गुणस्तर सुधार्न विद्यालय समायोजन

सुर्खेतमा हालसम्म ५९ वटा विद्यालय समायोजन भइसकेका छन् । जिल्लामा सबैभन्दा बढी विद्यालय समायोजन गर्ने पालिका सिम्ता हो । सिम्तामा ३० वटा विद्यालय मर्ज भइ १३ वटा बनाइएको छ ।

सुर्खेतमा हालसम्म ५९ वटा विद्यालय समायोजन भइसकेका छन् । जिल्लामा सबैभन्दा बढी विद्यालय समायोजन गर्ने पालिका सिम्ता हो । सिम्तामा ३० वटा विद्यालय मर्ज भइ १३ वटा बनाइएको छ ।


सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय समायोजन (मर्ज) लाई स्थानीय तहहरूले तीव्रता दिएका छन् । शिक्षा मन्त्रालयले २०७० सालमा विद्यालय समायोजनका लागि निर्देशिका तयार पारेको थियो । सोहीअनुसार सुर्खेतका स्थानीय तहहरू विद्यालय गाभ्ने अभियानमा जुटेका हुन् । विद्यार्थी कम र शिक्षक धेरै भएपछि स्थानीय तहहरूले नजिकका विद्यालय मर्ज गरेका हुन् । सरकारले कम विद्यार्थी भएका विद्यालय समायोजन गर्ने प्रयास थालेको झण्डै सात वर्ष भएपनि स्थानीय सरकारहरू बनेपछि मात्रै यसको कार्यान्वयनले गति लिएको हो ।

सुर्खेतमा हालसम्म ५९ वटा विद्यालय समायोजन भइसकेका छन् । जिल्लामा सबैभन्दा बढी विद्यालय समायोजन गर्ने पालिका सिम्ता हो । त्यहाँका ३० वटा विद्यालय मर्ज भइ १३ वटा बनाइएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिबहादुर गौतमले विद्यार्थी थोरै भएका र भौगोलिक दूरी नजिक भएका विद्यालयहरू मर्ज गर्न पहल गरिरहेको बताए । उनका अनुसार गाउँपालिकामा ६१ वटा सामुदायिक विद्यालय रहेका छन् ।

विद्यालय मर्ज अभियानलाई वीरेन्द्रनगर नगरपालिकामा पनि तीव्रता दिइएको छ । वीरेन्द्रनगरका दश वटा विद्यालय मर्ज भइ सात वटा विद्यालय बनाइएको नगर शिक्षा शाखा प्रमुख ललित सिंहले जानकारी दिए । उनकाअुनसारवीरेन्द्रनगर नगरपालिकामा ६२ वटा सामुदायिक विद्यालय र ८१ वटा संस्थागत विद्यालय रहेका छन् ।

यस्तै, भेरीगंगा नगरपालिकामा आठ वटा विद्यालय मर्ज भइ चार वटा विद्यालयमा अध्ययन अध्ययापन सुरू भएको छ । नगर शिक्षा शाखा प्रमुख धीरेन्द्रप्रसाद शर्माले भौगोलिक विकटताका कारण धेरै विद्यालय मर्ज गर्न नसकिएको बताए । शिक्षा शाखा प्रमुख शर्माले भेरीगंगा नगरपालिमा ५१ वटा सामुदायिक विद्यालय र दुई वटा मन्टेश्वरीसहित १६ वटा संस्थागत विद्यालय रहेको बताए ।

जिल्लाका अन्य स्थानीय तहले पनि कम विद्यार्थी भएका र अपायक पर्ने विद्यालय मर्ज अभियानलाई अघि बढाएका छन् । शैक्षिक गुणस्तर सुधार्न र विद्यार्थीलाई शिक्षाको सहज पहुँचमा ल्याउन विद्यालय समायोजन थालिएको हो । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चौकुने–६ मार्सिभावरलाई सोही वडाको जीवनज्योति माध्यमिक विद्यालयमा मर्ज गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त घिमिरेले जनाए । उनका अनुसार चौकुनेमा मर्ज गर्न आवश्यक विद्यालय धेरै भएपनि भौगोलिक विकटताका कारण चुनौति देखिएको छ । चौकुने गाउँपालिकामा ४९ वटा सामुदायिक विद्यालय र चारवटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

त्यस्तै, बराहताल गाउँपालिकाको प्रावि रचालाई माध्यमिक विद्यालय बड्डीचौरमा मर्ज गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख डम्बरकुमारी रोकायले बताइन् । उनका अनुसार बराहतालमा ५६ वटा सामुदायिक विद्यालय र चार वटा संस्थागत विद्यालय रहेका छन् । दरबन्दी मिलान गर्ने तयारी भएपनि विद्यालयहरूको दूरी टाढा भएकोले समस्या भएको उनी बताउँछिन् ।

गुर्भाकोट नगरपालिकामा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बेतेनी नेपाल राष्ट्रिय आधारभूत माध्यमिक पण्डितकाल्नामा समायोजन गरिएको छ । शिक्षा शाखा प्रमुख कर्णबहादुर कुँवरले आर्थिक वर्ष २०७५÷०७६ मा प्रावि बेतेनीमा एक जना पनि विद्यार्थी भर्ना नभएका कारण उक्त विद्यालयलाई अर्को विद्यालयमा मर्ज गरिएको बताए । नगरभित्र सञ्चालित कतिपय सामुदायिक विद्यालयमा अहिले पनि विद्यार्थीको संख्या न्यून छ । पाँच जना मात्रै विद्यार्थी भएका विद्यालय पनि छन् । तर, भौगोलिक विकटताका कारण विद्यालयहरू मर्ज गर्न नसकिएको पालिकाले जनाएको छ । गुर्भाकोटमा ७४ वटा सामुदायिक विद्यालय र १३ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।

जिल्लाका तीन वटा पालिकाले भने विद्यालय समायोजन गरेका छैनन् । चिङ्गगाड गाउँपालिका, पञ्चपुरी नगरपालिका र लेकवेशी नगरपालिकामा हालसम्म कुनै पनि विद्यालय मर्ज नभएका हुन् । भौगोलिक विकटताकै कारण तीन वटा स्थानीय तहमा विद्यालय मर्जको काम अघि नबढाइएको हो । चिङ्गगाड गाउँपालिकामा ४१ वटा सामुदायिक विद्यालय छन् । यहाँ संस्थागत विद्यालय भने नभएको गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सी पुरीले बताइन् । त्यस्तै, पञ्चपुरी नगरपालिकामा ५३ वटा सामुदायिक विद्यालय छन् । लेकवेशी नगरपालिकामा ४६ वटा सामुदायिक विद्यालय र नौ वटा संस्थागत विद्यालय रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले जानकारी दिए । विद्यालय समायोजन कार्यान्वयन निर्देशिका २०७० तथा स्थानीय तहहरूले समेत विद्यालय समायोजन कार्यविधि तयार गरी विद्यालयहरू समायोजन गर्दै आएका हुन् । निर्देशिकामा समायोजन गर्न सकिने विद्यालयका विद्यार्थीको संख्या र दूरी तोकिएको छ ।

प्रकाशित मितिः   २१ पुष २०७७, मंगलवार १२:३७