कर्णालीमा कोरोना संक्रमित बढ्दै

सरकारले भन्यो, ‘हाम्रो क्षमताले भ्याएन’

                                                    सरकारको तयारीबारे प्रदेशसभामा जानकारी दिंदै मन्त्री रावल ।

प्रदेश सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा गरिरहेका कामबारे प्रदेशसभामा जानकारी गराएको छ । प्रदेशसभा सदस्यहरूले कोरोना प्रतिकार्यमा सरकारले हालसम्म गरेका र आगामी दिनका तयारीबारे जवाफ मागेपछि सामाजिक विकास मन्त्री दल रावलले सोमवार सरकारको तयारीबारे सभामा जानकारी गराएका हुन् । उनले सरकारले कोरोना प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा सरकारले प्रयत्न गरिरहेको सभालाई जवाफ दिएका छन् ।

तयारीका लागि पर्याप्त समय हुँदाहुँदै सरकार गम्भीर नहुँदा प्रदेश कोरोना संक्रमणको थप जोखिममा धकेलिएको सत्तापक्षकै प्रदेशसभा सदस्यहरूले बताउने गरेका छन् । भारतबाट भित्रिएका कर्णालीवासीलाई सीमा नाकामा जाँच र क्वारेन्टाइनको व्यवस्था नगरेर सिधै गाउँ पठाउँदा संक्रमण फैलिएको भन्दै प्रदेशसभामा मात्रै होइन बाहिर पनि सरकारको चर्को आलोचना हुने गरेको छ ।

मन्त्री रावलले सभामा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै भारतबाट नागरिक आउने क्रम बढेकाले कोरोनाको जोखिम पनि बढेको बताए । थुप्रै चुनौतीकाबीच पनि कोरोना नियन्त्रणमा प्रयत्न जारी राखिएको भन्दै उनले सरकारको बचाउँ गरे ।

उनले पहिलो चरणमा प्रदेश भित्रिने सबैको परीक्षण गरिएको भए पनि पछिल्लो समय भारतबाट आउनेको चाप अत्याधिक भएकाले सीमा नाकामै सबैलाई परीक्षण गर्न सम्भव नभएको बताए । ‘भारतबाट नागरिक आफ्नो ठाउँमा आउन थालेपछि कोरोना संक्रमणसँगै आयो । सरकार रोकथाम, नियन्त्रण र उपचारमा लागि परेको छ,’ उनले भने, ‘यसका लागि सिङ्गो सरकार, सदन र नागरिकको सहयोग आवश्यक छ ।’ सरकारले कोरोना प्रतिकार्य र रोकथामको तयारी गर्न भने ढिला नगरेको जिकिर गरे । मन्त्री रावलले भने, ‘हामीले आँकलन गरे भन्दा पनि बढी नागरिक भित्रिएपछि हाम्रो क्षमताले नभ्याएको हो ।’ कोरोना रोकथाम र उपचारका लागि हालसम्म प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चौरजहारी सामुदायिक अस्पताल र जिल्ला अस्पतालहरूलाई १६ करोड २५ लाख बजेट उपलब्ध गराइसकिएको उनले जानकारी दिए ।

कोरोना परीक्षणमा सरकारका निकाय २४सैं घण्टा खटिएको उनले सभालाई बताए । लकडाउन भएयता देश तथा विदेशबाट गरी एक लाख ६९ हजार आठ सय ७५ जना प्रदेशभित्रिएको उनले जानकारी दिए । हालसम्म २९ हजार ३७ बेड क्षमताका क्वारेन्टाइन रहेको र त्यहाँ २२ हजार ८३ जना बसेको उनले जनाए । हाल प्रदेशमा तीन वटा पीसीआर मेसिन रहेकाले दायरा बढाउन र द्रूत परीक्षण गर्न सरकारले थप दुई वटा मेसिन खरिद गर्ने तयारी गरेको उनले जानकारी दिए । अब खरिद गर्ने मेसिन सुर्खेत र दैलेखमा जडान गरिने उनले सभामा बताए ।

मन्त्री रावलका अनुसार हालसम्म पाँच सय ५० आइसोलेसन बेड तयारी अवस्थामा रहेको र प्रदेशका २४ ठाउँमा एक हजार ६० बेडको आइसोलेसन बनाउने सरकारको तयारी छ । स्थानीय तहमै उपचारको व्यवस्था गर्नेगरी सरकारले तयारी थालेको उनले बताएका हुन् । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा चार करोड ९३ लाख पठाउने निर्णय गरिएको उनको भनाइ छ ।

मन्त्री रावलले अझै पनि कोरोना नियन्त्रण गर्न सकिने भन्दै सबैको सहयोग र साथ आवश्यक रहेको औंल्याए । सरकारले हेलिकोप्टर प्रयोग गलत प्रयोजनका लागि नगरेको बताए । मन्त्रीहरूले हेलिकोप्टरको प्रयोग गरेर आर्थिक व्ययभार बढाएको भन्दै प्रदेशसभामा सरकारको आलोचना भएको थियो । मन्त्री रावलले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने भने पनि संघीय सरकारले उपेक्षा गरेका कारण प्राइभेट प्रयोग गर्नु परेको बताए । सरकारले अनावश्यक रूपमा नभइ कोरोना रोकथाम तथा नियन्त्रणकै कामका लागि हेलिकोप्टर प्रयोग गरेको उनको भनाइ छ ।


समुदायस्तरमा पुग्यो कोरोना

कर्णाली प्रदेशमा कोरोना भाइरस समुदायस्तरमा फैलिन थालेको छ । गएको शनिवारसम्म भारतबाट आएका व्यक्तिहरूमा मात्रै कोरोना देखिएकोमा आइतवारदेखि समुदायस्तरमा पुगेको हो । जुम्लामा दुई जना प्रहरीमा संक्रमण देखिएसँगै कोरोना समुदायस्तरमा फैलिएको पुष्टि भएको हो । आइतवार राति जुम्लाका १७ जना र दुई जना प्रहरी गरी १९ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमवार साँझसम्म प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई सय ३३ पुगेको छ । महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेशमा सबैभन्दा बढी संक्रमण दैलेखमा देखिएको छ । दैलेखमा ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

सुर्खेतमा ५० जना, सल्यानमा ४४ जना, जुम्लामा १९ जना, कालीकोटमा १८ जना, मुगुमा एक जनालाई संक्रमण देखिएको छ । प्रदेश बाहिरका बझाङ, बाजुरा र अछामका एक–एक जनामा पनि संक्रमण देखिएको तिवारीले बताए । उनीहरूको कोरोना परीक्षण सुर्खेतमै गरिएको थियो । कर्णालीका दशमध्ये चार जिल्लामा संक्रमण देखिएको छैन । जाजरकोट, रुकुम पश्चिम, हुम्ला र डोल्पामा हालसम्म कोरोना संक्रमण नदेखिएको हो । महाशाखाका अनुसार सोमवारसम्म १३ हजार आठ सय ५५ जनाको आरडीटी र सात हजार एक ६५ जनामा आरटी–पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित मितिः   २० जेष्ठ २०७७, मंगलवार ०६:३८