ्दै छु ।
मेरो कलेजको पहिलो दिन
मेरो कलेजको पहिलो दिन लाज मोनरै बित्यो । विकट गाउँमा जन्मिएको मान्छे, विद्यालयमा पढ्दा त प्राय आफन्त मात्रै हुन्छन् । कलेजमा नयाँ–नयाँ साथीहरू देख्दा खुब लाज लाग्यो । तर कलेजबाट फकिइसकेपछि भने आनन्दको महसुस भयो । विद्यालयको पढाइ र कलेजको पढाइमा मैले केही भिन्नता पाएँ । विद्यालयमा विद्यार्थी लक्षित पढाइ हुने गर्दछ । तर कलेजमा अन्तरक्रिया गर्न सक्यो भने हो नत्र एकहोरो लेक्चरिङ मात्र हुन्छ ।
त्यसो भनिरहँदा कलेजका सबै नराम्रो पक्ष छन् भन्न खोजेको भने होइन । कलेजमा धेरै राम्रा पक्ष पनि छन् । जसलाई उपयोग गर्नसक्यो भने विद्यार्थीले जिन्दगी कायापलट बनाउन सक्छ । राजनीतिको थलो कलेज हो । विभिन्न अतिरिक्त क्रियाकलापबाट अगाडि बढ्ने थलो पनि कलेज नै हो । कलेजका धेरै राम्रा पक्षका बाबजुद पनि केही नराम्रा पक्ष पनि छन् । कलेजको प्रशासन भने विद्यार्थीमैत्री पटक्कै हुँदैन । मनोमानी ढङ्गले कलेजको प्रशासन चल्न खोज्दा मलाई त्यति चित्त बुझ्दैन । कलेज बाहेक अफिस सकेर बचेको मेरो समय पढाइमा लगाउँछु । तर मलाई खेलमा पनि अत्याधिक रुची भएकोले केही समए खेलको लागि पनि हुन्छ । तर अन्य कुरा भन्दा पढाइमा मेरो विशेष रुची हुन्छ ।
समाजसेवाको धोको पूरा गर्नेछु
मलाई समाजसेवाको पनि उत्तीकै धोको छ । समाजसेवाको नाममा जीवन नै समर्पित गर्न सकिंदैन तर म जुन ठाउँमा छु त्यही ठाउँबाट समाज सेवाको धोको पूरा गर्नेछु । म अहिले मानेढुङ्गा माध्यमिक विद्यालयमा राहत शिक्षकको रूपमा सेवा गरिरहेको छु । माध्यमिक तह र प्लसटुलाई पनि शिक्षण गरिरहेको छु । मलाई राजनीतिमा पनि रुची हो । तर पछिल्लो समयको राजनीति स्वार्थ पूर्तिको लागि मात्रै भएको देख्दा राजनीतिमा मन मरेर आउँछ । राजनीतिले त जनताको मुहारमा खुशी ल्याउनुपर्छ अनि विशुद्ध रूपमा समाज सेवाको भावनाले राजनीति गर्नुपर्दछ । यहाँ त खेलेआम फाइदा लुट्नको लागि राजनीति गर्ने चलन छ । त्यसैले राजनीतिमा मेरो मन मर्छ । यदि मैले राजनीति नै गरे भने समाज परिवर्तनको खाका सहितको आउनेछु ।
मेरो प्रेम विवाहमा परिणत गरिसकें
प्रेम जीवनको एक महŒवपूर्ण पाटो हो । प्रेम विनाको जीवनको अर्थ छैन । प्रेमको आफ्नै संसार छ । मैले पनि कलेज लाइफमा गरेको प्रेम विवाहमा परिणत गरिसके । म मास्टर पढ्दा–पढ्दै रेशमकुमारी घिमिरेको प्रेममा परेको थिएँ । भर्खरै विवाहमा त्यो प्रेम परिणत भयो । उनी प्राथमिक विद्यालयको स्थायी शिक्षक हुन् । कलेज लाइफमा क्लास बंक मैले कहिल्यै गरिन् । फिल्म पनी बिदाको समएमा मात्रै हेरें । मेरो जीवनमा त्यस्तो दुःखको क्षण त छैन । तर खुशीको क्षण भने भुल्नै नसक्ने छ । मैले जब २०६९ सालमा राहतमा शिक्षकको नियुक्ती पाएको थिएँ । त्यो दिन म र मेरो परिवारको खुशीको सीमा रहेन । जीवनमा सानातिना खुसित आउँछन् जान्छन् ।
साझा बिसौनी ।