डिजिटल प्रदेश, पर्यटन प्रहरी

सुर्खेत, १० फागुन ।
समृद्ध प्रदेशका लागि प्रदेश नम्बर ६ मा सरकारले सुरक्षा रणनीति सार्वजनिक गरेको छ । शान्ति सुरक्षा विना प्रदेशको समृद्धि सम्भव नहुने भन्दै प्रदेश सरकारले सुरक्षाको नयाँ खाका तयार पारेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यहाँको विशेष सुरक्षा रणनीति लागू गरेको हो ।


अपराध नियन्त्रणका लागि डिजिटल प्रदेश बनाउने घोषणा सरकारले गरेको छ । यस्तै प्रदेशका हरेक वडामा सुरक्षा समिति गठन गर्ने, हरेक गाउँपालिकामा प्रहरी निरिक्षक र नगरपालिकामा डीएसपीको नेतृत्वमा एक सय २५ जना भन्दा बढी प्रहरी परिचाललन गर्ने र प्रदेशमा तत्काल पाँच हजार चार सय प्रहरीको दरवन्दी थप गरिनेछ । यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवश्यक तयारी अगाडी बढाएको छ । केही दिनभित्रमा नै सबै जिल्ला सदरमुकाममा सीसी क्यामेरा जडान गर्ने र प्रदेश प्रहरी कार्यालयमा त्यसको नियन्त्रण कक्ष राखेर सुरक्षा अनुगमन गरिनेछ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले भने, ‘शान्ति विना समृद्धि सम्भव छैन, सुरक्षा भए लगानी भित्रिन्छ । यसका लागि हामीले प्रदेशलाई सुरक्षित बनाउने खाका तयार पारेका छौं, सुरक्षा भए समृद्धि सम्भव हुनेछ ।’ बिहीवार मन्त्रालयमा सुरक्षा रणनीति सार्वजनिक गर्दै उनले प्रदेश ६ मा समृद्धिको पहिलो आधार पर्यटन भएको बताए । त्यसका लागि पर्यटकीय क्षेत्रलाई सुरक्षित बनाइने भन्दै उनले १५ दिनभित्रमा प्रदेशका सबै पर्यटकीय स्थलमा पर्यटन प्रहरी परिचालन हुने जानकारी दिए । यसका लागि पर्यटन प्रहरीको व्यवस्थापन सुरु भइसेको मन्त्री भण्डारीले बताए । प्रदेशको सुरक्षाका लागि प्रहरी दरवन्दी अनुसार उपलब्ध नरहेको भन्दै उनले तत्काल जनशक्तिको व्यवस्थापन गर्न लागिएको जनाए ।
डिजिटल प्रदेश अन्तर्गत अब प्रदेशका सबै सरकारी कार्यालयमा कागजबाट हुने कामलाई निरुत्साहित गर्ने, जिल्ला
सदरमुकाम र महत्वपूर्ण स्थानमा सीसी क्यामेरा जडान गर्ने, प्रदेश राजधानी सुर्खेतमा अत्याधुनिक कन्ट्रोल रुम स्थापना गर्ने र अपराधिक काममा संलग्न रहेका हरेक व्यत्तिको विवरणसहित डिजिटल बायोमेट्रक औंठाँछापको अभिलेख राखिनेछ । यस्तै अबको २० दिनभित्र प्रदेशमा रहेका दुई सय १६ वटा प्रहरी इकाइलाई एकीकृत सञ्चार सम्पर्कमा ल्याइन लागिएको एआईजी रणबहादुर चन्दले बताए । सुरक्षाका प्रहरी नागरिक हातेमालो कार्यक्रम अन्तर्गत सबै वडापालिकामा नागरिक सुरक्षा समिति गठन गर्न लागिएको हो । लागू औषधको कुलतमा फसेकाहरूलाई सुधारका लागि प्रदेशस्तरीय सुधारकेन्द्र स्थापना गर्ने, अबको एक महिनामा सडक बालबालिका व्यवस्थापन गर्न प्रहरी र जनताको साझा अभियान सञ्चालन गर्ने र अब मदिरा बिक्री वितरणका लागि निश्चित स्थान र समय तोक्न लागिएको छ ।
मन्त्रालयले सुरक्षा योजना अनुसार मुगुको रारा ताल, सल्यानको कुपिण्डे दह, सुर्खेतको बुलबुले ताल र काँक्रेबिहार क्षेत्रमा पर्यटक प्रहरी परिचालन गरिने भएको हो । यस्तै हिल्सा र चंखेली हिमाल, कर्णाली नदी, भेरी नदीमा पनि पर्यटक प्रहरी परिचालन गरिनेछ । धार्मिक पर्यटकीय स्थलहरूमा जुम्लाको चन्दनाथ, डोल्पाको त्रीपुरासुन्दरी, दैलेखको श्रीस्थान, नावीस्थान, पादुका, सल्यानको खैराबाङ्ग र सुर्खेतको देउती बज्यैमा मन्दीरमा प्रहरी राखिने भएको हो । प्रदेश प्रहरी कार्यालयका एआइजी रणबहादुर चन्दका अनुसार प्रहरीले पर्यटकलाई महŒवपूर्ण स्थानका बारेमा जानकारी तथा सूचनासमेत दिनेछन् ।
कर्णाली राजमार्गमा खुकुलो
कर्णाली राजमार्गमा रातको सयममा यातायात सञ्चालनमा खुकुलो बनाइएको छ । अत्याधिक दुर्घटनाका कारण यो राजमार्गमा यसअघि रातको समयमा सवारी संचालनमा रोक लगाइएको थियो । तर आन्तरिक मामिला मन्त्रालयले यात्रुबाहक ठूला सवारी बाहेक साना सवारीलाई अब रातको समयमा पनि सञ्चालन गर्न पाउनेगरी अनुमति दिएको हो ।
अब यो राजमार्गमा निजी र साना सवारी साधनहरू रातको समयमा पनि संचालन हुनेछन् । यात्रुबाहक र ठूला सवारीलाई भने रातको १० बजेदेखि बिहान ५ बजेसम्म रोक लगाइने छ । यात्रुबहाक सवारीलाई यसअघि राती ८ बजेपछि रोक लगाउँदै आएको प्रहरीले अब दुई घण्टा बढाएर १० बजेसम्म सञ्चालन हुन दिनेछ । यात्रुको समस्यालाई ध्यान दिएर रात्रीकालिन यातायातमा केही खुकुलो बनाइएको मन्त्रालयले जनाएको छ । यस्तै यो राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ‘जीपीएस ट्रेकर’ जडान गरिने भएको छ । सडकमा दुर्घटना न्यूनिकरण, सुचारु, सुगम र यातायात व्यवस्थापनका लागि यातायात व्यवसायीहरूसँग समन्वय गरी सवारी साधनमा उक्त उपकरण जडान गरिने भएको हो । यसबाट सवारी साधन कहाँ पुग्यो, कति यात्रु सवार छन् लगायत जानकारी दिनेछ ।

प्रकाशित मितिः   ११ फाल्गुन २०७४, शुक्रबार १५:०७